५० अर्बको एमसिसिमा चलेका कलम र ओठहरु १५ खर्बको पूँजीबजारमा किन मौन ?

0
Shares

“न्यून बिन्दुमा समेत १५ खर्ब भन्दा बढी पूँजीकरण रहेको पूँजी बजार ३ महिना भन्दा बढी समय सम्म बन्द हुँदा न संसदमा कुरा उठ्छ न वर्तमान र विगतका अर्थमन्त्रीलाई छुन्छ। नत उद्योगी ब्यापारीका संघ संगठनलाई छुन्छ न त नियामक निकायलाई । लौन ५० अर्बको :एमसिसिमा चलेको कलम र ओठहरु अनि राज्य र जनताहरुले समेत त्यो विषयमा खर्चेको समयको १% मात्र १५ खर्बको आफ्नै बजारमा खर्च गरिदिनु भएमा १८ लाख भन्दा बढी लगानीकर्ता जोडिएको पूँजी बजारमा केहि भरोसा जाग्थ्यो कि ?”

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष एवं नेपालको शेयर बजारका जानकार तथा लगानीकर्ता अम्बिका प्रसाद पौडलले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेको स्टाटस हो यो।

विश्वव्यापी रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि शेयर कारोबार ठप्प छ। वैशाखको अन्तिम दुई दिन बजार खुलेपनि चौतर्फी बिरोधपश्चात बन्द गरियो र अहिलेसम्म कहिले खुल्छ भन्ने अनिश्चित रहेको छ ।

सरकारले असार १ गतेदेखि लकडाउन केहि खुकुलो बनाएसँगै उद्योग, व्यवसाय, कल कारखाना, सरकारी कार्यालय, सुनचाँदी पसल लगायत फुटपाथ व्यवसायसम्म सञ्चालनमा आइसकेका छन्। तर पौडेलले प्रश्न उठाए जस्तै १५ खर्ब बढीको शेयर बजार कहिलेबाट खुल्ने भन्ने अनिश्चत छ ।

नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत ५० अर्ब सहयोगका लागि जति रस्साकस्सी, छलफल भएको छ । तर १५ खर्बको शेयर बजार ३ महिनासम्म बन्द हुँदा पनि सरोकारवाला निकायहरु मौन रहेको उनको टिप्पणी छ।

तीन महिना भन्दा बढी समय सम्म बन्द हुँदा न संसदमा कुरा उठ्छ न वर्तमान र विगतका अर्थमन्त्रीलाई छुन्छ। नत उधोगी ब्यपारीका संघ संगठनलाई छुन्छ न त नियामक निकायलाई । पौडेलले लेखेका छन्।

पौडेलकै भनाईलाई सहमती जनाउँदै बालकृष्ण लम्साल कमेन्टमा थप्छन् । सहि कुरा, राज्यले धितोपत्र बजारलाई बजारको रुपमा नबुझी, अन्यथा बुझेको प्रतित भइरहेको छ। त्यस्तै राजिव झा लेख्छन् माछा बजार खुलिसक्यो । शेयर बजार अझै खुल्दैन त । किन हो येस्तो ???

लामो समयसम्म बजार नखुल्दाको नैराश्यता सामाजिक सञ्जाल मार्फत आइरहेका छन्। बजार अझै खुल्न हुँदैन भन्ने तर्कहरु पनि नआउने गरेका होइनन् तर हजारौं जनताले लगानी गरेको पूँजी बजारलाई यसरी बन्धक गर्न पाइन्छ ? यो अहिलेको सबैभन्दा महत्वपूर्ण प्रश्न हो ।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले उद्योग, व्यवसाय प्रभावित भएपछि निजी क्षेत्रका संस्थाहरु उद्योग वाणिज्य महासंघ, सिएनआई, चेम्बर लगायतका संस्थाहरु राहत र छुटका मागहरु राखेर सरोकारवाला निकायहरुमा धाइरहेका छन्।

पौडलले भने जस्तै निजी क्षेत्रका संस्थाहरुले पनि पूँजी बजारको विषयमा कहि कतै प्रष्ट रुपमा आवाज उठाएको देखिँदैन्। बैंकर मनोज ज्ञवाली पनि कटाक्ष गर्दै लेख्छन् देशको अनि अर्थतन्त्रको चिन्ता नागरिकले गर्ने हो। नेताजीले होईन।

केहि लगानीकर्ताका संघ संस्थाहरुले भेटघाट र छलफलको क्रमलाई तीब्रता दिएपनि उनीहरुका शर्तहरु पूरा गर्ने क्रममा नियामकहरु बजार खुलाउन अलमलिएका छन्। यसतर्फ संकेत गर्दै माधव पाण्डे लेख्छन्, लगानीकर्ता संघ कै पदाधिकारीहरु नै बन्द गरेर निकास र विकास हुन्छ भनेपछि कस्लाइ के दोष दिनु ? 

केहि दिनअघि संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले खर्च अभावमा सरकार अफ्ठयारेमा परेको बताएपछि सर्वोच्चले कर नतिर्न आदेश दिँदादिँदै पनि सरकारलाई सहयोग गर्न भनेर भटाभट कर तिर्न थाले। यस अवधिमा सबैभन्दा धेरै कर बुझाउने शेयर बजारमा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरु, टेलिकम, वहुराष्ट्रिय कम्पनी लगायत रहेका छन्। तर यिनै कम्पनीहरु सूचीकृत भएको बजारका बिषयमा जिम्मेवार निकाय र व्यक्तीहरु लाचार भएको देख्दा अन्तर्राष्ट्रिय बजारमा समेत नकारात्मक सन्देश पुगेको विश्लेषण गर्न थालिएको छ ।

शेयर बजारका विश्लेषक एवं लगानीकर्ता प्रकाश तिवारी लामो समय बजार बन्द गरेर नेपालको पूँजी बजार गिनिज बुक नाम लेखाउने अवस्थामा पुगेको भनेर व्यङ गर्छन् । अहिलेको अवस्थामा संसारभरका प्राय शेयर बजारहरु सञ्चालनमा रहेका छन् । तर नेपालको शेयर बजार यति लामो समयसम्म बन्द हुँदा नेपाल सरकार र सरकारका जिम्मेवार निकायहरुले कुन तहमा सोचेका रहेछन् भन्ने प्रश्न उब्जिएको छ।

जिम्मेवार निकायका व्यक्तीहरुको गैर जिम्मेवारी पनाले भोलिका दिनमा पूँजी बजारप्रति विश्वास सकियो भने सूचीकृत कम्पनी र लगानीकर्ताहरुको समेत विश्वास गुम्ने खतरा देखिन्छ। अदृष्य कल्पनाका लागि बजार बन्द गर्नु सरकारको नालयकीपना नै हो। बजारको चरित्र नै बढ्ने र घट्ने हो। बजार घट्ला कि भन्ने त्रासै त्रासले बजारलाई नै बन्धक बनाउनु कसैको हितमा पनि देखिँदैन।

बजारको विस्तार र विकासका लागि सुधार गर्न सकिने प्रशस्त ठाँउहरु छन् । यसतर्फ ध्यानदिन सकेमा बजार सकारात्मक नै हुने हो । लगानीका अन्य क्षेत्रहरु संकुचित भएको अवस्थामा शेयर बजार लगानीको उपयुक्त अवसर पनि हो। विगतमा भूकम्प पश्चात शेयर बजारमा आएको सुधारले पनि प्रमाणित गरिसकेको छ। एउटा कोरा कल्पनाका लागि १८ लाख लगानीकर्ताको १५ खर्बको लगानी बन्धक बनाउनु भनेको देश कुन विधान र प्रक्रियाबाट चलेको छ भन्ने संकेत पनि गर्छ। योजना, नीति निर्माणमा बसेका मान्छेहरुले यस विषयमा सोचेर तत्काल केहि निर्णय लिनुपर्ने बेला भइसकेको छ ।

आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष नारायण सापकोटा लेख्छन् पूँजी बजारले लाखौंलाई रोजगारी सृजना गर्नसक्छ, यसकारण बजार खोल्नुपर्छ ।