नागरिक स्टक डिलरले अघि बढायो प्राविधिक काम, धितोपत्र बोर्डमा आवेदनसँगै तालिमको तयारी


नागरिक स्टक डिलरले स्टक डिलरको काम गर्न स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । नेपाल स्टक एक्सचेञ्जमा गत जेठ २२ गते नै आवेदन दिएको कम्पनीले साउनदेखि स्टक डिलरको काम सुरु गर्ने लक्ष्यका साथ धितोपत्र बोर्डसँग स्वीकृति मागेको हो ।

धितोपत्र बोर्डले यस अघि नागरिक स्टक डिलरलाई प्रकृया अघि बढाउन असार १ गते पत्राचार गरेको थियो । बोर्डको पत्र पाए पछि सेवा सुचारु गराउनका लागि असार ११ गते बिहीबार बोर्डमा आवेदन दिइएको कम्पनीका प्रबन्धक सञ्चालक डा. इन्द्रकुमार कट्टेलले नोटबजारलाई जानकारी दिए ।

‘गत जेठ २२ गते नै हामीले नेप्सेमा आवेदन दिइ सकेको छौं । बोर्डले पनि प्रकृया अघि बढाउन भनेको अवस्थामा हामीले आजै बोर्डमा आवेदन दिएका छौं । केही दिनमा नै बोर्डबाट स्वीकृति पाउने हाम्रो अपेक्षा छ’ कट्टेलले भने ।

नेप्सेले कम्पनीसँग थप कागजपत्र माग गरेकोमा कम्पनीले सोही अनुसार सबै कागज पत्र बुझाई सकेको छ । योसँगै डिलरसीपको कामका लागि अनुमति माग गर्ने सम्बन्धमा कम्पनीकोतर्फबाट सबै काम पुरा भएको छ ।

उता धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले नागरिक स्टक डिलर कम्पनीले अनुमति माग गरेको सम्बन्धमा बोर्डले छिट्टै निर्णय गर्ने बताए ।

सञ्चालन अनुमति पाउने निश्चित भए पछि कम्पनीले शुक्रबारदेखि नै केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) र नेपाल स्टक एक्सचेञ्जमा प्राविधिक विषयमा प्रशिक्षण लिन समेत सुरु गर्ने भएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कट्टेलका अनुसार शुक्रबार देखि नै कम्पनीका सम्बद्ध व्यक्तिहरुले डिलरको कामका लागि प्राविधिक विषयमा नेप्से र सिडिएससीमा आवश्यक प्रशिक्षण लिन थाल्ने छन् ।

नागरिक स्टक डिलर यति बेला सञ्चालक समितिमा मात्र सिमित भएकाले कर्मचारी भर्ना प्रकृया पनि छिट्टै सुरु गर्ने र नियुक्ति प्रकृया छिट्टै पुरा गर्ने तयारी कम्पनीको छ । सो पश्चात कर्मचारीहरुलाई पनि प्राविधिक विषयमा तालिम सुरु गर्ने योजना कम्पनीले बनाएको छ ।

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेकोले धितोपत्रको दोस्रो बजारमा बेलाबखत उतारचढाव आइरहेको सन्दर्भमा संस्थागत लगानीकर्ताले बजारमा स्थायित्व कायम रहने विश्वास गरिएको छ। स्टक डिलरको प्रवेशले पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको भनाई छ ।

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६ फागुन १ देखि लागू हुने गरी धितोपत्र व्यवसायी ९धितोपत्र दलाल तथा धितोपत्र व्यापारी० नियमावली, २०६४ मा संशोधन गरिसकेको छ ।