लगानीकर्ताका नेता तथा कार्यकर्ताको निर्देशनमा नियामक निकायले कुनै पनि काम गर्दैन : धितोपत्र बोर्ड


पछिल्ला दिनहरु शेयर बजार खोल्ने विषयलाई लिएर विभिन्न किसिमका टीकाटीप्पणी भैरहेका छन् । कोही अर्थमन्त्रीको व्यक्तिगत चाहनाका कारण शेयर बजार बन्धक भएको चर्चा गरिरहेका छन् भने कोही लगानीकर्ताको दवाबका कारण बजार खुल्न नसकेको चर्चा गरिरहेका छन् । अर्का थरी भने अबको अवस्थामा लकडाउन के होला भन्ने हेर्नका लागि धितोपत्र बोर्डले बजार तत्काल नखुलाएको चर्चा गरिरहेका छन् ।

यसै बिच लकडाउन सुरु हुँदै गर्दा बजार सुधारको माग गर्दै आन्दोलनमा उत्रिने घोषणा गरेका लगानीकर्ताका विभिन्न संघ संगठनहरु अहिले शेयर बजार नै बन्द भए पछि त्यसको कारकका रुपमा व्याख्यामा पर्न थालेका छन् । भोलि फेरी लकडाउन होला अथवा शेयर बजार घट्ला अनि आन्दोलन गर्लान भन्ने चासो नियामक निकायको जायज नै हो । नियामकले बजारको सिद्धान्तलाई ध्यानमा राखेर लगानीकर्ताको संरक्षण पनि गर्नु पर्ने हुन्छ । लगानीकर्ता हित अनुकुलको बातावरण नवनेको खण्डमा लगानीकर्ताले फेरि आन्दोल गर्ने वा बजार बन्द गराउने भन्दै नियामक निकायमा धाउन सक्छन । यो अवस्थामा नियामक भन्दा पनि माथिल्लो तहले चलखेल गर्ने बातावरण बन्न सक्छ । यस विषयमा नियामक स्वयमः र लगानीकर्ताले पनि विचार गर्नु पर्ने देखिन्छ ।

लगानीकर्ताहरु भने लकडाउन सुरु हुँदा बजार बन्द गर्नु पर्ने अडानमा थिए र सोही अनुसार उनीहरुले नेपाल स्टक एक्सचेञ्ज तथा धितोपत्र बोर्डसम्म पटक पटक ताकेता पनि गरे । अन्ततः जेसुकै कारण वा जो सुकैको चाहनामा भए पनि बजार पूर्ण रुपमा बन्द भयो ।

अहिले सबैले बजार खुलाउनु पर्ने विषयलाई बुलन्द बनाईरहेका छन् । यसै बिच धितोपत्र बोर्डले एउटा समिति गठन गरेर बजार सञ्चालन गर्न कति उपयुक्त छ भनेर राय माग गर्यो । समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक, नेप्से, शेयर ब्रोकर तथा लगानीकर्ताका नेताहरुलाई सम्मिलित गराइयो । समितिले प्रतिवेदन कसरी बनायो भन्ने कुरो लगानीकर्ताका कुनै पनि नेतालाई थाहा भएन, भयो त केवल एक पटक छलफलमा बसेर मागहरुलाई ब्रिफिङ गर्ने काम ।

सबैसँग एक चरणको छलफल पछि बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा गठित समितिले बोर्डलाई बजार सञ्चालन गर्ने विषयमा सुझाव सहितको प्रतिवेदन शुक्रबार बुझाएको छ ।

तर बोर्डले समितिको प्रतिवेदनलाई भन्दा पनि लगानीकर्ताका नेताहरुको पछिल्ला दिनको कृयाकलाप र मौसमी बिचारलाई सही तरिकाले अस्त्र बनाउनमा ध्यान केन्द्रित गर्यो । सोही अनुसार बजार खुलाउने सन्दर्भमा बोर्डले लगानीकर्ताका एक हुल नेताहरुलाई बोर्डमा बोलाएर अब उप्रान्त बजार सञ्चालनमा अवरोध पुग्ने किसिमका कुनै पनि कृयाकलाप नगर्ने शर्तमा बजार खुलाउने आश्वासन दियो । हो, बजार खुल्नु पर्छ, तर बोर्डले कुन स्वार्थले लगानीकर्ताका नेताहरुलाई बन्धनमा पार्दैछ भन्ने बिचार नगरी अब उप्रान्त कुनै पनि किसिमका अवाञ्छित कृयाकलाप नगर्ने भन्ने कागजमा हस्ताक्षर गरेर फर्किए । सो लगत्तै लगानीकर्ताका नेताहरुले ठोकुवा नै गर्न थाले कि, आफुले दिएको निर्देशन अनुसार आइतबार वा सोमबारदेखि शेयर बजार खुल्छ ।

…आगामी दिनमा बजार बन्द नगर्ने सहमतीपत्रमा लगानीकर्ताको हस्ताक्षर, आफ्नै कारणले बजार बन्द भएको स्वीकार…

यस सम्बन्धमा धितोपत्र बोर्डका एक अधिकारीले नोटबजारसँग भनेका छन्, ‘हो बजार बन्द भएको लामो समय भयो । तर धितोपत्र बोर्ड नियामक निकाय हो । लगानीकर्ताले बजार खुलाउ भन्दैमा बजार खुल्ने अनि बन्द गर भन्दैमा बन्द हुने अवस्था हैन । नियामक निकायलाई निर्देशन दिने दुस्साहस कसैले पनि नगर्दा हुन्छ । हामीले राय सुझाव माग्ने कुराभन्दा बाहेकका कृयाकलापमा लगानीकर्ता संलग्न हुन्छन् भने त्यो बजार सञ्चालनको बिरुद्धमा हुने अवान्छित कृयाकलाप भित्र पर्छ, बाँकी कुरा वहाँहरु आफैंले मनन गर्नु हुनेछ भन्नेमा विश्वस्त छु ।’

क्षणिक र सिमित व्यक्तिको स्वार्थमा लगानीकर्ताका नेता तथा कार्यकर्ताहरु धेरै सक्रिय भएको टीकाटीप्पणी बजारमा भई रहेको छ । यस सम्बन्धमा जिज्ञासा राख्दा बोर्डका ति अधिकारीले भने, ‘यस किसिमको टीकाटीप्पणी गर्नेहरुले नै लगानीकर्ताका संघ संगठनको अस्तित्व र हैसियतको पनि समीक्षा गर्दा राम्रो होला, मैले यस विषयमा केही पनि बोल्न मिल्दैन ।’

उनले नोटबजारसँगको कुराकानीमा भनेका छन् कि समितिले बुझाएको प्रतिवेदनका आधारमा धितोपत्र बोर्डले बजार सञ्चालनका सम्बन्धमा थप निर्णय गर्छ । ‘बजार सुधारको विषयलाई केन्द्रमा राख्दै बोर्डले निर्णय गर्छ, तर आजै बजार खुल्छ, भोलि नै बजार खुल्छ भन्ने विषयमा अहिले नै अनावश्यक अभिव्यक्ति दिन सकिन्न । विधि विधान र प्रकृयामा बजार सञ्चालन गर्न बोर्डले काम गर्छ ।’