मौद्रिक नीतिले निजी क्षेत्रलाई ‘सर्भाइभ’ हुन आवश्यक सबै सुविधा दिन्छ: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोरोनाबाट प्रभावित निजी क्षेत्रको पुनरउत्थानका लागि आवश्यक सबै सुविधा प्रदान गर्न लागिएको जानकारी दिएका छन् ।

नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै खतिवडाले मौद्रिक नीतिबाट ब्याज पूँजीकरण तथा ऋणको साँवा भुक्तानीको लागि पुनरतालिकीकरण गर्न अर्थमन्त्रालयले सुझाव दिएको बताएका हुन् । मौद्रिक नीतिले निजी क्षेत्रलाई सर्भाइभ हुन चाहिने सुविधा दिन्छ अर्थमन्त्री खतिवडाले भने।

मन्त्री खतिवडाले बजेट मार्फत निजी क्षेत्रलाई दिएको राहतले ७० अर्ब बराबरको सरकारी दायित्व बढेको उल्लेख गर्दै लकडाउन खुकुलो हुँदै जाँदा नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको बताएका छन्।

‘लकडाउनका बेला २० प्रतिशतमा खुम्चिएको वैदेशिक व्यापार अहिले ८० प्रतिशतसम्म पुगको र राजश्व संकलनमा समेत उलेख्य सुधार आएको छ।’ उनले भने।

खतिवडाले कर तिर्ने विगतमा जस्तो समस्या नभएपनि महामारीले राजस्व संकलन र खर्च प्रणालीमा समस्या आएपनि समग्र अर्थतन्त्र खराब अवस्थामा नरहेको दाबी गरे। महामारी कै बीचमा पनि विदेशी मुद्रा सञ्चिति बढेको तथा जेठ महिनामा करिब एक खर्ब रुपैयाँ विप्रेषण भित्रिएकाले अर्थतन्त्र र बैंकिङ क्षेत्रको अवस्था चिन्ताजनक नरहेको उनको भनाइ छ।

बैकिङ क्षेत्रमा प्रशस्त तरलता रहेको र बैंकहरु लगानी विस्तारका लािग तयारी अवस्थामा रहेका छन्। साथै बैंक ब्याजदर समेत घट्ने क्रममा रहेको र आगामी दिनमा एकल अंकमा आउँछ। मन्त्री खतिवडाले भने।

मन्त्री खतिवडाले अर्थतन्त्र पुरानै लयमा फर्किएकाले आगामी आर्थिक वर्ष सरकारको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने विश्वास समेत व्यक्त गरे । ‘हामीले लकडाउन खुकुलो बनाएपछि आर्थिक गतिविधिमा वृद्धि भएको छ, यदि साउनबाट आवत-जावतमा थप सहज बनाए आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि सहज हुनेछ।’ उनले भने ।

त्यस्तै उनले निजी क्षेत्रमा भ्रष्टाचारको विषयमा अख्तियार प्रवेश गराउने कुरा अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुरुप अघि बढेको समेत जानकारी दिए।