बैंकहरुमा कर्जाको माग आउनै सकेन्, निक्षेप थपिँदै ब्याजदर घट्दै

0
Shares

पछिल्लो चार साता यता वाणिज्य बैंकहरुको कर्जा प्रवाह प्राय ठप्प जस्तै देखिएको छ । बैंकहरुमा निक्षेप थपिने क्रम बढेपनि कर्जा विस्तार हुन सकेको छैन् । कर्जा विस्तार हुन नसकेपनि कर्जा असुलीमा भने जारी छ ।

आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च र रेमिट्यान्स बढ्दा बैंकहरुमा तरलता बढेको छ तर कोरोनाले कहर कायमै रहदा कर्जा प्रवाह ठप्पै छ। पछिल्लो दुई सातामा वाणिज्य बैंकहरुमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने यसबीचमा बैंकहरुले कर्जा प्रवाह नगरेपनि ७ अर्ब कर्जा असुली गरेका छन्। असारको दोस्रो साता बैंकहरुमा ८ अर्ब निक्षेप थपिएको छ भने २ अर्ब कर्जा घटेको छ।

असारको पहिलो साता बैंकहरुमा १८ अर्ब निक्षेप थपिएको थियो भने ५ अर्ब कर्जा असुली गरेका दिए । यस्तै जेठको अन्तिम साता बैंकहरुमा ३० अर्ब निक्षेप थपिएको थियो भने बैंकहरुले ७ अर्ब कर्जा असुल गरेका थिए।

लकडाउन खुकुलो भएसँगै बिस्तारै आर्थिक गतिविधि बढेका छन् तर बैंकहरुमा कर्जाको माग भने अझै आउन सकेको छैन् । नयाँ कर्जा माग नभएकै कारण अहिले बैंकमा तरलता थुप्रिएको छ । अहिले बैंकहरुमा एक खर्ब बढी तरलता रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

तरलता धेरै भएपछि केही बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाउन थालेका छन भने बाँकीले पनि तयारी गर्न थालेका छन् । निक्षेपको ब्याजदर धेरै कम हुँदा बैंक तथा वित्तीय प्रणालीबाट रकम सहकारीमा जाने तथा पूँजी पलायनको सम्भावना बढ्ने बैंकरहरु बताउँछन्।

असार १२ गतेसम्म वाणिज्य बैंकहरुमा ३३ खर्ब २ अर्ब निक्षेप छ भने बैंकहरुले यसअवधिसम्म २८ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्षको अन्त्यतिरको अवधिमा नयाँ कर्जा प्रवाह भन्दा असुली धेरै भएकाले लगानीमा रहेको कुल कर्जा घटेको हो ।