ऋणपत्रको बजार विकासका लागि बोर्डलाई नेतृत्व गर्न विज्ञहरुको सुझाव

0
Shares

विज्ञहरुले ऋणपत्र बजारको विकास गर्न नेपाल धितोपत्र बोर्डने लै नेतृत्व लिनुपर्ने सुझाव दिएका छन्।

धितोपत्र बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुझाव दिँदै विज्ञहरुले धितोपत्र बजारको विकासका लागि ऋणपत्र बजारको विकास हुन अति आवश्यक रहेको बताएका हुन्।

बोर्डका पूर्व अध्यक्ष प्रा. डा. शुरविर पौड्यालले धितोपत्र बजारमा संस्थागत सुशासन अभिवृद्धि गर्न आवश्यक रहेको बताए । बोर्डको संरचना परिवर्तन गर्नुपर्ने तथा बोर्डको आफ्नो कार्यालय भवन बनाउन समेत उनले सुझाव दिएका छन् ।

त्यसैगरी बोर्डका पुर्व अध्यक्ष बाबुराम श्रेष्ठले धितोपत्र बजारको अनलाइन कारोबार प्रणाली प्रभावकारी र विश्वसनीय हुनुपर्ने सुझाव दिएका छन्। प्राविधिक जानकारी समेत दिने गरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने, पारदर्शिता अभिवृिद्ध गर्न समेत उनले सुझाव दिएका छन् ।

बोर्डकै पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीले अर्थतन्त्रको ऐनाको रूपमा रहेको बजारलाई जुनसुकै विषय, परिस्थितिमा बन्द गर्न नहुने बताए । उनले बोर्डले क्षमता अभिवृद्धि गर्दै स्वायतत्ता हासिल गर्नुपर्ने सुझाव दिए ।

अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भएको प्रविधि प्रयोगमा जोड दिनुपर्ने बताउँदै वस्तु विनिमय बजार शीघ्र सञ्चालन ल्याउनुपर्ने उनको सुझाव छ। विशिष्टिकृत लगानी कोषको शीघ्र स्वीकृति दिन समेत काकीले सुझाएका थिए । प्रतिष्पर्धाका लागि अर्को स्टक एक्सचेञ्ज ल्याउनुपर्ने तथा वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने समेत उनले बताए ।

प्राध्यापक डा.राधेश्याम प्रधानले संस्थागत सुशासनमा जोड दिनुपर्ने बताउँदै नियमन निकायले अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने सुझाए । बजार सम्बन्धी तथ्याङ्क बैंक विकास गरि अध्ययन अनुसन्धान तथा लगानीका लागि सहजरूपमा तथ्याङ्क उपलब्ध हुने व्यवस्था गर्न उनको सुझाव रहेको छ ।

यस्तै बोर्डका पूर्व सदस्य नर बहादुर थापाले ऋणपत्र बजार बिना धितोपत्र बजारको पूर्ण विकास नहुने धारणा बताए। बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ऋणपत्र बजारको विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

शेयर बजारका विज्ञ डा. गोपाल भट्टले व्यवसायीक निरन्तरता योजनालाई कार्यान्वयन गर्नुपर्ने बताए। धितोपत्र बोर्डले आगामी आर्थिक वर्षमा वित्तीय डेरिभेटिभस् औजारहरूको विकास गरि अभ्यासमा ल्याउन समेत उनले सुझाव दिएका छन्। सरकारको समेत प्राथमिकतामा रहेको ऋणपत्र बजारको विकासको लागि प्रभावकारी पहल गर्न उनले बोर्डलाइ सुझाव दिएका छन्।

नेप्सेको पूर्व अध्यक्ष डा. नारायण प्रसाद पौडेलले बोर्ड तथा धितोपत्र बजारलाई प्रादेशिक रूपमा विस्तार गर्नुपर्ने सुझाव दिएका छन्। उनले बोर्डको संस्थागत सुशासन तथा नेप्सेको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने, स्वनियमनको अवधारणा ल्याउनुपर्ने, वास्तविक क्षेत्रको प्रवेशलाई प्रोत्साहन गर्नुपर्ने लगायतका सुझाव बोर्डलाई दिएका छन्।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले विदेशी रणनीतिक साझेदार ल्याउने गरी नेप्सेको पूर्नसंरचना गर्नुपर्ने, ऋणपत्रको कारोबारका लागि प्लेटफर्म बनिसकेको यस बजारको विकासका लागि बोर्डले नेतृत्व गर्नुपर्ने बताए । वित्तीय डेरिभेटिभ्सको कारोबारका लागि नीति तथा कार्यक्रममा समावेश गर्न उपयुक्त भएको समेत उनको भनाइ छ ।

यस्तै सिडिएससिका निमित्त प्रमुख कायर्कारी अधिकृत कञ्चन सापकोटाले सिडिएससिको समेत पूर्नसंरचना हुनुपर्ने, एकिकृत केवाइसि व्यवस्थापनका लागि प्राथमिकता दिनुपर्ने बताइन्। उनले कारोबार सेटलमेन्ट ग्यारेन्टी फण्डको आकार बढाउन समेत बोर्डलाइ सुझाएकी छन ।

यस्तै मर्चेन्ट बैंकर एशोसियसन अफ नेपालका अध्यक्ष श्री ध्रुव तिमल्सिनाले कानुनी व्यवस्था सुदृढ तथा अध्ययन अनुसन्धानमा आधारित हुनुपर्ने धारणा राख्दै धितोपत्र व्यवसायीको क्षेत्र, दायरा तथा कार्यहरू सम्बन्धमा स्पष्ट व्यवस्था हुनुपर्ने बताए ।

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले ब्रोकरको आधिकारिक प्रतिनिधी व्यवस्था कार्यान्वयनमा आउनुपर्ने सुझाए । ब्रोकर डिलरको नीतिगत व्यवस्था हुनुपर्ने, लगानी व्यवस्थापन र एडभाइजरी सेवा ब्रोकरका लागि खुला हुनुपर्ने समेत उनले माग राखे । मार्जिन कारोबारमा ब्याजदर सम्बन्धमा समन्वय हुनुपर्ने, बजारलाई अति आवश्यकिय सेवामा राख्नुपर्ने समेत उनको सुझाव रहेको छ ।

विभिन्न लगानीकर्ता संघ संस्थाका प्रतिनिधिहरूले नीति तथा कार्यक्रम दोहोरिन नहुने बताएका छन । ब्रोकरेज कमिशन न्यून हुनुपर्ने, सूचना प्रवाहमा प्रभावकारिता र विश्वसनियता हुनुपर्नेमा समेत लगानीकर्ताले जोड दिएका छन । अनलाइनमा आबद्ध हुन प्रोत्साहनमुलक व्यवस्था हुनुपर्ने, टि प्लस टु लागू गर्न समेत बोर्डलाइ सुझाएका छन ।

लगानीकर्ताहरुले सूचीकृत कम्पनीको वार्षिक साधारण सभाको प्रभावकारी नियमन हुनुपर्ने समेत उनीहरुले आग्ह गरेका छन् । एनआरएन प्रवेशमा सहजीकरण हुनुपर्ने बताउदै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुले जोड दिएका थिए।

कार्यक्रममा बोर्ड अध्यक्ष ढुङ्गानाले महामारीको रूपमा फैलिएको कोरोनाको असर, लकडाउन अवधि र लगानीकर्ताहरू प्रविधिसँग पूर्ण रूपमा नजोडिएको अवस्थाका कारण बाध्यात्मक रूपमा बन्द भएको बताए।