बुक विल्डिङ्ग विधि मार्फत आईपिओको मूल्य निर्धारण प्रक्रिया प्रभावकारी नहुने देखिएको छ। धितोपत्र बोर्डले तयार गरेको बुक विल्डिङ्ग सम्बन्धी निर्देशिका, २०७७ को मस्यौदा अनुसार आसय मूल्य पेस गर्ने संस्थागत लगानीकर्तालाई त्यसपछिको प्रक्रियामा सहभागी जनाउन अनिवार्य नभएपछि प्रभावकारी नहुने देखिएको हो ।
आसय मूल्य दिने योग्य संस्थागत लगानीकर्ताले खरिद गर्नपर्ने व्यवस्था नगर्दा जुनसुकै मूल्य पनि आसयमा पेस गर्न सकिने अवस्था देखिन्छ । यसले बुक विल्डिङ्ग विधि मार्फत पनि मूल्य निर्धारणमा अस्वस्थता आउने देखिन्छ ।
आसय मूल्य पेस गर्ने एउटा खरिद गर्ने अर्को संस्था हुने वित्तीकै फेयर प्राक्टिस नहुने जानकारहरु बताउँछन । आसय मूल्य पेस गर्नेलाई बिक्री नभएको खण्डमा उनीहरुले पेस गरेको आसय मूल्य खरिद गर्नुपर्ने व्यवस्था गर्न समेत उनीहरुको सुझाव छ । त्यसका अलवा आसय मूल्यमा खरिदका लागि पनि विड आवेदन दिनै पर्ने व्यवस्था गर्दा पनि उनीहरुको भनाई रहेको छ ।
मस्यौदा अनुसार ५ संस्थागत लगानीकर्ता सहभागी भएपनि औषत मूल्य कायम गर्न सक्ने व्यवस्था छ । मस्यौदा अनुसार आसय मूल्य दिएपछि ती संस्थागत लगानीकर्ताको सहभागीता नहुदाँ मिलेमतोमा उच्च मूल्य पेस गर्ने र अन्य लगानीकर्ता फस्ने वा निष्कासन कम्पनीलाई बिक्री नहुने जोखिम रहन सक्ने देखिन्छ ।
बोर्डले छलफलका लागि सार्वजनिक गरेको सो मस्यौदा अनुसार बुक विल्डिङ्ग विधि अनुसार धितोपत्र निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकले संगठित संस्थाको प्रारम्भिक विवरणपत्र तयार गर्नु पर्नेछ । बिक्री प्रबन्धकले तयार गरेको प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गरी छलफल गर्नु पर्ने व्यवस्था रहेको छ ।
छलफल कार्यक्रममा सहभागी योग्य संस्थागत लगानीकर्तासँग निष्काशन तथा विक्री प्रबन्धकले खरिद आसय मूल्यसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग गर्नुपर्ने व्यवस्था निर्देशीकामा रहेको छ । योग्य संस्थागत लगानीकर्ताले छलफल कार्यक्रम समाप्त भएको ५ कार्य दिन भित्र लिखित रुपमा खरिद आसय मूल्यसहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा आफ्नो सुझाव दिन सक्नेछन् । योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आसय मूल्यको औषत मूल्य गणना गर्नु पर्नेछ । औषत आसय मूल्य गणना भएपछि निष्काशनकर्ता कम्पनी र निष्काशन तथा विक्री प्रबन्धकले धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्र्ने व्यवस्था मस्यौदामा रहेको छ ।
धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा संस्थागत लगानीकर्ताबाट प्राप्त औषत आसय मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा संस्थागत लगानीकर्ताबाट प्राप्त औषत आशय मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ । यसरी कायम गरेको मूल्य सहितको विवरण पत्र धितोपत्र बोर्डले स्विकृत गरेको खण्डमा बुक विल्डिङ्ग विधि मार्फत धितोपत्र निष्कासन गर्न अनुमती दिन सक्ने व्यवस्था छ ।
योग्य संस्थागत लगानीकर्तामा धितोपत्र दलाल, धितोपत्र व्यापारी र धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित भएका इन्भेष्टमेन्ट कम्पनीहरुलाई समेत समेट्न सकेको खण्डमा लगानीकर्ताको संख्या धेरै हुने मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष धु्रव तिमिल्सीनाले बताए । यो विधिमा प्रारम्भिक सार्वजनिक निष्काशन मात्र नभई थप सार्वजनिक निष्काशन गर्दा तथा विषेश निष्कासनमा पनि यसको प्रयोग गर्नु पर्ने व्यवस्था गर्दा राम्रो हुने उनको भनाई छ । योग्य संस्थागत लगानीकर्ताको हैसियतले सहभागि भई धितोपत्र बाँडफाँडमा भएको अवस्थामा सर्वसाधारणको निष्काशनका लागि गरिने शेयरको प्रत्याभुति गर्न व्यवस्था गरेको खण्डमा उपयुक्त हुने तिमिल्सीनाको भनाइ छ ।
निष्काशन तथा विक्री प्रबन्धकले कुल निष्काशनको कम्तिमा ५ प्रतिशत धितोपत्र अनिवार्य रुपमा प्रत्याभुति गर्नुपर्ने व्यवस्था गर्दा उपयुक्त हुने सुझाव समेत एशोसिएसनले दिएको छ । प्रिमियममा शेयर जारी गर्ने अवस्थामा व्यक्तिगत लगानीकर्ताबाट मात्र धितोपत्रको पर्याप्त माग नआउन सक्ने हुँदा सार्वजनिक निष्काशनमा कम्पनीले समेत शुरुबाट नै आवेदन गर्न पाउने व्यवस्था गर्नु उपयुक्त हुन्छ । दश कित्ते बाँडफाँड नीति परिवर्तन गरेर साना लगानीकर्तालाई निश्चित प्रतिशत धितोपत्र छुट्टयाई समानुपातिक बाँडफाँड प्रणाली लागू गरेको खण्डमा सामुहिक लगानी कोषलाई छुट्याउने व्यवस्था हटाउने विषयलाइ निर्देशकले नसमेटेको देखिन्छ ।
योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको धितोपत्र पूर्ण रुपमा बिक्री नभएमा उक्त निष्काशन प्रक्रिया रद्द गर्नुपर्नेछ व्यवस्था प्रस्तावित निर्देशिकामा रहेको छ । यसरी पूर्ण विक्री नभै निष्काशन प्रक्रिया रद्द भएको ७ कार्य दिनभित्र आर्जित व्याजसहित आवेदन गरिएको रकम फिर्ता गर्नुपर्ने व्यवस्था समेत उल्लेख छ ।
प्रतिक्रिया