नागरिक स्टक डिलरले खोज्यो प्रमुख कार्यकारी, साउनको दोस्रो साताबाट कारोबार थाल्ने तयारी

0
Shares

साउनको दोस्रो साताबाट शेयर बजारमा प्रवेश गर्ने तयारीमा रहेको नागरिक स्टक डिलर कम्पनीले प्रमुख कार्यकारी अधिकृत खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ। जसका लागि कम्पनीले १५ दिनको म्याद राखेर विहीबार दरखास्त आह्वान गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारीका लागि व्यवस्थापन, अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्रमा स्नाकोत्तर तह उर्तिण गरेको वा स्नातक तह उर्तिणसहित चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्नेछ ।

साथै बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारमा सूचीकृत भएको संस्था वा उद्योग, धितोपत्र बजारको क्षेत्रमा कम्तिमा चार वर्ष व्यवस्थापकीय वा सो सरह काम गरेको अनुभव हुनुपर्नेछ भने उम्मेदवार ३० वर्ष पुराभई ५८ वर्ष ननाघेको हुनुपर्ने छ । आवेदकले निवेदनका साथ ५ हजार शब्द नबढेनेगरी नागरिक स्टक डिलर कम्पनीको व्यवसायिक रणनीति सहितको कार्ययोजना पेस गर्न भनेको छ । 

के गर्दैछ कम्पनी ?

नागरिक स्टक डिलर कम्पनीले स्टक डिलरको अनुमति लिन धितोपत्र बोर्डमा आवेदन गरिसकेको छ । अहिले कम्पनीका लागि आवश्यक भौतिक पूर्वाधार, सफ्टवेयर तथा उपकरण जडान र कर्मचारी व्यवस्थापनको काम भइरहको छ । कम्पनीका सम्बद्ध व्यक्तिहरुले डिलरको कामका लागि प्राविधिक विषयमा नेप्से र सिडिएससीमा आवश्यक प्रशिक्षण समेत लिन थालिसकेका छन्।

नागरिक लगानी कोषले सर्वसाधारणको समेत स्वामित्व रहनेगरी गत माघमा स्टक डिलर कम्पनी दर्ता गरेको थियो । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ राखिएको छ ।

शेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गरिएको हो । यो कम्पनीले शेयर बजामा १५ अर्ब बराबर रकम लगानी गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ।

नागरिक लगानी कोषको नेतृत्वमा संचालनमा आउन लागेको ’नागरिक स्टक डिलर’ कम्पनीले अधिकतम ३५ अर्ब रुपैयाँसम्म शेयर बजारमा लगानी गर्न पाउनेछ । कम्पनीले चुक्तापूँजीको ६ गुणासम्म कर्जा सापटी लिएर दोस्रो बजारमा परिचालन गर्न पाउने व्यवस्था छ । यसका आधारमा ५ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ३५ अर्बसम्म लगानी पाउने देखिन्छ ।

स्टक डिलर कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी ९एनटीसी०को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहने छ ।

कम्पनीमा कोषको दुई अर्व ५५ करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड र एक अर्ब ५० करोड सर्वसाधारणको लगानी रहने कम्पनीले जनाएको छ ।

नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेकोले धितोपत्रको दोस्रो बजारमा बेलाबखत उतारचढाव आइरहेको सन्दर्भमा संस्थागत लगानीकर्ताले बजारमा स्थायित्व कायम रहने विश्वास गरिएको छ।

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार  ०७ : २७ बजे