साधनाको आईपीओमा रेकर्ड ब्रेक, १५% थोरैले मात्र आईपीओ पाउने

0
Shares

साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) रेकर्ड ब्रेक भएको छ। लघुवित्तको आईपीओमा आवेदन गर्ने कूल संख्या ४ लाख ५५ हजार ७२७ पुगेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

यो संख्या आईपीओमा परेको आवेदनका आधारमा हालसम्मकै उच्च हो। यसअघि ४ लाख बढी संख्यामा मात्र आवेदन पर्ने गरेकोमा लघुवित्तमा साढे ४ लाख नाघेको हो।

कूल आवेदकबाट सर्वसाधारणमा माग भएको कित्ताको तुलनामा १६.९१ गुणा बढीको आवेदन परेको छ। लघुवित्तले असार २१ गते आइतबारदेखि सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता शेयर बिक्रीमा ल्याइएकोमा १ करोड ११ लाख ८७ हजार ९६० कित्ताको माग भएको हो।

आवेदकमध्ये ८ हजार ६०४ वटा आवेदबाट परेको ३ लाख ८ हजार १३० कित्ताको माग रद्ध भएको क्यापिटलले जनाएको छ। आवेदकमध्ये ४ लाख ४७ हजार १२३ वटा आवेदनबाट परेको १ करोड ८ लाख ७९ हजार ८३० कित्ताको माग भने सदर भएको छ।

अन्तिम दिन (बुधबार) मा मात्रै लघुवित्तको आईपीओमा ६२ हजार ९६१ वटा आवेदनबाट १५ लाख ७७ हजार २६० कित्ताको माग भएको छ। जसमध्ये ५२९ वटा आवेदनबाट परेको ९ हजार ६५० कित्ताको माग रद्ध भएको छ।

१५ प्रतिशतभन्दा थोरै आवेदकले मात्र शेयर पाउने

लघुवित्तले कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरि ६ लाख ६१ हजार ५२० कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन मागेको थियो। आईपीओ ४ लाख ५५ हजार ७२७ वटा आवेदन सदर भएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई न्यूनतम १० कित्ताका दरले बाँड्नुपर्ने हुन्छ। यसअनुसार ६६ हजार १५२ आवेदकले मात्र शेयर पाउनेछन्। शेयर पाउने यो संख्या कूल सदर आवेदकको १४.५२ प्रतिशत मात्र हुन आउँछ।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति पाएको लघुवित्तले जारी पूँजीको ३२.५० प्रतिशत अर्थात प्रतिकित्ता १०० का दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

लघुवित्तमा न्यूनतम १० एकाई र अधिकतम एक हजार एकाईहरूसम्मका लागि आवेदन गर्न पाइने व्यवस्था थियो। इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार रहेको उल्लेख गरिएको छ।

केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकिकृत कारोबार थालेको थियो। सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख र वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ।