नेशनल लाइफको शेयर संरचना परिवर्तन हुँदै, १०% संस्थापक साधारणमा परिणत हुने

0
Shares

नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो पूँजीको थप १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा शेयरमा रुपान्तरण गर्ने भएको छ।

हाल कम्पनीमा चुक्ता पूँजीको ६५ प्रतिशत संस्थापक शेयर छ। सो मध्ये कम्पनीले १० प्रतिशत शेयरलाई साधारणमा परिवर्तन गरि संस्थापक शेयरको हिस्सा ५५ प्रतिशतमा घटाउने र हाल कायम ३५ प्रतिशत साधारण शेयर अनुपातलाई १० प्रतिशतले वृद्धि गरि ४५ प्रतिशत कायम गर्ने भएको हो।

शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव इन्स्योरेन्सको २०७६ कार्तिक २४ गते सम्पन्न ३१ औं वािर्षक साधारण सभाबाट निर्णय भएको थियो। सो पश्चात बीमा समितिको स्वीकृति प्राप्त गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख समेत भइसकेको छ।

कम्पनीले बीमा समितिले जारी गरेको संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशन २०६६ मा भएको व्यवस्था बमोजिम संस्थापक शेयर परिर्वतन गरिने जनाउँदै कोही शेयरधनीलाई आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर साधारण शेयरमा परिणत गर्न इच्छुक नभएमा ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा सोही अनुसारको स्वघोषणा गरि निवेदन दिन आग्रह गरेको छ। निवेदनको फारम कम्पनीको वेवसाइटमा उपलब्ध गराइएको जनाइएको छ।

सो अवधिमा जानकारी उपलब्ध नगराउने संस्थापक शेयरधनीको संस्थापक शेयर साधारण सभाको निर्णय बमोजिम सर्वसाधारणमा परिणत हुने कम्पनीले जनाएको छ।

रुपान्तरण पछि कति कित्ता संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण हुन्छ ?

विसं २०७६ कार्तिक २४ गते सम्पन्न आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट पारित चुक्ता पूँजीको ३ अर्ब ७४ लाख ४० हजार ५३५ रुपैयाँको २.५० प्रतिशत अर्थात ७ करोड ५१ लाख ८६ हजार १३ रुपैयाँ बराबरको बोनस शेयरपछि ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँ चुक्ता पूँजी पुगेको थियो।

यसअनुसार हाल कम्पनीमा हाल ६५ प्रतिशत संस्थापक शेयर रहेकाले २ करोड ३७ हजार ७२ दशमलव ५६ कित्ता संस्थापक र १ करोड ७ लाख ८९ हजार १९२ दशमलव ९२ कित्ता सर्वसाधारण शेयर रहेको छ।

चुक्ता पूँजीको १० प्रतिशत संस्थापक शेयर रुपान्तरण पश्चात कम्पनीको ३० लाख ८२ हजार ६२६ दशमलव ५५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण हुनेछ।

यसपश्चात कम्पनीमा १ करोड ६९ लाख ५४ हजार ४४६ दशमलव ०१ कित्ता संस्थापक र १ करोड ३८ लाख ७१ हजार ८१९ दशमलव ४७ कित्ता सर्वसाधारण शेयर कायम हुनेछ।

सभाले सर्वसाधारण हिस्सा ४९ प्रतिशत र संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत शेयर हिस्सा कायम गर्ने प्रस्ताव पारित गरेकोमा पहिलो चरणमा कम्पनीमा १० प्रतिशत संस्थापक शेयर हिस्सा परिवर्तन गर्न लागेको हो।