रिलायन्स लाइफले ६३ करोडको आईपीओ जारी गर्ने, सामूहिक लगानी कोष पनि स्थापना गर्ने

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड बराबरको प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आषाढ २८ गते आईतबार सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेको छ।

२०७४ मंसिरदेखि विधिवत रुपमा जीवन बीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै आएको कम्पनीले हाल १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट आफ्नो कार्य संचालन गरिरहेको छ ।

साधारण सभाले अध्यक्ष ताराचन्द केडियाले प्रस्तुत गरेको आ.व.२०७५/७६ को वार्षिक प्रतिवेदनका साथै आ.व. २०७५/७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

यस्तै कम्पनीको आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं. अन्य सुविधाहरु निर्धारण गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ ।

साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु समेत पारित गरेको छ ।