बैंकहरुमा कर्जाको माग आउन थाल्यो, असारको चौंथो सातामा ३३ अर्ब प्रवाह

0
Shares

कोरोना महामारी नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेपछि गत चैतदेखि ठप्प जस्तै रहेको कर्जा विस्तारको क्रम असारको चौंथो साताबाट भने सुधार आएको छ।

पछिल्ला तीन महिनामा बैंकहरुमा निक्षेप थपिए पनि बैंकहरुले थप कर्जा विस्तार गर्न सकेका थिएनन् । यसबीचमा बैंकहरुले कर्जा असुली गर्दा समग्र कर्जाको आकार घट्दै आएको थियो। तर असारको चौंथो सातामा भने बैंकहरुले ३३ अर्ब कर्जा प्रवाह गरेका छन् । असारको चौंथो साता बैंकहरुमा ६५ अर्ब निक्षेप थपिएको छ भने ३३ अर्ब कर्जा विस्तार भएको छ ।

लकडाउनको कारण आर्थिक कारोबार रोकिएपछि कर्जा ठप्प जस्तै थियो। सरकारले पछिल्लो समयमा लकडाउन खुकुलो बनाउँदै लगेपछि कर्जाको माग बढेको हो। असार महिनामा मात्र बैंकहरुमा एक खर्ब १३ अर्ब निक्षेप बढेको छ । यसबीचमा बैंकहरुले १४ अर्ब कर्जा असुली गरेका छन् भने ३३ अर्ब विस्तार गरेका छन् ।

आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढ्ने भएकाले बैंकहरुमा निक्षेप थपिने क्रम बढेको हो। । सरकारले आर्थिक वर्षको अन्तिममा खर्च गर्ने तथा भुक्तानी दिने कारणले आर्थिक वर्षको पहिलो र अन्तिम महिनामा निक्षेप बढ्ने गरेको छ । यसले बैंकहरुलाई कर्जा तथा निक्षेपमा सन्तुलन कायम गर्न निकै समस्या सृजना गर्ने गरेको छ ।

आर्थिक वर्षको सुरुमा बैंकहरुले आक्रमक भएर कर्जा प्रबाह गर्ने र दोस्रो त्रैमासपछि कर्जा लगानी योग्य रकमको अभाव बढ्दै जाने र कर्जा प्रवाह नै नियन्त्रण गर्नुपर्ने समस्या दोहोरिरहेको छ ।

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा ५ खर्ब १० अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुको कर्जा परिचालन ३ खर्ब ४४ अर्बले बढेको छ। एकवर्षको अवधिमा बैंकहरुले कर्जा परिचालन भन्दा एक खर्ब ६६ अर्ब बढी रकम निक्षेप संकलन गरेका छन्।

 

चालु आर्थिक वर्षको असार २६ गतेसम्ममा बैंकहरुले कुल ३३ खर्ब ८८ अर्ब निक्षेप संकलन गरी २८ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन । नेपाल बैंकर्स संघका अनुसार गत असार मसान्त सम्ममा वाणिज्य बैंकहरुले २८ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेर २४ खर्ब ९८ अर्ब कर्जा परिचालन गरेका थिए।

वर्षभरिजसो कर्जा निक्षेपको असन्तुलन खेप्दै आएका बैंकहरुमा असार महिनामा ठूलो रकम निक्षेप जम्मा भएपछि कर्जा निक्षेप अनुपात सन्तुलनमा आएको छ ।