तीस हजार कोरोना प्रभावितलाई पुनर्कर्जा, महिलाले सञ्चालन गरेका उद्योगका लागि ३ प्रतिशत ब्याजदर

0
Shares

नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति मार्फत तीस हजार कोरोना प्रभावितले पुनर्कर्जा पाउने अवस्था सुनिश्चितता गर्ने भएको छ ।

राष्ट्र बैंकले एक बैंकको शाखाबाट ५ वटा पुनर्कर्जा दिने व्यवस्था ल्याउँदै छ । यो व्यवस्थाले आगामी वर्षमा करिब ३० हजारले पुनर्कर्जा सदुपयोग गर्ने अवस्था रहने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए।

अहिलेको पुनर्कर्जा कोषको आकार ३७ अर्ब रुपैयाँ बराबरको छ । यो मध्ये ३७ ऋणीले ७ अर्ब पुनर्कर्जा लिएको अवस्था छ । त्यो रकमले अहिलेको अवस्थामा देशका सम्पूर्ण स्थानीय तहमा पु¥याउँदैछौं ।

हरेक स्थानीय तहमा बैंकका शाखा अनिवार्य गरिएको अवस्था छ । यसले गर्दा पनि आगामी वर्षमा आर्थिक गतिविधि बढ्ने तथा रोजगार सिर्जना हुने अवस्था आउने देखिन्छ ।

यसका साथै पुनर्कर्जाको सीमा समेत घटाएको गभर्नर अधिकारीले बताए । यस्तो कर्जाको ब्याजदर अधिकतम ५ र महिलाले सञ्चालन गरेका तथा निर्यात उद्योगका लागि ३ प्रतिशत ब्याजदरमा उपलब्ध हुन्छ ।

उद्योग व्यवसायको फाइनान्सर बैंक वित्तीय संस्था हो । नेपाल राष्ट्र बैंक होइन । राष्ट्र बैंकले गर्ने भनेको संकटको समयमा हो । राष्ट्र बैंकको आफ्नो हातमा रहेको पुनर्कर्जा हो । अहिले हामीसँगै ३७ अर्बको पुनर्कर्जा कोष छ । त्यसमा यो वर्षको नाफाबाट ३ अर्ब थपेर ४० अर्बको हुनेछ । त्यसको पाँच गुणासम्म कर्जा दिन सकिने व्यवस्था गर्दा आवश्यक परे २ खर्बसम्म कर्जा दिन सकिने अवस्था हुने उनले बताए ।

उद्यमशीलता विकास गर्ने र रोजगारी बढाउने विषयमा राष्ट्र बैंक केन्द्रित रहेको बताउँदै उनले भने, “उद्योग व्यवसाय गर्न चाहेको व्यक्तिले वित्तीय स्रोत जुटाइदिने वातावरणको विकास गराउने काम केन्द्रीय बैंकको हो ।” त्यसका लागि मौद्रिक औजारहरु तयार गर्नमा केन्द्रीय बैंकले तयारी गरिरहेको छ ।

केही औजारहरु तयार भइसकेका पनि छन् । कुनै उद्योगीलाई बैंक वित्तीय संस्थाले ऋण दिएनन् भने किन र के कारणले पाएन भनेर त्यसको गुनासो सुनुवाइ गर्ने संयन्त्र समेत केन्द्रीय बैंक तयार गर्ने पक्षमा रहेको अधिकारीले बताए ।