पाँच दशकको इतिहास बदल्न महासंघमा लड्दै छु : किशोर प्रधानसँग अन्तर्वार्ता


नेपाल उद्योग वाणिज्य महासंघको आगामी साउन २६ र २७ गते हुने ५४ औं वार्षिक साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । महासंघको विधानमा भएको विद्यमान व्यवस्थाअनुसार अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुने भएकाले महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

२८ वर्षअघि उद्योग संगठन मोरङको महासचिव हुँदै नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिमा प्रवेश गरेका किशोर प्रधान वरिष्ठ उपाध्यक्षका प्रत्यासी हुन् । ५३ वर्षको इतिहासमा उद्योग वाणिज्य महासंघमा जिल्ला नगरबाट कोही पनि अध्यक्ष बन्न नसकेको बताउने प्रधान हाल जिल्ला नगरतर्फका उपाध्यक्ष हुन् । प्रस्तुत छ प्रधानसँग महासंघको चुनावी गतिविधि, एजेण्डा र आगामी योजनाको सन्दर्भका गरिएको कुराकानीको सम्पादित अंश :

नोटबजार : उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढ्दैछ, र फेरि एक पटक तपाईं वरिष्ठ उपाध्यक्षमा आइरहनु भएको छ, एक पटक चुनाव हारिसकेको अवस्थामा सोही पदमा मोह किन ?

किशोर प्रधान : यो संलग्नताको एउटा परिणाम हो । मैले के भन्नु पर्यो भने जबसम्म सफलता हासिल हुँदैन तबसम्म वीरहरूले आफ्नो युद्ध जारी राख्छ । जबसम्म विद्यार्थी आफू उत्तीर्ण हुँदैन तबसम्म कक्षाको पढाइ जारी राख्छ । एउटा उद्यमीले आफ्नो उद्यमशीलताले पूर्णता पाउँदैन जबसम्म उसले थकाइ मार्दैन, उसले लगनशीलता जारी राख्छ । किनभने उद्यमीका लागि आफ्नो उद्यमशीलताको काम गर्दा कहिलेकाहीँ करोड पति खागपति भएको हुन्छ । र, खागपति भएको बेला उसले निराश भएर घर बस्यो भने उ सधैं खागपति नै रहन्छ । अब उसले खागपति भनेर शून्यबाट सुरु गर्छ र एकदिन टपमा पुग्छ, त्यसको प्रशस्त उदाहरण यही देशमा छन् ।

लक्ष्य प्राप्तिका लागि मान्छेले एकपटक हार खाँदैमा लक्ष्य छोडेर मैदानबाट बाहिर निस्कने हो भने लक्ष्य प्राप्ति कहिल्यै हुँदैन । मेरो लक्ष्य भनेको अर्जुनले माछाको आँखाको नानी हेरेजस्तो उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा पुगेर सेवा गर्ने हो । कसलाई सेवा गर्ने ? साना तथा मझौला उद्योग व्यवसायीलाई माथि उठाउने, उनीहरूको पेशालाई वृद्धि गर्ने, उनीहरूको रहन सहनको स्तरोन्ति गर्ने र ठूला उद्योगीहरूलाई सहयोग गर्ने । यो क्रममा एउटा क्रम भङ्ग भएर म पछिल्लो पटकको निर्वाचनमा हारे पनि अहिले निर्वाचन जित्ने गरी तपाईंहरूको सामुन्ने आएको छु । विश्वास गर्नुस् यसपटकको लक्ष्य हासिल गरेर नै म महासंघका साना, मझौला र ठूला उद्योगी लगायत सम्पूर्ण वर्गलाई सेवा गर्छु र विशेषगरी साना तथा मझौला उद्योगीहरूको जीवनस्तर विकासका लागि महासंघमार्फत एउटा सन्देश दिने प्रयास गर्नेछु । यसपटकको अध्यक्ष निर्वाचित भइसक्नु भएको शेखर गोल्छाको टिममा बसेर उहाँका भावनाहरूलाई, भिजनहरूलाई कार्यान्वयन गरेर र हाम्रो टिमको भिजनलाई समेत महासंघमा राखेर अघि बढाउँछौं । जुन खस्किएको इमेज छ भनी बजारमा भनिएको छ । यसलाई वृद्धि गर्ने र उद्योगी व्यवसायीको सम्मान हुने किसिमको वातावरण बनाउनका लागि किशोर प्रधान फेरि अगाडि आएको छ ।

नोटबजार : बजारमा हल्ला के छ भने किशोर प्रधान नेगोशेसन गर्न आएको छ र कुनै पनि बेला चुनाव प्याक गरेर जान्छ भन्छन् ? यसमा तपाईंको भनाइ के छ ?

किशोर प्रधान : मैले आफ्नो जीवनको करिअरमा आफ्नो टिम हार्ने गरी, टिमलाई छोड्ने गरी न हिजो अघि बढेँ न आज गर्दैछु न त भोलि गर्नेछु । जीवनभरि एउटै कल्पना के रह्यो भने जुन टिममा संलग्न रहन्छु त्यही टिमलाई अगाडि बढाएर लैजाने, टिमलाई जिताउने, टिम नै मेरो सर्वोपरी हो, म टिमको सदस्य हुँ । अहिले शेखर गोल्छा त अध्यक्ष भइसक्नुभयो, निर्वाचनको नेतृत्व मेरो छ । मेरो नेतृत्वमा मात्र होइन जिल्ला नगरका सदस्य पनि छन्, वस्तुगतका सदस्य पनि छन्, एशोसिएटका सदस्य पनि छन् । सम्पूर्ण टिमलाई जिताउने मेरो जिम्मेवारी हो । तपाईंले अहिले बजारको जुन हल्ला भन्नुभयो, कुनै पनि हालतमा त्यस्तो कम्परमाइज गरिँदैन र किशोर प्रधान यहाँबाट फर्कंदैन । त्यस्तो कम्परमाइज गर्नुभन्दा मर्न तयार छु । तपाईं के बुझ्नुस् भने किशोर प्रधान निश्चित रुपमा महासंघको अध्यक्ष बनेर सेवा गर्छ र टिमलाई हाँकेर अघि बढ्छ । जिल्ला तथा नगरमा दिनेश श्रेष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ, वस्तुगतमा अन्जन श्रेष्ठ हुनुहुन्छ, एसोसिएटमा सौरभ ज्योति हुनुहुन्छ । यो टिमलाई र उहाँहरूसँग संलग्न भएका सबै सदस्यहरूलाई जिताउनु मेरो सबैभन्दा ठूलो कर्तव्य हो । अहिले मेरो कमाण्डर शेखर गोल्छा, उहाँले मलाई क्यापटेनको रुपमा हेर्नुभएको छ । निर्वाचनको युद्धमा लड्नका लागि मेरो कप्तानीमा मेरा साथीहरू लड्न अगाडि बढेका छन् । विश्वास गर्नुुस् यो टिमले निश्चित रुपमा जित्छ र उद्योग वाणिज्य महासंघको अनुहार फेर्छ ।

नोटबजार : भनिन्छ, महासंघको चुनावी राजनीति र यसभित्रको फोहोरी राजनीतिको पाटो केलाउँदा उम्मेदवार र पदाधिकारीभन्दा बाहिरका खेलाडीहरु धेरै हावी हुन्छन् । अहिले चण्डी ढकाल भर्सेस किशोर प्रधान टिम देखिएको छ । महासंघको यो राजनीतिक खिचातानी कसरी पार लगाउनु हुन्छ ?

किशोर प्रधान : तपाईंले ज–जसको नाम लिनुभयो, म एउटै कुरा भन्छु, उहाँ आफू पूर्वअध्यक्ष भइसकेर आफैंले जुन सम्मानपूर्वक गति लिनुपर्ने समय थियो । उहाँले आफ्नो व्यवसायलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने अवस्था थियो तर केही कारणवश उहाँलाई यसको मोह किन लागेको हो थाहा छैन । त्यो सम्पूर्ण मोह उहाँले भङ्ग गर्नुपर्छ भन्ने हाम्रो भनाई छ । उहाँले आउने नेतृत्वलाई स्वतन्त्र छाडेर कसैको पक्ष विपक्षमा नलागेर सहयोग गर्नुपर्छ । उहाँ पक्ष विपक्षमा नलागेको भए अन्य पूर्वअध्यक्षहरू पनि पक्ष विपक्षमा लाग्ने थिएनन् । उहाँ पक्ष विपक्षमा लागेको भएर अन्य अध्यक्षहरूलाई पनि पक्ष विपक्षमा लाग्नुपर्ने बाध्यता छ । मलाई लाग्छ, अप्रत्यक्ष रुपमा उहाँले चलखेल गर्ने कुरा यहाँले गर्नुभो, उहाँको अहिले त्यो स्थिति छैन । सकारात्मक रुपमा यो निर्वाचनलाई अघि बढाउन चलखेलभन्दा पनि उहाँले राम्रो तरिकाले स्वच्छ वातावरणमा सहयोग गर्नुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।

नोटबजार : महासंघ भित्रै खेद प्रस्ताव पारित गरेर उहाँको चलखेल रोक्ने अवस्थामा त तपाईंहरू पुग्नुभयो नि होइन ?

किशोर प्रधान : यो पनि महत्वपूर्ण कुरा उठाउनु भयो । खेद प्रस्ताव भनेको कस्तो हो भने उहाँले अध्यक्ष र निर्वाचित अध्यक्ष दुवैलाई हैसियत देखाउने कुरा जुन किसिमले पत्रपत्रिकामा दिनुभयो । त्यसमा म के भन्छु भने, ‘आजभन्दा आठ÷नौ महिना अघि एक किसिमको पब्लिक न्युजलाई मैले शेयर गर्न पुगे,’ त्यसमा मलाई ठूलो लान्छना लगाइयो, उहाँबाट नि लगाइयो, उहाँमार्फत मेरा केन्द्रीय सदस्य साथीहरूले पनि यस्तो चाहिँ गर्न हुँदैन र यसमा माफी माग्नुपर्छ भने पनि केन्द्रीय समितिको बैठकमै माफी माग्नुपर्ने भयो । जब मैले माफी मागे, उहाँले अहिलेको अध्यक्ष र आगामी अध्यक्षलाई पनि लान्छना लगाउनुभयो । मलाई मनमा चोट थियो, नचाहँदा–नचाहँदै पनि एउटा पब्लिक न्युज शेयर गर्दा मैले माफी माग्नुपर्ने अवस्था आयो भने उहाँले पनि कमसेकम पदाधिकारी बैठकमा माफी माग्नुपर्छ भन्ने उद्देश्यले मैले प्रस्ताव राखेको हो । त्यो प्रस्तावलाई सबैले स्वीकार गर्नुभयो, त्यसकारण उहाँले त्यो बेलामा भइगो यो विषय अब यहीँ समाप्त गरौं, मैले गल्ती गरे भनेर भन्नुभएको भए कुरा त्यहीँ समाप्त हुन्थ्यो । तर, दुर्भाग्यवश उहाँले त्यो कुरा भन्न रुचाउनु भएन् । त्यो भर्चुअल मिटिङ थियो, त्यसबाट पास भयो ।

मैले त प्रस्ताव मात्र गरेको हो, पास गर्ने अधिकार त बोर्डको हो । पदाधिकारी बैठकले त्यो प्रस्ताव पारित गरेको जानकारी मैले पाए । उहाँले यो कुरालाई मनन गर्नुभएको थियो होला । केही कारणवश उहाँले त्यसलाई तुरुन्तै छोडौं किशोरजी, साथीहरू मैले हिजो गरेको गल्तीका लागि भयो अब आइन्दा हुँदैन भनेको भए त्यो केश त्यही समाधान हुन्थ्यो । उहाँले नभनेको कारणले सबै साथीको इगो भयो होला जस्तो लाग्छ ।

नोटबजार : जुन तरिकाबाट चन्द्र ढकालले चुनावको तयारी गरेका छन् त्यसका आधारमा उनले चुनाव जित्ने चर्चा बजारमा छ, यो अवस्थामा तपाईंले चुनाव जित्ने आधार के–के हुन् ?

किशोर प्रधान : यो कुरा गलत हो । हात्तीको खाने र देखाउने दाँत फरक हुन्छ । चुनाव भनेको हल्ला गरेर मात्र जितिँदैन, चुनाव शान्ति र रणनीतिले जितिन्छ । छिटो दौडिँदैमा रेस जित्ने पक्का हुँदैन, छिटो दौड्ने छिट्टै थाक्छ पनि । अहिलेको सन्दर्भमा मेरो प्रतिस्पर्धी मित्र जो हुनुहुन्छ, उहाँले चुनाव जित्नका लागि गरेका प्रयासहरूमा कुनै गुनासो छैन । मैले मेरो तर्फबाट जित्ने प्रयास गरिराखेको छु भने उहाँले आफ्नो प्रयास जारी राख्नु भएको छ ।

मैले यो चुनाव जित्छु भन्नेमा धेरै आधारहरू छन् । म आफैंले यो संस्थामा २५ वर्ष प्रत्यक्ष संलग्न भएर काम गरेको छु । जिल्ला नगरको सम्पूर्ण अवस्था बुझेको छु । यो संस्थाको ५३ वर्षको इतिहासमा मुस्किलले जिल्ला नगरबाट एक दुई जना मात्र अध्यक्ष बन्नु भएको छ । जबकी महासंघमा जिल्ला नगरको हिस्सा ५० प्रतिशत छ । यो अवधिमा जति पनि अध्यक्ष बन्नु भयो, उहाँहरु एसोसिएट्समार्फत नै बन्नु भएको छ । यस्तो अवस्थामा ५३ वर्षपछि यो संस्थाको नेतृत्वका लागि खडा भएको छु । अहिलेको अवस्थामा जिल्ला नगरलाई राम्रोसँग बुझेर आएको व्यक्तिलाई नेतृत्व नदिने हो भने फेरि ५३ वर्ष पर्खनुपर्ने अवस्था हुने देखिन्छ । त्यसैले अहिलेको अवस्था सबै जिल्ला र नगरका साथीहरू पनि ५३ वर्षको अवधिमा तेस्रो नेता पाउँदैछौं भनेर उत्साहित भएको अवस्था छ । यो अवस्थामा कसरी जिताउन सकिन्छ भनेर हरेक जिल्ला तथा नगरका साथीहरू लाग्नु भएको छ । यसका साथै एफएनसीसीआईमा एसोसिएट्सको ३० प्रतिशत हिस्सा छ । एसोसिएट्सका साथीहरूलाई पनि मसँग जस्तो आगामी दिनमा काम गर्न सहज महसुस गर्नु पर्ने अवस्था अरुसँग नहुन सक्छ । एशोसिएट्सको त्यो ३० प्रतिशतमध्ये २० प्रतिशत मत मलाई आउने सम्भावना छ । वस्तुगत तर्फबाट अन्जन श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ । जिल्लामा पनि ६० देखि ७० प्रतिशत मत आउने देखिन्छ । एसोसिएट्स तर्फबाट पनि २० प्रतिशत मत आउने तथा वस्तुगत तर्फबाट पनि १२ देखि १५ प्रतिशत मत आउने अवस्था छ । त्यसैले मैले चुनाव जित्छु । मैले आत्मियता, सौहार्दता र सामिप्यताको माध्यमबाट अघि बढेर आजको दिनसम्म आइपुगेको छु ।

उद्योगी व्यवसायीको निर्वाचनमा राजनीति पृष्ठभूमिले कुनै मान्यता राख्ने देखिँदैन । त्यसको प्रभावले चुनावी नतिजामा खासै असर गर्छ भन्ने लाग्दैन । त्यसका साथै सबै साथीहरूले राम्रोसँग बुझ्नु पनि भएको छ । सबै मतदाताहरू स्वविवेक प्रयोग गर्न सक्षम हुनुहुन्छ । यो संस्थालाई बलियो बनाई उद्योगी व्यवसायीका विषयमा आवाज उठाउनका लागि को व्यक्ति सक्षम छ भन्ने कुरा साथीहरूले राम्रोसँग बुझ्नु भएको छ । धेरै राम्रो भए पनि एफएनसीसीआई चन्द्रजीका लागि नयाँ जस्तो हो । त्यसैले पनि उद्योगी व्यवसायीको आवाजका लागि साथीहरूले मलाई नै जिताउनु हुन्छ भन्ने निश्चित छ । उहाँले अझै यो संस्थालाई बुझ्ने प्रयास गर्नुभएको भए झनै राम्रो हुन्थ्यो । उहाँले अहिले चुनाव लड्नु अलि छिटो भएको हो कि भन्ने साथीहरूको भनाई छ । आगामी दिनमा हामी दुवै जना सहकार्य गरेर अघि बढ्न सक्ने अवस्था अझै पनि छ ।

नोटबजार : आजको दिनमा महासंघको संस्थागत साखमा आँच आएको देखिन्छ । त्यतिमात्र नभई यही संस्थाबाट फुटेर अन्य महासंघहरु जन्मिएका पनि छन् । यसैलाई हेर्ने हो भने आज महासंघ कमजोर हँुदै गएको छ भन्दा गलत कि सही ?

किशोर प्रधान : संस्थाको साख कमजोर हँुदै गएको र त्यसलाई बलियो बनाउनका लागि मैले चुनाव लड्ने तयारी गरेको हुँ । यस विषयमा जिल्ला नगरका साथीहरूलाई बढी जानकारी छ । यो पीडा भनेको ७७ वटै जिल्लामा उद्योग व्यवसाय गर्ने हरेक व्यवसायी व्यवसायका समस्या बुझेर समाधानतर्फ लाग्ने भन्ने छ । महासंघमा सदस्य रहने सानादेखि ठूला व्यवसायीलाई बुझेर उनीहरूको समस्या समाधान गर्न पहल गर्नु पर्ने अहिलेको आवश्यकता हो । मेलै सबैलाई समेटेर संस्थाको गरिमा उच्च बनाउने तथा सबै साथीहरूका समस्याको पहिचान तथा समाधानका लागि पहल गर्ने क्षमता राख्छु । म उनीहरूको पीडासँग जानकार पनि छु । अब आउने नेतृत्व उद्योग वाणिज्य महासंघलाई सबल, सक्षम, सबैको आफ्नो संस्था बनाई गरिमा उच्च बनाउन सक्षम छ । आगामी दिन शेखर गोल्छाज्यूको नेतृत्वको र मेरो कार्यकालले यसलाई नयाँ उचाइमा पुर्याउनेछ । सबै उद्योगी व्यवसायीको संस्थाका रुपमा स्थापित गराउने क्षमता हामीले राख्छांै ।

नोटबजार : कोभिड–१९ को अवस्थामा पनि तपाईंहरूले उद्यमी व्यवसायीको पक्षमा एड्भोकेसी गर्न सक्नुभएन, जसका कारण अर्थ मन्त्रालयले व्यवसायीलाई मद्दत पुग्ने खालको राहत प्याकेज ल्याएन । यसरी हेर्दा पनि त एफएनसीसी कमजोर भएको जस्तो देखियो नि होइन ?

किशोर प्रधान : कोरोनाका कारण प्रभावित उद्योग व्यवसायको विषयमा सम्बन्धित सरकारी निकायबाट सम्बोधन नहुँदा धेरै उद्योगी व्यवसायी निराश भएको अवस्था हो । पछिल्ला दिनहरूमा आत्महत्याको दर बढ्दो देखिएको छ । त्यसमा उद्योगी व्यवसायीहरू पनि परेको अवस्था छ । कोरोनाका कारण देशको अर्थतन्त्र नै असहज अवस्थामा रहेका बेला आएको आगामी आर्थिक वर्षको बजेटले उद्योगी व्यवसायीहरूले दिएका सुझावहरूलाई समेट्न सकेन । महासंघले पटक–पटक यो विषयमा सरकारलाई घच्घच्याई रह्यो । तर, राहतको विषयमा बजेटले कुनै किसिमको सम्बोधन गरेन । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई देखाउँदै आफ्नो जिम्मेवारीबाट बाहिरिनु दुखद् विषय हो । यस्तो अवस्थामा महासंघले उद्योगी व्यवसायीको हितमा काम गरेन भन्नु गलत हो ।
संकटको अवस्थामा हामी र हाम्रा साथीहरूलाई परेको अफ्ठ्यारोको विषयमा हामीले सम्बन्धित निकायसम्म पुगेर आफ्ना कुराहरू राखेका पनि हांै । हामीले प्रयास नगरेको होइन । तर, हाम्रा कुराहरूलाई सम्बोधन गरिदिने सरकारले हो । हामी आफैं निर्णय गर्ने सरकार नै त होइनौं । अहिले देशमा लकडाउन गरिएको अवस्था छ । आन्दोलन नै गरेर उद्योगी व्यवसायीको आवाज बुलन्द बनाउनका लागि पनि समय उयुक्त छैन । अहिलेको अवस्थामा सरकारलाई अनुरोध मात्र गर्ने हो । त्यो काम एफएनसीसीआईले गरेकै छ । हाम्रा समस्याको विषयमा सरकारले अहिले सुनेन भने व्यवसायीलाई मात्र होइन देशका लागि नै ठूलो असर गर्ने देखिन्छ । हाम्रो देशको मुख्य समस्या भनेको राजनीतिक अस्थिरता हो ।

नोटबजार : नेपालको अर्थतन्त्र सीमित व्यक्तिको हातमा छ । तपाईले ती सीमित व्यक्ति भनेर बैंकलाई चिनाउन खोज्नु भएको हो ?

किशोर प्रधान : अहिलेसम्म बैंकहरू राष्ट्र बैंकको नीति नियम अनुसार चलेको अवस्था छ । साना तथा मझौला उद्योगी व्यवसायीले सरकारले ठूला उद्योगीका लागि मात्र काम गरेको अनुभव गरेको अवस्था छ । त्यसमा चाहे नीतिगत भ्रष्टाचारको नै कुरा किन नहोस् । सरकारले नीतिगत व्यवस्था गरेर सीमित व्यक्तिलाई अर्बौं भ्रष्टाचार गर्ने बाटो खुलाएको समाचाहरू बाहिर आइरहेको देखिन्छ । यस्तो अवस्थामा पनि महासंघले आफ्नो कतव्र्य पूरा गरेको छ भन्ने लाग्छ । कोरोनाको समयमा पनि सरकार, अर्थ मन्त्रालयदेखि नेपाल राष्ट्र बैंकसम्म पुगेर निजी क्षेका समस्याहरूको विषयमा जानकारी गराई नै राखेका छौं । त्यसको सहजीकरणका लागि नीतिगत परिवर्तन गर्न अनुरोध समेत गरेका छांै । त्यसैले सरकारले सीमित व्यक्तिको स्वार्थका लागि ल्याइएका नीति नियमहरू परिवर्तन गरेर सामूहिक बनाउने आँट गर्न सक्दैन । जबसम्म सरकारले प्रजातान्त्रिक मूल्य मान्यताअुनसार सामूहिक निर्णय गर्न सक्दैन तबसम्म देशको अवस्थामा सुधार हँुदैन ।

कोरोनाको महामारीले प्रतिव्यक्ति आयमा समेत गिरावट आएर नकारात्मक नै पो हुने हो भन्ने अवस्था छ । आगामी दिनमा अर्को समस्या हुनसक्छ । सरकारले पनि कसरी टिक्ने भनेर संघर्ष गर्नुपर्ने अवस्थाले उद्योगी व्यवसायीका आवजहरू गौण भएको अवस्था हो । सरकारले गौण रुपमा लिएका निजी क्षेत्रका आवाजहरूलाई हामीले फेरि उठाउँछांै । यो चुनावपछि देशका उद्योगी व्यवसायीका लागि चाहिएको कुरा स्थापित गरेर नै छाड्छौं । हामीलाई कसैले पनि दोष लगाउने वातावरण पनि हुने छैन । जुन तवरबाट साथीहरूले हामीलाई विश्वास गरेर निर्वाचित गराउनुहुन्छ । त्यही अनुसार हामी पनि सरकारलाई निजी क्षेत्रका समस्याबारे जानकार गराउँछौं । त्यो काम कसरी गर्नुपर्छ भन्ने पनि हामीले बुझेका छौं ।

नोटबजार : निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र राख्ने तयारी भएका बेला एफएनसीसीआईले समाधानको पहल गर्नु पहिले नै नेपालले उद्योग परिसंघले बाजी मारेको अवस्थाले पनि यो संस्था कमजोर भएको देखिन्छ, यसलाई कसरी व्याख्या गर्नु हुन्छ ?

किशोर प्रधान : यस विषयमा गलत प्रचार भयो । निजी क्षेत्रलाई पनि अख्तियारको क्षेत्राधिकारभित्र राख्ने विषयलाई सम्बोधन गराउने विषयमा एफएनसीसीआईले नै नेतृत्व लिएर उद्योग परिसंघलाई समेत एक ठाउँमा ल्याएर यो हुनुहँुदैन भनेर सरकारसँग कुरा राख्ने काम गरेको हो । एफएनसीसीआईका वरिष्ठ उपाध्यक्षले नै नेतृत्व लिएर सीएनआईलाई साथमा लिएर त्यो नेगोसिएसन गरेको अवस्था हो । हामीले कुनै एक व्यक्तिमात्र नभई सामूहिक प्रयास गरेको हो । यसमा एफएनसीसीआई र सीएनआईको एकल नभई संयुक्त प्रयास भएको हो । यसमा दुवै संस्थाको उत्तिकै भूमिका छ ।

नोटबजार : एफएनसीसीआईका पदाधिकारी नै संलग्न रहेर भ्रष्टाचार हुने गरेको भन्ने किसिमका समाचारहरू आइरहेका छन्, तपाईंले चुनाव जित्नु नै भयो भने पनि यही समस्याको भुमरीमा हाम फाल्ने हो । अब भन्नुस् फेरि पनि महासंघमा नै यति धेरै मोह अनि संघर्ष किन ?

किशोर प्रधान : भ्रष्टाचारको हल्लाको कुरा गर्दा सम्माननीय प्रधानमन्त्री पनि आउँछन् । अहिलेको अवस्थामा मिडियाले वास्तविकताभन्दा टाढा रहेर सूचना प्रवाह गर्ने गरेको देखिन्छ । एफएनसीसीआईको अध्यक्षको विषयमा जुन कुरा भन्नुभएको छ । त्यो सरासर गलत कुरा हो । प्रक्रियामा काम गर्दा कति सफल र कति असफल भन्ने कुरालाई फिल्ड मै गएर हेर्न पर्ने हुन्छ । कसैलाई रिस उठ्यो र उजुरी हाल्यो भने तपाईं चोर हो भनेर भन्न मिल्छ र ? कुनै व्यक्तिलाई आरोप लगाउँदा न्यायिक चिरफार पछिको निर्णयलाई आधार मान्नु पर्ने हुन्छ । न्यायिक फैसला आफंैले गरेर कसैलाई पनि आरोप लगाउन हँुदैन । एफएनसीसीआईको कमीकमजोरी सुधार गरेर अघि लैजाने भन्ने हेतुले नै हामी आगामी नेतृत्वका लागि चुनाव लड्न लागेको हौं ।

नोटबजार : एफएनसीसीआईले जिल्ला नगरलाई चुनावको समयमा मात्र आश्वासन बाँडेर प्रयोग गर्ने परम्परा पहिलेदेखि नै बस्दै आएको छ । तपाई जिल्ला नगरको पृष्ठभूमिबाट आउँदै गर्दा यो राजनीति राम्ररी बुझ्नु भएको मान्छे, अब आफ्नो पालोमा यो अभ्यासलाई कसरी चिर्नु हुन्छ ?

किशोर प्रधान : तपाईंले भन्नुभएको कुरामा केही सत्यता होला । तर, हाम्रो टिमले आगामी दिनमा जिल्ला नगरको भित्र रहेको उत्साहलाई जागरण गराउने काम गर्ने हो । जिल्ला नगरमा भएका साथीहरूको क्षमतालाई बाहिर ल्याउन उत्प्रेरणा गर्ने हो । उहाँहरूको व्यावसायिकता विकास गर्ने हो । त्यसका साथै उहाँहरूमा भएको ज्ञान र सीपलाई वास्तविक रुपमा सदुपयोग गर्ने उद्देश्य छ । हाम्रो अध्यक्षको योजना पनि जिल्ला नगरलाई कसरी सिर्जनशील बनाउने भन्ने नै छ । एफएनसीसीआईको नयाँ तेतृत्वको योजना भनेको जिल्ला नगरका साथीहरुमा उत्साह जगाएर स्थानीय औद्योगिक विकास गरेर आर्थिक गतिविधिलाई चलायमान बनाउनेछ । यो योजना कार्यान्वयन गर्नका लागि हाम्रो टिम पूर्णरुपमा प्रतिबद्ध छ । यसका लागि साथीहरूले अवसर प्रदान गर्नुपर्ने हुन्छ । साथीहरूले दिएको अवसरलाई हामीले सदुपयोग गरेर उहाँहरूलाई निराश हुने वातावरण बनाउँदैनौं । मैले एफएनसीसीआईको उपाध्यक्ष भएर ५ वर्ष बिताउँदा यो क्षेत्रको सुधार, विकास र विस्तारका लागि दैनिक ८ घण्टाको समय दिएको अवस्था हो । संस्था तथा व्यवसायीको हितका लागि संस्थागत रुपमा आएका कुराहरूलाई मैले सधंै साथ दिएको अवस्था छ । संस्थाको गरिमा घट्ने वा व्यवसायीको मान मर्यादामा आउने कामका लागि विरोध गर्दै आएको छु ।

नोटबजार : चुनावी वातावरण तात्दै गर्दा एफएनसीसीआईका पूर्व तथा अहिलेका पदाधिकारी र महासंघमा चासो राख्नेहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

किशोर प्रधान : सबै उद्योगी व्यवसायी साथीहरूलाई मैले के अनुरोध गर्नु चाहन्छु भने अवसर दोहोरिएर आउँदैन । तपाईंहरूबाट मैले अमूल्य मतको आशा गरेको छु । अहिलेको अवस्थामा तपाईंको अमूल्य मत भनेको म र तपाईं दुवैका लागि अवसर हो । तपाईंहरूले अमूल्य मतदान गरेर मलाई जिताउनुभयो भने तपाईंहरूले नै जित्नुहुनेछ । तपाईंहरूले मलाई मतदान गरेर जिताउनुभयो भने उद्योगी व्यवसायीहरूको समस्या सुन्ने तथा समाधान गर्ने र यो क्षेत्रको विकास गर्नमा मेरो कार्यकाल पूर्णरुपमा सदुपयोग गर्नेछु । व्यवसायीका हक अधिकारको विषयमा बोल्ने तथा त्यसलाई स्थापित गराउनमा मैले खेल्ने भूमिका तपार्इंहरूले नै महसुस गर्न सक्ने खालको हुने पनि आश्वस्त पार्न चाहन्छु ।