महासंघको चुनावी सरगर्मी बढेसँगै पूर्वअध्यक्षहरुको साथ खोज्दै प्रत्यासी


नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि साधारण सभाको मिति नजिकिएसँगै महासंघको चुनावी सरगर्मी बढेको छ । यही साउन २६ र २७ गते हुने महासंघको ५४ औं साधारणसभाले महासंघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघको विद्यमान विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष बन्नेछन् भने वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष सहित महासंघको कार्यकारिणी पदका लागि निर्वाचन हुनेछ ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि निर्वाचनको सबैभन्दा आकर्षण वरिष्ठ उपाध्यक्ष पदका लागि हुनेछ । हाल उपाध्यक्ष रहेकाहरू नै वरिष्ठ उपाध्यक्षको दाबेदार देखिएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् । अहिले महासंघमा प्रधान जिल्ला र नगरतर्फका उपाध्यक्ष हुन भने ढकाल एसोसिएट्सतर्फका उपाध्यक्ष हुन् ।

किशोर प्रधानको प्यानलमा एसोसिएट्सतर्फको उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला र नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै ढकाल प्यानलको एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् ।

दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका उद्योगी व्यवसायीहरुले प्रचास प्रसारलाई समेत तीव्रता दिन थालेका छन् । विभिन्न प्रकारका औपचारिक तथा अनौपचारिक कार्यक्रम मार्फत दुवै टिमले आफ्नो टिमलाई बलियो देखाउन पूर्वअध्यक्षहरुको साथ खोज्न थालेका छन् ।

महासंघको निर्वाचनमा पूर्वअध्यक्षहरुको भूमिका महत्वपूर्ण हुने गरेको छ । यसैले पनि दुवै प्यानलले आफूलाई बलियो देखाउनका लागि पूर्वअध्यक्षहरुको साथ र समर्थन जुटाउन थालेका छन् । आफ्नो पक्षमा उभिएका पूर्वअध्यक्षहरु मार्फत नै मत माग्न तल्लिन छन् ।

अहिलेसम्मको चुनावी गतिविधिहरु हेर्दा भावी अध्यक्ष शेखर गोल्छाको समर्थन रहेको किशोर प्रधानको टिमलाई पूर्वअध्यक्षहरुको बढी समर्थन देखिएको छ । प्रधानका लागि पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, कुशकुमार जोशी र पशुपति मुरारकाले खुलेरै भोट माग्न थालेका छन् भने अहिलेसम्म चन्द्र ढकालको पक्षमा पूर्वअध्यक्ष चण्डीराज ढकाल मात्र खुलेर लागेका छन् । ढकाललाई पूर्वअध्यक्ष सुरज वैद्यको समर्थन रहेको बताइए पनि उनी अहिलेसम्म खुलेर लागेका छैनन् । ढकाल समूहको उम्मेदवारी घोषणा कार्यक्रममा समेत वैद्य उपस्थित थिएनन् ।

महासंघको वर्तमान अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष प्रदीपजङ पाण्डेको समर्थन समेत किशोरको टिमलाई नै देखिएको छ । यो टिममा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति रहेकाले पूर्वअध्यक्ष पद्यम ज्योतिको समर्थन समेत प्रधान टिमलाई नै रहने देखिन्छ ।

महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ सहमतिबाटै नेतृत्व चयन गरिने प्रयास असफल भएपछि आफू किशोर प्रधानको समूहमा लागेको स्वीकार गर्छन् ।

‘अहिले नेपालको वतर्मान अवस्था, महासंघको आजको दिनको अवस्था, निजी क्षेत्रको समस्या सरकारबाट गम्भीरतापूर्वक रुपमा लिनुपर्ने अवस्था छ । मुलुकको आर्थिक विकासका लागि सबै क्षेत्र एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था हो । पूर्वअध्यक्षहरुको बीचमा धेरैपल्ट छलफल भयो । मैले उहाँहरु दुवैजनासँग पटक–पटक कुरा गरे र दुवै जनापछि हट्न तयार नभएको बुझियो । यस्तो अवस्थामा चुनाव नै हुने भएपछि म किशोरजी र उहाँको टिमको समर्थनमा छु’ महासंघ पूर्वअध्यक्ष श्रेष्ठले भने ।

प्रधान टिमलाई समर्थन जनाएका महासंघका अर्का पूर्वअध्यक्ष कुशकुमार जोशी कोरोनाको कारणले थला परेको उद्योग व्यवसायलाई उकास्न महासंघलाई बलियो बनाउनुपर्ने बताउँछन् । ‘निजी क्षेत्र बलियो भयो भने मात्र हामीले काम गर्न पाउँछौ । निजी क्षेत्र बलियो भयो आर्थिक उन्नति हुन्छ । महासंघलाई बलियो बनाउन भावी अध्यक्षको समर्थन रहेको टिमलाई नै सघाउनुपर्छ, पूर्वअध्यक्षहरु पनि यही टिमलाई सशक्त बनाउन लाग्नुपर्छ’ जोशीले भने । ‘यदि निजी क्षेत्र बलियो हुँदैन भने हामी नेपालमा काम गर्न सक्दैनौं । त्यसैले आउँदै गरेकोे यो सशक्त टिमलाई सबैले मिलाउँछ । यसले महासंघको गर्व, मर्म, आफ्नो अस्तित्व सरकारसँग छलफल गरेर आफ्नो अस्तित्व देखाएर व्यवसाय गर्ने वातावरण बनाउन सक्नुपर्छ ।’

यसअघि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई चुनाव जिताउने अभियानको नेतृत्व गरेका महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल अहिले शेखर टिमलाई हराउने अभियानमा लागेका छन् । ढकालले आफूले विगतमा चुनाव जिताएको र जितेका मान्छेले प्रतिबद्धता पूरा नगरेपछि महासंघको गरिमा बढाउनका लागि चन्द्र ढकालको टिमले निर्वाचन जित्नुपर्ने उनको भनाई छ । महासंघको नेतृत्वले आफ्ना सदस्यहरुलाई दिनुपर्ने सेवा र उनीहरुको अपेक्षालाई पूर्णता दिन सक्नुपर्ने उनको भनाई छ । ‘निजी क्षेत्रका समस्यालाई भन्दा महासंघमा आफ्ना व्यक्तिगत कुण्ठा, भावना र स्वार्थलाई अगाडि सार्ने प्रवृत्तिको जन्म भएको छ । यस्तो अवस्थामा हिजोको अस्थिर राजनीतिक अवस्थामा महासंघले गरेका कामहरुलाई निरन्तरता दिन सक्ने नेतृत्व आवश्यक छ ।

‘ढकाल नेतृत्वको टिममा महासंघको गरिमालाई आधार बनाएर निजी क्षेत्रको सवालमा आफूहरुलाई एकरूपमा सशक्त बनाएर उभिएका धेरै साथीहरुको समर्थन भएकाले पनि ढकाल टिमलाई जिताउनुपर्छ’ ढकालले भने । महासंघमा सक्षम नेतृत्व आओस् भन्ने पक्षमा आफू रहेको उनको भनाई छ ।

महासंघका अर्का पूर्वअध्यक्ष पशुपति मुरारकका पनि महासंघको कामलाई परिणाममुखी बनाउन गोल्छा र प्रधानको टिमलाई महासंघको नेतृत्वमा पुर्याउनुपर्ने बताउँछन् । मुरारका भन्छन्, ‘सबैले अध्यक्ष निश्चित भइसकेका शेखर गोल्छाजीलाई काम गर्न सजिलो हुने गरी टिम बनाउन सघाउनुपर्छ । त्यसो भयो भने उहाँले काम गर्न पाउनुहुन्छ । परिणाम देखाउन पाउनुहुन्छ । अध्यक्ष शेखरजीलाई बनाउने र अर्कै तिरबाट अर्कै ध्रुवको मान्छेलाई ल्याएर टिम बनाउने हो भने गोल्छाजीले काम गर्न र परिणाम देखाउन सक्नुहुन्न । त्यसैले शेखरजीबाट परिणाम चाहिन्छ भने उहाँले छानेका मान्छेलाई भोट दिएर महासंघको नेतृत्वमा ल्याउन आवश्यक छ । किनभने उहाँ काम गर्न सक्ने मान्छे हो । शेखरजीले चाहेको टिम बनाइसकेपछि पनि काम गरेर देखाउन सक्नु भएन भने हामीले उहाँलाई प्रश्न गर्नुपर्छ, कि किन काम गर्न नसकेको ?’ मुरारका भन्छन् ।

यता चन्द्र ढकाल समूहको वस्तुगत तर्फका उम्मेदवार उमेशलाल प्रधान अन्य पूर्वअध्यक्षहरु खुलेर नलागे पनि आफ्नो टिममा पूर्वअध्यक्ष चण्डी ढकाल र थुप्रै अग्रहजहरुले समर्थन रहेको दाबी गर्छन् । ‘असल मान्छेको साथमा एक जनाको साथ भए पुग्छ’ प्रधान भन्छन् ।

‘महासंघमा पूर्वअध्यक्षहरुको महत्वपूर्ण योगदान छ, उहाँहरु सम्मानित हुनुहुन्छ, उहाँहरु नभएको भए उद्योग वाणिज्य महासंघ आज यो ठाउँमा हुने थिएन । तर, पूर्वअध्यक्षहरुलाई एउटा वैधानिक रुप दिएर पूर्वअध्यक्ष मण्डल बनाएर राख्दा अन्यन्त राम्रो हुन्छ । यो कुरा बारम्बार उठाउँदै आएकोे छु, आशा छ हामी जितेर आएपछि यो काम गर्छौं । महासंघमा पूर्वअध्यक्षहरुको हस्तक्षेप राम्रो होइन’ प्रधानले भने ।

यसरी चुनावी मैदानमा उत्रिएका प्रत्यासीहरुले आफ्नो पक्षमा मत तान्न लबिङलाई तिब्र बनाउँदै गर्दा महासंघको इतिहासलाई पनि उत्तिकै ख्याल गर्दै महासंघको छवीलाई पनि ध्यान दिनु पर्ने हुन्छ । ५४ वर्षे यात्रामा क्रमिक रुपमा छवी कमजोर बन्दै गएको अवस्थालाई अहिलेका प्रत्यासीहरुले चुनावी मैदानका बेला देखि नै ध्यान दिँदै अघि बढ्नु पर्ने हुन्छ । अहिलेसम्म १८ जनाले नेतृत्व गरिसकेको महासंघका केही पुर्व अध्यक्षहरु अहिले चुनावी सरकर्मीको आकर्षण बनिरहेका छन् ।

अहिलेसम्म को को बने अध्यक्ष अध्यक्ष, कसको कार्यकाल कति ?

हालसम्म महासंघमा १८ जना अध्यक्षहरुले आफ्नो कार्यकाल पुरा गरिसकेका छन् । पशुपति गिरी जसले महासंघको दुईपटक नेतृत्व गरिसकेका छन् । उनले वि.सं. २०२८ देखि २०३२ र वि.सं. २०३८ देखि २०४४ सालसम्म नेतृत्व गरेका थिए । लोकनाथ जोशी देखि भवानी राणासम्म आइपुग्दा महासंघको नेतृत्व सम्हालेकाहरुको सूची यस्तो छ :

 
१ लोकनाथ जोशी वि.सं २०२२ देखि २०२४

२ जुद्ध बहादुर श्रेष्ठ वि.सं २०२४ देखि २०२८

३ पशुपति गिरी वि.सं २०२८ देखि २०३२० र वि.सं २०३८ देखि २०४४

४ हरिप्रसाद गिरी वि.सं २०३२ देखि ३०३५

५ इन्द्र भक्त श्रेष्ठ वि.सं २०३५ देखि २०३८

६ महेशलाल प्रधान वि.संं २०४४ देखि २०५०

७ विनोद कुमार चौधरी वि.संं २०५० देखि २०५२

८ पद्य ज्योती वि.संं २०५२ देखि २०५४

९ आनन्दराज मुल्मी वि.संं २०५४ देखि २०५६

१० प्रदिपकुमार श्रेष्ठ वि.संं २०५६ देखि २०५८

११ रविभक्त श्रेष्ठ वि.सं २०५८ देखि २०६०

१२ विनोद बहादुर श्रेष्ठ वि.सं २०६० देखि २०६२

१३ चन्ढीराज ढकाल वि.सं २०६२ देखि २०६४

१४ कुशकुमार जोशी वि.संं २०६४ देखि २०६७

१५ सुरज बैद्य वि.सं २०६७ देखि २०७०

१६ प्रदिप जंग पाण्डे वि.संं २०७० देखि २०७१

१७ पशुपति मुरारका वि.सं २०७१ देखि २०७३

१८ भवानी राणा वि.सं २०७३ देखि २०७७

१९ शेखर गोल्छा वि. सं २०७७ देखि आगामी ३ वर्ष