हामी पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गर्यौं


वित्त, व्यापार, व्यवसाय र मुद्रा बजारका साथै समग्र अर्थतन्त्रका विषयमा तथ्यपरक समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ उपस्थिति जनाएका हामी पहिलो वर्ष पूरा गरी २०७७ साउन १ गतेदेखि दोस्रो वर्षमा प्रवेश गरेका छौं ।

कुनै पनि कामको सुरुवात हुनु अनि त्यसलाई मलजल गर्दै अघि बढाउनु सबैभन्दा ठूलो चुनौतीको विषय हो । अझ कोरोना भाइरसको महामारीले विश्वलाई असर पारिरहेका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । त्यसको असर मुलुकभर परिरहेका बेला नोटबजार डटकम पनि त्यसबाट अछुतो रहेन । यसका बाबजुद पनि नोटबजार डटकमले आफ्नो व्यावसायिक कर्तव्यलाई दृढताका साथ निर्वाह गर्दै एक वर्षे यात्रा पार गरेको छ ।

नोटबजार प्रालिद्वारा सञ्चालित यस नोटबजार डटकमले सीमित स्रोत र साधनको अधिकतम सधुपयोग गर्दै तथ्य र तथ्यांकमा आधारित रहेर आम पाठकहरुलाई अर्थतन्त्रका विविध पक्षहरु पस्किँदै आइरहेको छ । यो क्रमलाई थप परिस्कृत र मजबुत बनाउँदै लैजाने लक्ष्य अनुरुप तयारी भइरहेको छ । यसका लागि गरिनुपर्ने प्राविधिक कामहरु भइरहेको अवस्थामा अहिले पनि नोटबजारले समसामयिक विषयमा सत्य तथ्यमा आधारित समाचार तथा विषयहरु यहाँहरु समक्ष पस्किँदै आइरहेको छ ।

यस क्रममा सञ्चालनमा आएको एक वर्ष भित्रै नोटबजार डटकम नेपालमा हेरिने समग्र वेब पोर्टलहरुको सूचीमा ३०० स्थान भित्र पर्न सफल भएको छ । विशुद्ध समाचारमुलक वेब पोर्टलहरुको सूचीमा नोटबजार १०० स्थानभित्र र आर्थिक समाचारमुलक अनलाइनको सूचीमा शीर्ष १० भित्र पर्न सफल भएको खुसी यहाँहरु समक्ष बाँड्न पाउँदा अत्यन्तै उत्साहित बनेका छौं ।

आगामी दिनमा नोटबजारले विभिन्न क्षेत्रका तथ्यांकहरु प्रशोधन गर्दै तथ्यांकमा आधारित सामग्रीहरु यहाँहरु समक्ष ल्याउने प्रतिबद्धता जनाउन चाहन्छौं । टिम बिस्तार नगरी कुनै पनि कामले पूर्णता नपाउने भएकाले असहज परिस्थितिका बीचमा पनि हामीले पहिलो वार्षिकोत्सवको अवसर पारेर नोटबजार परिवारमा तीन जना नयाँ अनुहारलाई सदस्यका रुपमा भित्र्याएका छौं । यसबाट नोटबजारको अहिलेको कार्य सम्पादनमा अझै चुस्तता आउने र विश्वसनीय सञ्चार माध्यमका रुपमा विकास हुनेमा हामी विश्वस्त छौं ।

नन्दलाल आम्गाई, जो कान्तिपुर मिडिया ग्रुपमा २ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्थ्यो, आजदेखि उहाँ नोटबजार परिवारको सदस्य बन्नु भएको छ । कान्तिपुर मिडिया ग्रुपले प्रकाशन गर्दै आएको साप्ताहिकमा झण्डै २० वर्ष बिताउनु भएका आम्गाईले नोटबजारमा भाषा तथा डेस्कको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

त्यसैगरी डेढ दशकदेखि सञ्चार क्षेत्रमा आवद्ध कबिराज लम्साल पनि आजदेखि नै नोटबजार परिवारको सदस्य बन्नु भएको छ । नागरिक दैनिकको स्थापनाकालदेखि सक्रिय रहँदै आउनु भएका लम्साल बिजमाण्डु डट कममा पनि स्थापनाकालदेखि आबद्ध हुनुहुन्थ्यो । नेपालको अनलाइन मिडिया क्षेत्रकै पहिलो बजार प्रतिनिधिको रुपमा परिचय बनाउनु भएका लम्सालले नोटबजार डटकममा प्रमुख बजार व्यवस्थापकको भूमिका निभाउनु हुनेछ ।

त्यसैगरी पछिल्लो ४ वर्षदेखि पत्रकारितामा सक्रिय तीर्थराज पौड्याल पूँजी बजारका साथै प्रशासनिक विषयमा कलम चलाउन रुचि राख्नुहुन्छ । विभिन्न अनलाइन सञ्चार माध्यममा समग्र विषयमा कलम चलाउनु भएका पौड्याल पछिल्लो समय मेरो लगानी डटकममा उपसम्पादकका रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को बागमती प्रदेशका सचिव समेत रहनु भएका पौड्यालले आजदेखि नै नोटबजारमा वरिष्ठ संवाददाताको रुपमा भूमिका निभाउनु हुनेछ ।

यसअघि नै नोटबजार डटकममा स्थापनाकालदेखि सुरेन्द्र थापाले समाचार संयोजकको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । झण्डै डेढ दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आउनु भएका थापा यसअघि मेरोलगानी डटकममा स्थापनाकालदेखि उपसम्पादकको रुपमा काम गर्दै आउनु भएको थियो ।

समाचार कक्षका साथीहरुसँगै अन्य विभागमा कार्यरत सहकर्मी सार्थीहरुको अथक मेहनत र श्रमबाट नै नोटबजारले उत्साहजनक रुपमा आफ्नो पहिलो वार्षिकोत्सव मनाउन सकेको छ । सफलताको शिखर चुम्ने हाम्रो अभियानमा सबैभन्दा महत्वपूर्ण योगदान तपाई पाठकहरुको छ । हामीले पस्किएका सामग्रीहरु रुचाई दिँदै आगामी दिनमा अबलम्बन गर्नुपर्ने कार्यशैली, कमीकमजोरी औंल्याई सुझाव दिनु हुने आम पाठकहरुलाई विशेष धन्यवाद दिन चाहन्छौं ।

सञ्चार संस्था सञ्चालनका दौरानमा विज्ञापन बजारको उत्तिकै महत्व हुन्छ । हामीलाई यो एक वर्षे यात्रामा आ–आफ्नो स्थानबाट विज्ञापनहरु उपलब्ध गराई आगामी दिनका लागि मार्ग निर्देशन गर्नु हुने समग्र व्यावसायिक प्रतिष्ठान तथा संस्थाहरुलाई विशेष धन्यवाद दिन चाहन्छौं ।

आगामी दिनमा नोटबजारले अहिलेको सञ्चार क्षेत्रमा बाँकी रहेका भ्याकुमहरुलाई प्राथमिकतामा राखेर फरक शैलीमा काम गर्दै लैजाने प्रतिबद्धता पनि जनाउन चाहन्छौं । सोच र वास्तविक संसारको प्रारुप फरक हुने भएकाले कतिपय योजनाहरु निर्धारित समयमा कार्यान्वयन हुन नसक्नु स्वभाविक हो । यसका बाबजुद पनि नोटबजार डटकमले अझै केही गरेर देखाउने अभियानलाई शिरोधार्य गर्दै जानेछ । हाम्रो यो यात्रामा तपाईं पाठकहरु, विज्ञापनदाता, शुभचिन्तक लगायत सबैको सकारात्मक अनि रचनात्मक भूमिकाको अपेक्षा गरेका छौं ।

–परमेश्वर अधिकारी, सम्पादक