अनलाइन प्रणालीको कमजोरीले हचुवामै लगानीको निर्णय गर्दै लगानीकर्ता


नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनलाइन कारोबार प्रणालीमा समस्या आउँदा शेयर लगानीकर्ताले ‘मार्केट डेफ्थ’को अध्ययन बिनै शेयर खरिद बिक्रीको निर्णय गर्नु परेको छ । बजारको रियल टाइमलाई विश्लेषण गरेर लगानीको निर्णय गर्न नपाउँदा लगानीकर्ताले हचुवाको भरमा कारोबार गर्नु परेको हो ।

लगानीकर्तालाई घरबाटै कारोबार गर्न सक्छन् भन्ने दाबी सहित सञ्चालमा आएको अनलाइन प्रणालीमा बारम्बार समस्या आउने गरेको छ । कारोबार प्रणालीमा समस्या आउँदा लगानीकर्ताले बजारको अवस्थालाई अध्ययन नै नगरी कारोबार गर्न बाध्य भएको गुनासो गर्दै आएका छन् ।

अनलाइन कारोबार प्रणालीका सम्बन्धमा लगानीकर्ताहरुले प्रयोगकर्तामैत्री नभएको भन्दै सुधारको आवाज उठाइरहेका छन् । १८ करोड रुपैयाँभन्दा बढी लगानीमा नेप्सेले तयार पारेको अनलाइन कारोबार प्रणाली चुस्त नहुँदा लगानीकर्ताहरु कारोबार प्रक्रियामा सहभागी हुन समस्या रहने गरेको गुनासो छ ।

“घरबाट कारोबार गर्न भनेर अनलाइन युजर आईडी लिएको शेयरको कारोबार नै गर्न सक्ने अवस्था छैन,” एक लगानीकर्ताले भने, “अनलाइन मार्फत शेयर किनबेच गर्न खोज्दा मार्केट डेप्थ नै देखिँदैन, बजारको अवस्था अध्ययन नगरी कारोबार गर्नुपर्ने जोखिम झनै बढेको छ ।” अनलाइन प्रणालीबाट शेयर किन्ने र बेच्नेका बीचमा सम्पर्क स्थापित हुन पनि नसकिरहेको ती लगानीकर्ताको भनाइ छ । शेयर बजारमा आएको तीव्र सुधारसँगै लगानीकर्ताको सहभागिता समेत उल्लेख्य रुपमा बढेको छ ।

अनलाइन कारोबार प्रणालीमा विगतदेखि कै समस्या समाधान नसकेको अवस्थामा प्रयोगकर्ता बढेकाले समस्याहरु झनै बढेका छन् । हालको अवस्थामा अधिकांश लगानीकर्ता अनलाइन प्रणालीको पहुँचभन्दा बाहिर छन् भने नियमित रुपमा अनलाइन प्रयोग गरिरहेकाहरु पनि अचानक टीएमएसबाट लगआउट हुने, निर्धारित समयमा तथ्याङ्क हेर्न नसक्ने लगायत समस्याका कारण लगानीको निर्णय गर्न सकेका छैनन् ।

अनलाइन कारोबार प्रणाली भए–नभएकोमा कुनै फरक नपरेको लगानीकर्ता दीपेन्द्र अग्रवाले बताए । “बजारमा दुई पटक सर्किट लाग्यो तर चाहे अनुसार कारोबार गर्न सकिएन,” उनले भने, “यो प्रणालीको पुनर्संरचना जरुरी छ ।”

सोमबार धेरै लगानीकर्ताले शेयरको खरिद बिक्री अर्डर मूल्य देख्न पाएनन् । अर्का एक लगानीकर्ताले बजार कता गइरहेको छ भन्ने अत्तोपत्तो नै नभई बिक्री गरेको बताए । मार्केट डेफ्थमा कुनै डाटा नआउँदा तासमा ब्लाइण्ड खेलेजस्तो महसुुस गरेको ती लगानीकर्ताको भनाई छ ।

आरोप र प्रत्यारोपको श्रृङ्खला

अनलाइनको समस्याका सम्बन्धमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले डाटा सिष्टममा परेको लोडका कारण पछिल्ला दिनमा केही समस्या आएको हुन सक्ने बताउँछन् । अनलाइन प्रणाली आफैंमा कमजोर नरहेको बताउने साउदले शेयर ब्रोकरहरुले टीएमएसका हार्डवेयर तथा सर्भरमा सुधार गर्नुपर्ने बताए ।

“अहिले ब्रोकर साथीहरुले हार्डवेयर तथा सर्भर संयुक्त रुपमा चलाई रहनु भएको छ,” साउदले भने, “अहिले बजारमा अनलाइनको प्रयोग गरेपछि ब्रोकरको सर्भरमा धेरै हिट आउँदा समस्या देखिएको होला, त्यसलाई सुधार गर्न अब ब्रोकरहरुले लगानी बढाउँदै एकल प्रणाली सञ्चालन गर्न सक्नुपर्छ ।”

सोमबार बजारमा २ पटक सर्किट ब्रेक लागेपछि लयमा आएको बजारमा २ अर्ब ८० करोड रुपैयाँको कारोबार भयो । यद्यपि धेरै लगानीकर्ताहरु शेयर कारोबारबाट बञ्चित रहे । कारोबार गर्नेहरुले पनि विभिन्न किसिमका समस्याहरु भोग्न प¥यो ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पछिल्ला दिनमा अनलाइनका प्रयोगकर्ता बढेको र बजारलाई चलायमान बनाउन उनीहरुको धेरै भूमिका रहेको बताए । अनलाइनका प्रयोगकर्ताले वास्तबिक अनलाइन चलाउन नसकेको उनले स्वीकार गर्छन् ।

“नेप्सेले टीएमएस बनाएर ब्रोकरहरुलाई दिएको हो”, रानाभाटले भने, “त्यसमा कस्टम फिचर छैनन्, जसका कारण हामीले चाहेको जसरी समस्याहरु समाधान गर्न सक्दैनौ ।” हामीलाई अपरिपक्व साधन दिएर सुधार गर भन्नु न्यायसंगत नभएको समेत उनले गुनासो गरे । अहिलेको समस्या हार्डवेयर तथा सर्भरको नभई हाम्रो तर्फको काम हाम्रो जिम्मामा छाड्ने अवस्था बनाएर दिन अनुरोध गरिरहेको समेत उनले बताए । “कमजोरी नेप्सेको पनि छ, अनलाइनलाई चुस्त बनाउन अझै धेरै गृहकार्य गर्नुपर्ने हुन्छ त्यसमा हाम्रो सहयोग रहन्छ,” रानाभाटले भने, “अहिले ब्रोकरलाई दिइएको टीएमएसको सञ्चालन पनि वाइकोले गर्दै आएको छ ।”

अनलाइन प्रणालीको विकास गरेको वाइको प्रालि पनि समस्याका बारेमा प्रष्ट धारण राख्न सक्ने अवस्थामा छैन । वाइकोका प्रमुख दीपेश प्रधान पछिल्ला दिनमा अनलाइनमा आएको समस्या समाधान गर्दै जाने बताउँछन् । लगानीकर्ताले सहज किसिमले अनलाइनको प्रयोग गर्न नसकेको, मार्केट डेफ्थदेखि डीएनएससम्मका विविध समस्या बढेको सम्बन्धमा भने, “उनी ब्रोकरहरुले सर्भर सेयरिङ गरेकाले अनलाइन प्रयोगकर्ता बढेपछि लोड धेरै परेकाले समस्या आएको हो ।” डाटा सेन्टरको उचित व्यवस्था नभएका कारण समस्या बढ्दै गएको बताएका उनले प्रणाली ढिलो भएको स्वीकार गरे । यो समस्या समाधानका लागि सबैसँग छलफल सुरु गरिएको र क–कसको भूमिका के रहने भन्ने कुरा आएपछि अघि बढ्ने समेत उनले बताए ।