शेयर बजार परिसूचक मापक नेप्से मंगलबार १.०२ प्रतिशत अर्थात १४.९९ अंकले घटेको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि ९३ करोड रुपैयाँको गिरावट आएको छ।
सुरुको २ घण्टा उतारचढावपूर्ण रहेको बजारमा त्यसपछिको दुई घण्टा निरन्तर बजार घट्दा सूचक र कारोबार रकम दुबै घट्न पुगेको हो। यससँगै १ हजार ४४९.९४ बिन्दुमा बन्द भएको नेप्सेमा ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.८३ प्रतिशत अर्थात २.५६ अंकले घटेर ३०७.०५ अंकमा झरेको छ।
सोमबार २ अर्ब ८० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ८७ करोड २२ लाख २० हजार ४४७ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। आज १८५ कम्पनीका ४९ लाख ७६ हजार कित्ता शेयर २६ हजार ६४१ पटक खरीद बिक्री भएका छन्।
आज तीन कम्पनीमा सकारात्मक र दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो। पाँच वटै कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले घटबढ भई सर्किट लागेको हो। आज ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११५ कम्पनीको शेयरमूल्य घटेको छ।
एनआईसी एशिया, श्रीराम सुगर मिल्स, र समृद्धि फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। हिमाल दोलखा हाइड्रोपावर र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको हो।
आजको बजारमा हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ। कम्पनीको १४ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यसैगरि एनएमबि बैंकको १३ करोड ९७ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४२ लाख, एनआईसी एशिया बैंकको ११ करोड ४४ लाख र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस्तै नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, एनसीसी बैंक र एभरेष्ट बैंकको पनि शीर्ष दश ठूलो कारोबार भएको छ। दशौं स्थानमा रहेको एभरेष्ट बैंकको ३ करोड ५८ लाख बढीको शेयर खरीद बिक्री भएको छ।
कारोबार संख्याको आधारमा एनआईसी एशिया लघुवित्तको सबैभन्दा धेरै ३ हजार २४४ वटा कारोबार भएको छ। कारोबार भएको शेयर कित्ताका आधारमा एनएमबि बैंकको सबैभन्दा धेरै ३ लाख १६ हजार ८३ कित्ता शेयर कारोबार भयो।
आज कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ८ घटेका छन् भने ४ वटा घटेका छन्। होटलको सूचक सबैभन्दा धेरै ५.८३ प्रतिशतले बढेको छ भने ब्यापार २.५६, उत्पादन तथा प्रशोधन २.७०, र म्युचुअल फण्डको ०.६ प्रतिशतले बढेको छ।
उता जलविद्युत उपसमूहको सूचक २.१४ प्रतिशतले घटेको मंगलबारको बजारमा बैंकिङ्ग र जीबन बीमाको सूचक पनि १ प्रतिशत धेरैले घटेका छन्। विकास बैंक, वित्त, निर्जीबन बीमा, अन्य र लघुवित्तको सूचक पनि ऋणात्मक बनेका छन्।
प्रतिक्रिया