अब उद्योग वाणिज्य महासंघको निकास के ? कहिलेसम्म ‘पेन्डुलम’ !

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गतेका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित हुने अवस्थामा पुगेको छ । आजै बस्ने महासंघको पदाधिकारी बैठकले साधारण सभा स्थगित गर्ने प्रबल सम्भावना छ ।

सरकारले लकडाउन खुला गरे पनि सामूहिक भोज, पार्टी, सेमिनार तथा सामूहिक भेला गर्न रोक लगाएका कारण महासंघ नेतृत्व साधारण सभा स्थगित गर्ने मुडमा पुगेको हो ।

महासंघकी अध्यक्ष भवानी राणाले यस सन्दर्भमा ठोस निर्णय लिन नसकेपछि पूर्व अध्यक्षहरुलाई गुहार्न पुगेकी हुन् । उनले यस विषयमा निर्णय लिन बिहीबार पूर्वअध्यक्षहरु सहित पदाधिकारी बैठक डाँकेकी हुन् । ‘सरकारले पूर्णरुपमा लकडाउन सकिएको घोषणा गरे पनि सामूहिक भेला गर्न रोक लगाएकाले महासंघको चुनाव गर्न नसकिने भन्दै पूर्वअध्यक्ष सहितको बैंठक बोलाएको महासंघका एक पदाधिकारीले बताए ।

साधारण सभा र निर्वाचनको विषयलाई लिएर महासंघमा प्रष्ट ध्रुवीकरण देखिएको छ । साधारण सभा स्थगित गर्ने कि वैकल्पिक उपायबाट गर्ने भन्ने बहसहरु समेत चल्न थालेको छ ।

महासंघको आज बस्ने पदाधिकारी बैठकले साधारण सभा स्थगित गरेमा असोज अघि महासंघको साधारण सभा टर्ने देखिन्छ । महासंघको विधानमा नै साधारण सभा डाक्नु अघि कम्तीमा ३० दिन अघि सूचना जारी गर्नुपर्ने हुन्छ । आजको पदाधिकारी बैठकले चुनाव सार्ने निश्चित जस्तै छ । चुनावी माहोल तात्दै गर्दा चुनाव सार्ने र नसार्ने पक्ष विपक्षमा पनि उद्योगी व्यवसायीहरु खुलेर लागेका छन् ।  

सरकारले काठमाडौं उपत्यका छिर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको, आन्तरिक हवाई उडान पनि भदौ १ गतेदेखि मात्रै खुल्ने, कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको र सहज रुपमा आवत–जावत पनि गर्न नसकिने अवस्था भएकाले व्यवसायीको स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता देखाउँदै महाधिवेशन केही पर सार्ने निर्णय गर्न पदाधिकारी बैठक बोलाइएको संस्थापन निकट एक व्यवसायीले बताए ।

महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालले अहिले पनि कार्यसमितिले बाधा अड्काउ फुकाउ गर्न सक्ने बताउँछन् । तर, यसको मतलब विधानको दफा–दफामा लेखिएका कुराहरुलाई पदाधिकारी समिति, स्थायी समिति वा कार्यसमितिले सबै फुकाउन सक्छ भन्ने पनि होइन् । तथापि अहिलेको विषम परिस्थितिलाई हेरेर साउन २६ र २७ मा साधारण सभा र निर्वाचन हुन्छ नै भन्ने पक्षमा हामी छौं, उनले भने ।

विगत चार महिनादेखि महासंघ निर्वाचनको प्रक्रियामा गइसकेकाले अनिर्णयको बन्दी बनाइन नहुने उनको तर्क छ । अहिले कोही न्यायिक पक्षमा गएको छैन । यदि भोलि त्यो अवस्था आयो भने अर्को दुर्घटना निम्त्याउन सक्छ । त्यसैले अब तोकिएको मितिभित्र निर्वाचन गरेर निर्वाचित कार्यसमिति अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रमा देखा परेका समस्याको समाधान गर्नेतर्फ अग्रसर हुनुपर्छ, ढकालले भने ।

तर, महासंघका अर्का एक पूर्वअध्यक्षले सरकारले लकडाउन हटाए पनि सभा सम्मेलन गर्न अनुमति खुला नगरेको र २५ जनाभन्दा बढी भेला भएर कुनै पनि कार्यक्रम गर्न नपाइने नियम लागू रहेसम्म तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताउँछन् । यस विषयमा पदाधिकारी बैठकले उपयुक्त निर्णय लिने विश्वास व्यक्त गरे ।

आज बस्ने पदाधिकारी बैठकले निर्वाचन सारेमा महासंघमा लामो समयसम्म नेतृत्व पेन्डुलममा रहनेछ । निर्वाचन घोषणा भइसकेकाले अहिलेको नेतृत्वले कुनै पनि महत्वपूर्ण निर्णयहरु गर्न सक्दैन । कोरोनाले ग्रस्थ बनेको अर्थतन्त्र उकास्न महासंघ एकबद्ध भएर अघि बढ्नुपर्ने बेलामा महासंघ नेतृत्व नै कमजोर हुँदा उद्योगी व्यवसायीका समस्याहरु समाधान नहुने तर्क पनि आउन थालेका छन् ।

केही पदाधिकारीहरु वैकल्पिक माध्यमबाट पनि महासंघको साधारण सभा र निर्वाचन गर्नुपर्ने बताउँछन् । भर्चुअल माध्यमबाट भए पनि नेतृत्व छनौट गर्नुपर्ने महासंघका अर्का एक पदाधिकारी बताउँछन् । महासंघलाई काम गर्न नसक्ने अवस्थामा राख्नु भनेको उद्योगी व्यवसायीहरुको समस्याहरु जस्ताको तस्तै राख्नु हो। यसलै सरकारसँग अनुरोध गरेर हुन्छ, कि अन्य वैकल्पिक उपायबाट हुन्छ, नयाँ निर्वाचनको वातावरण बनाउनुपर्छ, नेतृत्व चयन गर्नुपर्छ ती पदाधिकारीले भने।

तत्कालकै महासंघको साधारण सभा र निर्वाचन गर्ने अवस्था नहुँदाको अवस्थामा महासंघलाई निकास दिन महासंघले ऐतिहासिक निर्णय लिन सक्नुपर्ने तर्कहरु पनि आउन थालेका छन् । अहिलेको नेतृत्व अधिकारविहीन जस्तै भएको अवस्थामा भावी अध्यक्षलाई काम गर्ने वातावरण बनाउनुपर्ने आवाजहरु पनि सुनिन् थालेका छन् ।

यथास्थितिमा महासंघको चुनाव गर्ने अवस्था नरहेमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघको नेतृत्व गर्न दिनुपर्ने एक पदाधिकारीको भनाई छ । शेखर गोल्छाजी अबको अध्यक्ष हो, महासंघ नेतृत्वलाई पेन्डुलममा राखेर बस्नुभन्दा वर्तमान कार्यसमितिलाई राजीनामा गर्न लगाएर गोल्छालाई नेतृत्व छाड्नुपर्ने ती पदाधिकारी बताउँछन् । संकटको अवस्थामा निकास खोज्ने हो, गोल्छा भावी अध्यक्ष हो, उहाँलाई काम गर्ने वातावरण मिलाइदिनुपर्छ, उनले भने ।

सरकार पछिको ठूलो सञ्जाल भएको महासंघ नेतृत्वले अहिलेको परिस्थितिमा उचित निर्णय लिन नसकेमा महासंघ अन्य संस्थाहरुको पछि लाग्नुपर्ने अवस्था समेत आउने देखिन्छ । कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीलाई राहत उपलब्ध गराउने सन्दर्भमा, जिल्ला नगर तथा साना मझौला व्यवसायीहरुले खेप्नु परेका समस्या समाधानका विषयमा नयाँ नेतृत्व चयन नभइन्जेल कसले पहल गर्ने चिन्ता र चासो पनि व्यवसायी जगतमा देखिएको छ ।

यसअघि महासंघले विधान अनुसार गत चैत २८ र २९ गते साधारण सभा गर्ने तय गरेको थियो । तर, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सरेको थियो । सरकारले असार १ गतेदेखि क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेपछि महासंघले साउन २६ र २७ गतेका लागि ५४ औं वार्षिक साधारण सभा बोलाएको थियो । उक्त मितिमा निर्वाचन गर्न वरिष्ठ उपाध्यक्षका दुई प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रचार–प्रसारमा होमिएका थिए ।