बीमा कम्पनीहरुद्वारा १ करोड बढी बीमा लेख जारी, गत आवमा १ खर्ब २० अर्ब बीमाशुल्क संकलन

0
Shares

नेपालमा सञ्चालित बीमा कम्पनीहरुले १ करोड बढी बीमालेख जारी गरेका छन्। बीमा समितिको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब २० अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा जीबन र निर्जीबन बीमा कम्पनीहरुले कूल १ करोड १ लाख ६३ हजार ६९६ वटा बीमालेख जारी गरेका हुन्। जसमध्ये जीबन बीमा कम्पनीले जारी गरेको लेखको संख्या ७९ लाख ५७ हजार ३५८ रहेको छ भने निर्जीबन बीमा कम्पनीले जारी गरेको बीमालेखको संख्या २२ लाख ६ हजार ३३८ वटा रहेको छ।

कूल एक खर्ब २० अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्कमध्ये १९ जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३८ करोड र १९ निर्जीवन बीमा कम्पनीहरुबाट २५ अर्ब ८७ करोड रुपैयाँ संकलन भएको हो। निर्जीवन बीमा कम्पनीहरु तथ्याङ्क राष्ट्रिय बीमा कम्पनी बाहेकको हो ।

जीबन बीमातर्फ नेपाल लाइफको सबैभन्दा धेरै २८ अर्ब ३९ करोड बीमाशुल्क संकलन गरेको छ भने र निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सको ३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। बीमालेखमा पनि नेपाल लाइफले १३ लाख ७ हजार ६१६ वटा बीमालेख जारी गरेको छ भने शिखर इन्स्योरेन्सले २ लाख ४९ हजार ५७४ वटा बीमालेख जारी गरेको छ।

जीबन बीमातर्फ दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको एलआईसी नेपालले १५ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले ९ अर्ब २१ करोड र राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ५ करोड कूल बीमा शुल्क संकलन गरेको छ ।

निर्जीबन बीमातर्फ दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको सगरमाथा इन्स्योरेन्सले २ अर्ब १९ करोड र तेस्रो नेको इन्स्योरेन्सले २ अर्ब ७ करोड रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ। यसैगरि सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन जनरल, आइएमई जनरल, लुम्बिनी जनरल, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, दी ओरियन्टल इन्स्योरेन्सले १ अर्बमाथि कुल बीमाशुल्क संकलन गरेका छन् ।

सानिमा जनरल इन्स्यारेन्सले सबैभन्दा कम ३५ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ भने नयाँ निर्जीबन बीमा कम्पनी अजोड इन्स्योरेन्सले ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन कारण बीमाशुल्क संकलन प्रभावित भएपछि बीमा कम्पनीहरुले असार महिनामा उल्लेख्य बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षमा आर्जन गरेको प्रथम बीमाशुल्क रकमको ३३.७८ प्रतिशत र नवीकरणको २२.२५ प्रतिशत नवीकरण रकम असारमा मात्रै संकलन भएको छ।

असार महिनामा मात्रे बीमा कम्पनीहरुले ११ अर्ब ६५ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्। यस्तै १२ अर्ब ९० करोड नवीबरण शुल्क प्राप्त गरेका छन्।

नेपालमा १९ वटा जीबन, २० वटा निर्जीबन र एक पुनर्बीमा कम्पनी गरी कूल ४० वटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।