नेपाल पुनर्बीमा कम्पनीले निर्देशिकाको बन्देजका कारण आव २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको साउन ८ गते सम्पन्न २९३ औं बैठकले पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा संचालन) सम्बन्धी निर्देशिका २०७१ अनुसार लाभांश वितरण गर्न नमिल्ने भएपछि आर्थिक वर्ष २०७५।७६ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

निर्देशिकाको दफा १२ मा पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तीमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नु पर्ने व्यवस्था  छ। जसका कारण कम्पनीले लाभांश वितरण गर्न पाउँदैन। पुनर्बीमा कम्पनी कम्पनी रजिष्ट्रारमा २०७१ कात्तिक २१ गते दर्ता भई पुस ७ गतेदेखि कारोबार सञ्चालन गरेको भएको थियो। यसअनुसार गत आवदेखि भने कम्पनीले आर्जन गर्ने नाफा वितरण गर्न निर्देशिकाले लगाएको बन्देज समाप्त हुनेछ। 

कम्पनीका सचिव विष्णुप्रसाद उपाध्यले गत आर्थिक वर्ष २०७६/७७ देखि भने निर्देशिकाले लगाएको बन्देज समाप्त हुने भएकाले कम्पनीले गर्ने नाफाका आधारमा सञ्चालक समितिको निर्णय अनुसार लाभांश वितरण गर्न सकिने जानकारी दिए।

 

 

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६१ करोड १८ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक १४ रुपैयाँ २ पैसा प्रतिशेयर आम्दानी कायम गरेको थियो।

गत आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले १ अर्ब ८८ करोड २४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोषमा २ अर्ब ५४ करोड रुपैयाँ सञ्चित भैसकेको छ।

देशमा माओवादी सशस्त्र द्वन्द्वले उद्योगहरुमा आक्रमण बढेपछि सन् २००४ मा १७ वटा निर्जीवन बीमा कम्पनी र नेपाल सरकार मिलेर आकस्मिक बीमा कोषको स्थापना गरेका थिए। सोही कोषलाई २०७१ मा आएर नेपालकै पहिलो पुनर्बीमा कम्पनीको रुपमा स्थापना गरिएको थियो। पुनर्बीमा कम्पनीको रुपमा  स्थापनाको १ वर्षपछि नै कम्पनीले २०७६ प्रतिशत लाभांश वितरण गरेको थियो।

दश अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीमा अहिले नेपाल सरकारको ४४.०३ प्रतिशत शेयर स्वामित्व छ भने निर्जीवन बीमा र जीवन बीमा कम्पनी तथा विशाल ग्रुप, आइएमई समूह लगायतका केही निजी क्षेत्रका व्यवसायीक संस्थाको ३९.९६१ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत शेयर स्वामित्व छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।