‘हामी नेपालको शेयर बजारमा लगानी गर्न आतुर छौं’ : जीवा लामिछाने

0
Shares

धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने विषयमा चर्चा चलेको एक दशकभन्दा धेरै भयो । उपयुक्त नीतिगत व्यवस्था नहुँदा कार्यान्वयन हुन सकेको छैन । तर, पछिल्लो समयमा एक गैरआवासीय नेपालीले १० हजार अमेरिकी डलरसम्म लगानी गर्न दिने विषयमा छलफल चलिरहेको छ ।

आयातमा निर्भर अर्थतन्त्र भएको हुनाले विदेशी मुद्रामा एनआरएनलाई लगानी गर्न दिएको खण्डमा विदेशी विनिमय सञ्चितिमा असर गर्न सक्छ । त्यसले गर्दा पनि नीति निर्माण तहले विदेशी मुद्रामा एनआरएनको लगानीको विषयमा खुकुलो नीति लिन नसकेको देखिन्छ । 

नेपाल धितोपत्र बोर्डका आगामी कार्यक्रमहरुमा गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा प्रवेश गराइने कुरा उल्लेख हुँदै आएको निकै वर्ष बितिसकेको छ । तर, त्यसका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले उपयुक्त नीतिगत व्यवस्था नहुँदा लगानी गर्न चाहने एनआरएनले समेत अन्य बाटो अपनाउन बाध्य छन् ।

नेपालको शेयर बजारमा गैरआवासीय नेपालीले लगानी गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डसँग पटक–पटक कुरा गरेको एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले बताए । “हाम्रो जस्तो देश जहाँ विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्रमा ठूलो महत्व राख्छ,” लामिछानेले भने, “यसका लागि आवश्यक नियमावली तयार गर्नुपर्छ ।”

अहिलेको अवस्थामा गैरआवासीय नेपालीहरुलाई शेयर बजारमा प्रवेश गराउँदा ठूलो संख्यामा कारोबार हुनेछ । शेयर बजारमा उतारचढाबहरु पनि बढ्ने छन् । बजारमा देखिने उतारचढाबले आउनेभन्दा पनि विदेशी मुद्रा बाहिरिने समस्याले गर्दा नै यस विषयमा पनि नियामक निकायह?ले सोचेर तत्कालका लागि गैरआवासीय नेपालीहरुलाई बजारमा प्रवेश गराउन धेरै प्राथमिकता नदिएको हुन सक्ने उनले बताए ।

“शेयर बजारमा गैरआवासीय नागरिकहरुलाई बन्देज लगाउन हुँदैन्,” उनले भने, “हाम्रो जस्ता धेरै विकासशील देशह?ले पनि खुला गरिसकेको अवस्था छ । विस्तारै हामी पनि यही लाइनमा जानुपर्छ भन्ने विषयमा सम्बन्धित निकायहरुले बुझेको समेत उनले जानकारी दिए । “कतिपय चरणमा १० हजार डलरसम्म लगानी गर्न दिनुपर्छ भन्ने खालका कुराहरु पनि भइरहेको छ,” उनले भने, “लाग्छ ढिलोचाँडो हामी पनि धितोपत्र बजारमा प्रवेश गर्छौं होला ।”

नेपालको शेयर बजारमा चासो राख्ने गैरआवासीय नेपाली समुदाय धेरै ठूलो रहेको उनले बताए । विश्वका विभिन्न बजारमा कारोबार गरेको एनआरएनले नेपाली पूँजी बजारमा पनि लगानी गर्न चाहेको उनको भनाइ छ । नीतिगत तहमा निर्णय भयो भने पूँजी बजारमा प्रविधिको विकास गर्ने तथा प्रयोगमा ल्याउने कुरा ठूलो नभएको उनको बुझाइ छ ।

अहिलेकै अवस्थामा गैरआवासीय नेपालीहरुबाट नेपालमा धेरै ठूलो लगानी भित्र्याउने हैसियत बनिनसकेको उनी बताउँछन् । “केही सफल नेपाली साथीहरु मात्र ठूलो पूँजी लगाउने अवस्थामा पुग्नु भएको छ,” उनले भने, “तर पनि आम गरैआवासीय नेपालीको कुरा गर्ने हो भने अझै पनि सानो–सानो व्यवसाय गरेर मुस्किलले स्थापित हुने प्रयास नै गरिरहेका छौं ।” एक व्यक्ति, समूह, कम्पनीले धेरै ठूलो पूँजी ल्याउन सक्ने अवस्था बनिनसकेको उनले बताए ।

चीन, भारत, बंगलादेशको हेर्ने हो भने उनीहरु विदेशमा जाने परम्परा सुरुवात भएको ५ पुस्तासम्म भइसकेको छ । दुई सय वर्षअगाडि ब्रिटिस सामराज्यको बेलादेखि नै उनीहरु बाहिर जाने थाले अहिले उनीहरुका एउटै व्यक्ति, एउटै व्यवसायी, एउटै घराना आफ्नो पूर्खाको देश या भनौं मूल देशमा फर्किएर लगानी गर्न चाहे भने अर्बौ लगानी गर्न सक्ने हैसियत बनाएका छन् । तर, नेपालीहरु विदेश जाने परम्पराको सुरुवात २०४६ सालको परिवर्तनपछि भएकाले यो ३० वर्षको अबधिमा अपेक्षा अनुसारको लगानी भित्र्याउन सक्ने अवस्था नरहेको उनको भनाई छ ।

यस सन्दर्भमा हामीले आफ्नो क्षमताभन्दा बढी लगानी भित्र्याउन सक्छौ भनेर प्रतिबद्धता गर्यौं कि वा हामीबाट बढी अपेक्षा गरिएको हुनसक्ने उनी बताउँछन् । अबको ८/१० वर्षमा राम्रैसँग स्थापित हुनसक्ने धेरै ठूलो समुदाय तयार हुँदैछ । उनीहरुले १० वर्षपछि विभिन्न क्षेत्रमा ठूलो लगानी गर्न सक्ने हैसियत बनाउने उनको अनुमान छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ९ साउन २०७७, शुक्रबार  १६ : १९ बजे