हिमालयन बैंकका लगानीकर्ताले साधारण सभाको ५ महिना बित्दा पनि पाएनन् बोनस शेयर


हिमालयन बैंकले आर्थिक वर्ष २०७५/७६ को लाभांश अझै लगानीकर्ताको खातामा पठाउन सकेको छैन । बैंकले माघ २९ गते नै साधारण सभा सम्पन्न गरेको भए पनि ५ महिना बितिसक्दा पनि लगानीकर्ताले बोनस शेयर पाएका छैनन् ।

एकाध कम्पनीले भने साधारण सभा बित्न नपाउँदै बोनस तथा नगद लाभांश लगानी कर्ताको खातामा पठाउने गरेका छन् । तर, अधिकांश कम्पनीहरुले बोनस शेयर तथा नगद लाभांश लगानीकर्ताको खातामा पठाउन ढिलासुस्ती गर्दै आएका छन् । यो भीडमा हिमालयन बैंक पनि थपिएको छ ।

साधारण सभा भएको महिनौंसम्म पनि लगानीकर्ताको खातामा लाभांश पठाउन नसक्नुमा कम्पनीको लापरबाही धेरै भएको नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउँछन् ।

‘कम्पनीले लगानीकर्ताको मर्म र भावना नबुझेको तथ्यलाई सबैले मनन गर्नुपर्छ । कम्पनीको समग्र सूचांकमध्ये संस्थागत सूचांक कमजोर भएको अवस्थालाई सबै लगानीकर्ताले ध्यानमा राख्नुपर्छ ।

साथै कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृतका बीचमा आपसी तालमेल हुन नसकेका कारण यस्ता घटना घटिरहेका छन् । कम्पनी सञ्चालक समितिले पनि पूँजी बजारको मर्मलाई बुझ्न नसकेको कम्पनीहरुले नै महिनौं बित्दा समेत लाभांश लगानीकर्तालाई दिन सक्दैनन्,’ पौडेलले भने ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को कमाईबाट लगानीकर्तालाई १० प्रतिशत बोनस र १२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव २०७६ माघ २९ गतेको साधारण सभाबाट अनुमोदन भइसके पनि २०७७ को साउन दोस्रो सातासम्म आइपुग्दा पनि लगानीकर्ताको खातामा बोनस शेयर पठाइएको छैन ।

यस सम्बन्धमा बैंकका कम्पनी सचिव नितिन हाडाले पूँजी वृद्धिका लागि राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति नआएकाले बोनस सूचीकरण हुन नसकेको बताए । ‘हामीले राष्ट्र बैंकमा यस सम्बन्धमा स्वीकृतिका लागि पत्र पठाएको लामो समय भइसकेको छ । तर, स्वीकृति आएको छैन । जसका कारण शेयर सूचीकरणमा ढिलाई भएको हो,’ हाडाले भने ।

उनका अनुसार राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि स्वीकृति लिएपछि मात्र शेयर सूचीकरण हुन्छ । मिति तोकेर शेयर सूचीकरण हुन्छ भन्न सकिने अवस्था नरहेको हाडाले नोटबजारलाई बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।