बीमा उपसूचकमा उछाल आउँदा नेप्से २२ अंकले बढ्यो, दुई कम्पनीको शेयरमूल्यमा सर्किट

0
Shares

साताको पहिलो दिन आइतबार निर्जीबन र जीबन बीमा दुबैको सूचक करिब ४ प्रतिशतले बढेपछि आइतबार शेयर बजार परिसूचक मापक नेप्से २२.४० अंकले बढेर १४६५.१० बिन्दुमा बन्द भएको छ। नेप्से बढेसँगै आइतबार मात्रै शेयर लगानीकर्ताको सम्पत्ति मापक सूचक समग्र बजार पूँजीकरण २९ अर्ब ४८ करोड ४० लाख रुपैयाँले बढेर १९ खर्ब २८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

खुलेको १५ मिनेटमा नै घट्न लागेको बजार ४५ मिनेट घटेपछि भने खरिद चाप पर्दा गति लिएको थियो। नेप्से सूचकमा आएको आएको सुधारसँगै आज कारोबार रकममा पनि ६१ करोड ५५ लाख ४४ हजार रुपैयाँले सुधार आएर करिब २ अर्बको कारोबार भएको छ। गत बिहीबार १ अर्ब ३२ करोड ७१ करोड ३५ हजार २१८ रुपैयाँको शेयर कारोबार भएको थियो।

आज १९० कम्पनीका ४५ लाख ६३० कित्ता शेयर ३२ हजार ८३६ पटक खरीद बिक्री हुँदा कूल १ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० रुपैयाँको शेयर कारोबार भएको छ ।

आज मिर्मिरे लघुवित्त र तारागाउँ रिजेन्सी होटल गरि दुई कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ भने जोशी हाइड्रोपावर र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य पनि ८ प्रतिशत बढीले बढेको छ। आजको बजारबाट सपोर्ट माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्सको ५ प्रतिशत धेरै र नेपाल इन्स्योरेन्स र रैराङ हाइड्रोपावरको शेयरधनीले पनि ४ प्रतिशत बढीले कमाएका छन्।

उता आजको बजारबाट बेष्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६.५४ प्रतिशतले गुमाएका छन्। नेशनल हाइड्रोपावर र सनराइज फस्टको इकाईमूल्य २ प्रतिशतले घटेको छ। समृद्धि फाइनान्स, रसुवागढी हाइड्रोपावर, एभरेष्ट बैंकको कन्भर्टिबेल प्रिफरेन्स शेयर, ङादी ग्रुप पावर, माउन्टेन हाइड्रोपावर, सोल्टी होटल र हिमालयन उर्जा विकास कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि २ प्रतिशत बढीले आजको बजारबाट गुमाएका छन्।

कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये जलविद्युत, होटल र म्युचुअल फण्डको सूचक ऋणात्मक बनेका छन् भने बाँकी ९ वटै उपसमूहको सूचकमा बढोत्तरी भएको छ।

आइतबार जीवन बीमाको परिसूचक ३.९६ प्रतिशत र निर्र्जीवन समुहको परिसूचक ३.९१ प्रतिशतले उकालो लागेको छ । शेयर बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ, अन्य, लघुवित्तको सूचक १ प्रतिशत बढीले बढ्दा ब्यापार, वित्त, विकास बैंक, उत्पादन पनि १ प्रतिशत कमले सुधारिएका छन्।

आइतबार नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै २५ करोड ८४ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ। नेपाल रि इन्स्योरेन्स कम्पनीको १९ करोड ९४ लाख ५२ हजार, एनआईसी एशिया बैंकको ८ करोड ६१ लाख ८६ हजार, शिखर इन्स्योरेन्सको ८ करोड ५७ लाख ६८ हजार, एनएमबि बैंकको ६ करोड ६७ लाख ३५ हजार, हिमालयन डिष्टिलरीको ६ करोड ४४ लाख ३० हजार, र एनआईसी एशिया लघुवित्तको ६ करोड २९ लाख २५ हजारको कारोबार भएको छ। नबिल बैंक, नेको इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स पनि शीर्ष कारोबार हुने १० कम्पनीमा समेटिएका छन्।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।