सीसीडी अनुपात ८५ प्रतिशत, यसभन्दा अघिका सहुलियत सबै खारेज


नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि बैंक वित्तीय संस्थाहरुको कर्जा स्रोत परिचालन अनुपातलाई ८० प्रतिशतबाट  वढाएर ८५ पु¥याएको छ । तर, यसभन्दा अघि पूँजी कर्जा तथा निक्षेप(सीसीडी) अनुपातमा गणना गर्दा दिइएका सहुलियत भने सबै हटेका छन ।

यसभन्दा अघिको सीसीडी गणना गर्दा समावेश गर्न नपर्ने कुनै बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा उपयोग गरेको भएमा सो रकम यस प्रयोजनक लागि कर्जा सापटबाट घटाउन सकिने व्यवस्था हटाइएको छ ।

बैंक तथा वित्तीय संस्थाले स्वदेशी मुद्रामा ५ वर्ष वा सोभन्दा बढी अवधिको ऋणपत्र जारी गरेको रकमबाट तथा विदेशी बैंक, वित्तीय संस्था वा अन्य संस्थासँग विदेशी मुद्रामा ३ वर्ष वा सोभन्दा बढी अवधिको दीर्घकालीन ऋण लिएको भएमा त्यस्तो रकमबाट शतप्रतिशत कर्जा प्रवाह गर्न सकिने व्यवस्थासमेत हटाएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी एक वर्षभन्दा बढी भुक्तानी अवधि बाँकी रहेका दुई वा दुई वर्षभन्दा बढी अवधिका मुद्दती निक्षेप रकम पनि सीसीडी भित्र राख्नुपर्ने भएको छ ।

त्यसैगरी विदेशी बैंक, वित्तीय संस्था वा अन्य संस्थासँग विदेशी मुद्रामा १ वर्ष वा सोभन्दा बढी अवधिको ऋण वा निक्षेप लिएको भएमा त्यस्तो रकमलाई यस खण्डको प्रयोजनको लागि स्रोत परिचालनमा गणना गर्न सकिने व्यवस्थालाइ समेत नयाँ सीसीडी गणनाको व्यवस्थाले हटाएको छ ।

कर्जा/स्रोत परिचालन अनुपात गणना गर्दा अन्तरबैंक निक्षेपलाई स्रोत परिचालनमा समावेश गर्न पाइने छैन । त्यसैगरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम प्रवाहित कर्जालाई यस प्रयोजनको लागि कर्जा तथा सापटबाट घटाउन सकिने व्यवस्थालाई समेत नयाँ सीसीडी गणना विधिले हटाएको छ ।