नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको सेवा शुल्कमा कडाई गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई कार्यान्वायन गर्नका लागि निर्देशन जारी गर्दै लघुवित्त कम्पनीहरुले लिने सेवाशुल्कमा कडाई गरेको हो ।
निर्देशन अनुसार अब लघुवित्त कम्पनीहरुले खुद्रा कर्जा प्रवाह गर्दा स्वीकृत कर्जामा अधिकतम १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन सक्ने छन् । त्यसै गरी थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीहरुले ०.५ प्रतिशत मात्र सेवाशुल्क लिन पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
यस अघि एकीकृत निर्देशन २०७६ को व्यवस्था अनुसार लघुवित्त कम्पनीहरुले थोक तथा खुद्रा कर्जा प्रवाह गर्दा २ प्रतिशतसम्म सेवाशुल्क लिँदै आएका थिए ।
नयाँ व्यवस्थाअनुसार लघुवित्त कम्पनीहरुले कर्जाको सीमा बढाउँदा थप भएको रकममा मात्र सेवा शुल्क लिन पाउने छन् । त्यसैगरी केन्द्रीय बैंकले लघुवित्त कम्पनीले कर्जा नवीकरण गर्दा नयाँ खुद्रा कर्जाको १.५ प्रतिशतको २० प्रतिशत मात्र सेवाशुल्क लिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार अब लघुवित्त कम्पनीले कर्जा नवीकरण गर्दा कर्जा रकमको ०.३ प्रतिशत मात्र सेवाशुल्क लिन पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया