शेयर कारोबारको भुक्तानी पूर्ण विद्युतीय माध्यमबाट मात्रै हुने, सरोकारवालाबीच घनिभूत छलफल

0
Shares

नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजारको कारोबारलाई पूर्ण रुपमा विद्युतीय माध्यममा लैजान सरोकारवालाहरु ब्रोकर, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसिएचएल), र वाइको प्रालि कम्पनीबीच छलफल अगाडि बढाएको छ।

मंगलबार नेप्सेमा भएको छलफलमा धितोपत्रको दोस्रो बजारमा हुने शेयर खरिद बिक्रीको भुक्तानी शतप्रतिशत डिजीटल माध्यमबाट गर्नेगरी छलफल प्रकृया अगाडि बढाइएको हो।

नेपाल धितोपत्र बोर्डले यसअघि नै चालु आर्थिक वर्षदेखि विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएकोमा नेप्सेले सो को कार्यान्वयन प्रकृयालाई अगाडि बढाएको हो। जसका लागि निश्चित समयसीमा राखेर शतप्रतिशत भुक्तानी विद्युतीय कारोबारमा जाने गरी प्रकृया अगाडि बढाइएको छ।

हाल प्रचलनमा रहेको चेकमार्फत गरिने कारोबारलाई पूर्णत विस्थापित गर्दै एउटा निश्चित समयसीमा राखेर भुक्तानीलाई चेकलेस बनाउने तयारीमा जुट्ने सहमति आजको छलफलमा भएको छ। जसमा ब्रोकरहरु पनि सकारात्मक देखिएका छन्।

लकडाउन पछि अहिले नै कतिपय ब्रोकरहरुले ९० प्रतिशत बढी शेयर कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट नै गरिरहेका छन्। तर कतिपय ब्रोकर कम्पनीहरुले आफ्नो टिएमएसमा एनसिएचएलमा लगेर खासै टाईअप नगरेका पनि विद्युतीय भुक्तानीमा समस्या पाइएको विषयमा छलफलमा भएको नेप्सेका तर्फबाट सहभागी निरञ्जन फ्याँलले जानकारी दिए।

थोरै ब्रोकर कम्पनीहरुले मात्र एनसिएचएलसँग टाइअप गरेको, कतिपयले नबुझेर दुईभन्दा धेरै अकाउन्ट दिएको, कसैले एउटा दिनुपर्नेमा अर्को दिएको जस्ता समस्याहरु पनि देखियो। त्यसलाई शुक्रबारसम्म सुल्झाउने भन्ने निर्णय गरिएको छ। उनले भने, अहिले पनि ग्राहकहरुले दिएको विवरण (खाता नम्बर, शाखा आदि) नै नमिल्दाको अवस्थामा बाहेक अन्यसमा खासै समस्या देखिएन। भुक्तानी गर्न समस्या हुनेहरुमा एनसिएचएलसँग टाइअप नभएको तथा कर्मचारीहरुमा पनि सो पक्षको कम जानकारी हुँदा समस्या देखिएकाले एनसिएचएलले आफ्नो २-३ दिन नेप्सेमा नै जनशक्ति राखेर सहजीकरण गर्ने निर्णय भएको फुयाँलले जानकारी दिए।

वाइको प्रालिले पनि ब्रोकरको कम्पनीहरुका कर्मचारीहरुलाई नजानेको भए शुक्रबारसम्म एनसिएचएल मिलेर तालीम प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।  एनसिएचएलबाट पहिलो चरणको तालिम दिएर सबै ग्राहकहरुको बैंक खाता आबद्ध गरिसकेपछि के कस्ता समस्या आउँछन् हेरेर त्यसको समाधान गरेपछि अर्को एक हप्तापछि पुन सबै पक्षबीच छलफल गरि पूर्ण विद्युतीय कारोबारको समयमीमा तोकिने उनले बताए।

शेयर ब्रोकर एशोसियनका अध्यक्ष भरत रानाभाटले ब्रोकरहरुले चलाइरहेको टिएमएस सिस्टमबाटै ग्राहकहरुको भुक्तानी गर्नका लागि पूर्णत रुपमा रुपमा नै गर्नका लागि हाल सिर्जना भएका समस्यालाई न्यूनिकरण गर्दै अगाडि बढ्ने विषयमा छलफल भएको जानकारी दिए।
ब्रोकरहरुले पहिलेदेखि नै विद्युतीय भुक्तानीमा जान खोजेपनि विविध कारणबाट गर्न नसकिएको अब शतप्रतिशत भुक्तानी गर्न सक्षम हुने गरि अगाडि जान खोजिएको उनको भनाई छ।

यो व्यवस्थाको पूर्णरुपमा कार्यान्वयनमा आएसँगै लगानीकर्ताले शेयर बिक्रीको रकम टि प्लस थ्रीको भोलिपल्टै ब्रोकरहरुबाट स्वतः लगानीकर्ताको बैंक खातामा पठाइदिनेछन्। यससँगै शेयर भुक्तानीको रकम संकलनका लागि ब्रोकर कार्यालय जानुपर्ने वाध्यताको अन्त्य हुनेछ।

अनलाईन मार्फत शेयर खरिदका लागि कूल खरिद रकमको २५ प्रतिशत रकम अनिवार्य रुपमा अग्रिम भुक्तानी गर्नुपर्नेछ भने कारोबारपछि बाँकी ७५ प्रतिशत रकम अनलाईन मार्फत ब्रोकर कम्पनीको खातामा भुक्तानी गर्नुपर्ने हुन्छ।

छलफलमा सहभागि वाइकोले आफुहरु एनसिएचएललाई सहजीकरण गर्न तयार रहेको बताउँदै विद्युतीय भुक्तानीमा ब्रोकरहरुबाट अपेक्षित सहयोग नपाएको कुरा राखेको थिया। ब्रोकर कम्पनीहरुमा भन्दा आफुहरुसँग धेरै सोधपुछ आउनले गरेको उसको गुनासो थियो। छलफलमा सहभागि एनसिएचएलले विद्युतीय भुक्तानीमा लैजान आफ्हरुले गर्नुपर्ने सहयोग रहने बताएको थियो।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ साउन २०७७, मंगलबार  १९ : ५९ बजे