एउटै समूहले सञ्चालन गरेका लघुवित्त मर्जरमा जानै पर्ने, मर्जरमा जाँदा यस्तो सुविधा


एउटै व्यक्ति तथा समूहद्धारा प्रवद्र्धन भएका लघुवित्त कम्पनीहरुलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले निर्देशन दिने भएको छ । एकाघरका परिवार एवं व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व तथा  नियन्त्रणमा रहेका र व्यवसायिक सम्बन्ध स्थापित भएका लघुवित्तलाई पनि मर्जरमा जान निर्देशन दिने केन्द्रीय बैंकले जनाएको छ ।

लघुवित्त कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहन गर्ने योजनाअन्तरगत मर्जरमा जाने लघुवित्तलाई केन्द्रीय बैंकले विभिन्न किसिमका सहुलियत दिने भएको छ । जसअनुसार २०७८ असार मसान्त भित्रमा मर्जर तथा विलय प्रकृयामा जाने लघुवित्त कम्पनीहरुलाई २०७९ असार मसान्तसम्म सञ्चालन जोखिम वापत क्ल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गर्दा हुने व्यवस्था गरिएको छ ।

साथै वार्षिक २० प्रतिशतभन्दा धेरै लाभांश प्रस्ताव गरेको खण्डमा २० प्रतिशतभन्दा माथिको लाभांशबाट संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम २०७९ असार मसान्तसम्म छुट दिने केन्द्रीय बैंकले जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।