लघुवित्तलाई पनि आधार दर, ग्राहकबाट १५ प्रतिशत बढी ब्याज नलिन निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष देखि लघुवित्तीय संस्थालाई आधार ब्याजदर लागू गरेको छ ।

 निक्षेप संकलन गर्ने र थोक कर्जा कारोबार गर्ने माइक्रोफाइनान्सले आगामी कात्तिक देखि आधार ब्याजदर निर्धारण गरेर केन्द्रीय बैंकमा बुझाउनुपर्ने भएको हो।

केन्द्रीय बैंकले मंगलबार निर्देशिका जारी गर्दै लघुवित्तले खुद्रा कर्जा प्रवाह गर्दा अधिकतम १५ प्रतिशत भन्दा माथि ब्याजदर लिन नपाइने व्यवस्था गरेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशतसम्म निर्धारण गर्न सक्नेछन् भने निक्षेप संकलन गर्ने तथा थोक कर्जा कारोबार गर्ने संस्थाहरुले २०७७ कात्तिक देखि आधार दर तयार गरी लागू गर्नुपर्ने व्यवस्था गरेको हो ।

निक्षेप लिने तथा थोक कर्जा कारोबार गर्ने माइक्रोफाइनान्सले आधार दर गणना गर्दा निम्नानुसारको गर्नुपर्ने व्यवस्था गरेको छ। आधार दर भनेको कोष लागत प्रतिशत प्लस अनिवार्य मौज्दात लागत प्रतिशत प्लस वैधानिक तरलता लागत प्रतिशत प्लस सञ्चालन लागत प्रतिशतको जोडफल हो ।

यसमा कोषको लागत गणना गर्दा निक्षेप तथा बचत र ऋण तथा सापटीको भारित औसत ब्याजदर कायम हुने केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी अनिवार्य मौज्दात लागत गणना गर्दा अनिवार्य मौज्दातको औसत रकम र कोष लागत प्रतिशत गुणन गरी लगानीयोग्य कोषको औसत रकमले भाग गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

आधार दर गणनामा समावेश हुने लगानीयोग्य कोषको औसत रकम निकाल्दा निक्षेप तथा बचतको औसत रकम प्लस ऋण तथा सापटी (बरोइङग्) को औसत रकम माइनस वैधानिक तरलताको औसत रकमलाई लिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

वैधानिक तरलता लागत वैधानिक तरलता लागत गणना गर्दा खुद वैधानिक तरलता रकम र सरकारी सुरक्षणपत्रको भारित औसत ब्याजदरले गुणन गरी लगानीयोग्य कोषको औसत रकमले भाग गरेपछि आउने नतिजालाई लिनुपर्ने ब्यवस्था रहेको छ ।

खुद वैधानिक तरलता रकम गणना गर्दा वैधानिक तरलताको औसत रकम माइनस अनिवार्य मौज्दातको औसत रकम हो। सञ्चालन लागत सञ्चालन लागत गणना गर्दा कुल सञ्चालन खर्च सञ्चालन लागत प्रतिशतलाई लगानीयोग्य कोषको औसत रकमले भाग गरेर निकाल्नुपर्ने ब्यवस्था केन्द्रीय बैंकले जनाएको छ।

आधार दर प्रयोजनका लागि कुल सञ्चालन खर्च भन्नाले संस्थाको कुल सञ्चालन खर्चबाट फाइनान्स एक्पेन्स अण्डर एनएफआरएस र कर्मचारी बोनस घटाई कायम रहेको कुल सञ्चालन खर्चलाई सम्झनुपर्छ । साथै, निक्षेप संकलनसंग प्रत्यक्ष सम्बन्धित निक्षेपकर्तालाई प्रदान गर्ने सुविधा वापतका खर्चहरु जस्तै बीमा खर्च, औषधी उपचार खर्च आदि कुल सञ्चालन खर्चमा समावेश गर्न नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

त्यसैगरी आधार दर गणना गर्दा पछिल्लो अवधिको वित्तीय विवरण तथा तथ्याङ्कलाई आधार लिई गणना गर्नुपर्नेछ ।

मासिक तथ्यांक उपलब्ध नहुने वार्षिक प्रकृतिका खर्चलाई समानुपातिक रुपमा रुपान्तरण गरी गणना गर्नुपर्नेछ।

वैधानिक तरलताको औसत रकम र अनिवार्य मौज्दातको औसत रकम गणना गर्दा यस बैंकबाट जारी निर्देशन बमोजिम कायम गर्नुपर्ने न्यूनतम रकमलाई लिनुपर्नेछ।

कुल सञ्चालन खर्चमा यस बैंकले तोकेको वित्तीय विवरणको नाफा नोक्सान खाता बमोजिमको कर्मचारी खर्च र अन्य सञ्चालन खर्चलाई लिनुपर्नेछ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।