श्रीराम सुगर मिल्समा १२ सय शेयरधनी, वीरगञ्ज चिनीसहित दुई बैंकको लगानी

0
Shares

श्रीराम सुगर मिल्स बन्द भएपछि उक्त कम्पनीका शेयरधनीको लगानी के हुने भन्ने अन्योलता बढेको छ । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनी बन्द हुँदा करिब १२ सय शेयरधनीको झण्डै ३१ करोड रुपैयाँ फसेको हो ।

कम्पनीमा व्यवसायिक घरानादेखि संचालनमा रहेका दुई वाणिज्य बैंकको शेयर लगानी रहेको छ । सर्वसाधारणलाई शेयर बिक्री गरेर धितोपत्रको दोस्रो बजारमा सूचीकरण भएको कम्पनीमा करिब एक हजार १ सय ४२ जना सर्वसाधारणको समेत कुल एक हजार १ सय ७४ जनाको लगानी रहेको छ ।

नेपालको प्रतिष्ठित व्यवसायिक घरना गोल्छा समूहले सुरु गरेको उद्योगमा अर्को व्यवसायिक घरना विशाल ग्रुप पनि जोडिएको छ । सरकारी लगानी भएको वीरगञ्ज सुगर मिलको समेत लगानी भएको उद्योग उच्च नोक्सानीमा गएपछि व्यवस्थापनले बन्द गर्ने निर्णय गरेको हो ।

वि.सं. २०४९ सालमा स्थापना भएको सो मिल कम्पनी सञ्चालक समितिको बैठकले गत साउन १० गतेदेखि बन्द गर्ने निर्णय गरेको थियो । गोल्छा समूहले सूचना जारी गर्दै रौतहट महृमदपुर (गरुडा) मा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमा बन्द हुने जनाएको छ ।

सञ्चित नोक्सानी नै २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ भएपछि मिल्स स्थायी रूपमा बन्द गरिएको जानकारी व्यवस्थापनले सोमबार गराएको छ । सञ्चालन प्रयास भइरहँदा पनि नोक्सानी बढेपछि बन्द गर्नुपरेको उद्योगको भनाई छ ।

एघार लगानीकर्ताको १ लाख बढी शेयर, अन्यको कति ?

नेप्सेमा सूचीकृत यो उद्योग बन्द भएपछि सर्वसाधारणको लगानी जोखिममा परेको छ । उक्त मिल्समा सर्वसाधारणको ०.८३ प्रतिशत मात्र शेयर स्वामित्व रहेको देखिन्छ । कम्पनीमा संस्थापक शेयरधनीहरुको ९९.१७ प्रतिशत स्वामित्व रहेको छ ।

उक्त मिलमा कुल ३० लाख ९७ हजार ६४० कित्ता शेयर रहेकोमा सर्वसाधारणको २६ हजार १५ कित्ता मात्र शेयर देखिन्छ भने संस्थापक समूहमा ३० लाख ७१ हजार ६२५ कित्ता शेयर रहेको पाइएको छ ।

सो उद्योगमा सबैभन्दा धेरै लगानी चर्नाली डेभलपेमन्ट कम्पनीको ६ लाख कित्ता शेयर छ । त्यस्तै हुलास स्टिल इन्डष्ट्रिजको ४ लाख ३३ हजार ८००, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको २ लाख ६१ हजार ८०, हेमन्त गोल्छाको २ लाख ५० हजार २००, विशाल अग्रवालको १ लाख ९८ हजार १२०, अनुज अग्रवालको १ लाख ८१ हजार ९९९, अशोक कुमार अग्रवालको १ लाख २० हजार कित्ता शेयर रहेको छ। विनियोग प्रालिको १ लाख १५ हजार, वीरगञ्ज चिनी उद्योगको १ लाख १२०, हितेश गोल्छाको १ लाख, दिनेश गोल्छाको १ लाख कित्ता शेयर रहेको छ । उक्त कम्पनीमा ११ जना लगानीकर्ताको १ लाख बढी कित्ता शेयर रहेको पाइएको छ।

कम्पनीमा ८ जना लगानीकर्ताको ५० हजारदेखि ८५ हजार कित्ता शेयर रहेको पाइएको छ । जसमा राष्ट्रिय वाणिज्य बैंकको ५० हजार कित्ता शेयर लगानी छ । यसैगरी उक्त उद्योग १ हजारदेखि ५० हजारकित्ता भन्दा कम लगानी हुने शेयरधनी १३ जना रहेका छन् ।

उक्त उद्योगमा सनराइज बैंकको पनि ५०० कित्ता शेयर छ । ५०० कित्ता शेयर हुने लगानीकर्ता ५ जना मात्र रहेका छन् । केही लगानीकर्ताको ४०० कित्तासम्म शेयर छ भने अधिकांशको १०० र ५० कित्ता शेयर भएको पाइएको छ । कम्पनीमा ५ कित्ता मात्र शेयर हुने लगानीकर्ताको संख्या ४३५ जना छ । १० कित्ता शेयर हुनेहरुको संख्या ३०७, १५ किता शेयर हुनेको संख्या ५२, २० कित्ता शेयर हुनेको संख्या ६९, २५ कित्ता हुने ७२, ३० कित्ता हुने २८, ३५ कित्ता हुने २, ४० कित्ता हुने ११ र ५० कित्ता शेयर हुनेको संख्या १०१ छ ।

मिल्सले किसानहरुलाई ऊखुको मात्र ३७ करोड रुपैयाँ बढी भुक्तानी गर्न बाँकी छ । मिलले यस वर्ष कार्यरत कर्मचारीको ४ महिनादेखिको तलब तथा सञ्चयकोषको रकमसमेत दिएको छैन । उद्योगमा ३२५ जना कर्मचारी कार्यरत थिए।

मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको भए पनि पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको थियो । यस आर्थिक वर्षमा मिलले १३ दिन मात्रै उखु क्रसिङ्ग गरेको थियो ।

व्यवस्थापन उद्योगको चलअचल सम्पत्ति बिक्री गरेर कर्मचारीको तलबभत्ता, सञ्चय कोषका साथै अन्य दायित्व भुक्तानी गर्ने योजनामा छ ।उद्योग सदाका लागि बन्द हुने भएकाले दामासाही कानून बमोजिम सबैभन्दा पहिला कर्मचारीले तलव र भत्ता पाउनेछन् । यस्तै सरकारलाई कर बक्यौता, आपूर्तिकर्ता र किसानलाई भुक्तानी गरेर बाँकी रहेको बचत रकम मात्र शेयरधनीले दामासाहीमा पाउनेछन् । यसका लागि उद्योगले लिक्वडेटर नियुक्त गर्नुपर्नेछ । लिक्विडेटरले कम्पनीको जायजेथा सबै बिक्री र लिनुपर्ने रकम उठाउने छ ।

मिल्स सञ्चालनका लागि थप पूँजी जुटाउन उद्योगले १ बराबर ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । हकप्रद शेयर निष्काशन गर्न नपाएपछि अन्त्यमा गोल्छा समूहले उद्योग बन्दको निर्णय गरेको हो।

नगदेबालीको रुपमा रहेको उखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक संघले जनाएको छ । यसैगरी अवकाश प्राप्त कर्मचारीहरुको ७० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।