देशभरका होटल आजदेखि खुल्दै, होटल सूचकमा कस्तो पर्ला प्रभाव ?


नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । बुधबारसम्म १९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् ।
यसै बीच सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै गत चैत ११ देखि शुरु गरिएको बन्दाबन्दी असरा १ गतेपछि भने विस्तारै खुल्दैछ । यस क्रममा आजदेखि देशभरका होटल तथा रेष्टुरेन्ट र पर्यटन क्षेत्रहरु खुल्दैछन् ।

काठमाडौं, पोखरा र चितवनका होटल आंशिक रूपमा सञ्चालनमा आउँदैछन् । कोरोना जोखिमबीच पनि होटल सञ्चालनमा आउने अवस्था बनेपछि व्यवसायी उत्साहित छन् । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्यसम्बन्धी मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै होटल सञ्चालन गर्ने होटल व्यवसायीहरुको भनाई छ ।

अहिले सरकारले बन्देज खुला नगरेका कारण सार्वजनिक स्थलका साथै सभा सम्मेलन, भोजभतेर, सेमिनार लगायतका कार्यक्रम सञ्चालनको निर्णय भइनसकेको अवस्था छ । यसले होटलहरु सञ्चालनमा आए पनि व्यवसाय अपेक्षित रुपमा हुन सक्ने अवस्था देखिँदैन ।

बिहीबारबाट प्रायः ठूला तारे होटल सञ्चालनमा नआए पनि साना तथा मझौला र पर्यटकस्तरीय होटल खुल्ने तयारी भइरहेको होटल संघ नेपाल (हान) को भनाई छ । होटल खोलेर आम्दानी हुनेभन्दा पनि सञ्चालन खर्च मात्र बढ्ने भएकाले ठूला होटलको सञ्चालन खर्च धेरै हुने भएकाले तत्काल ठूला होटल सञ्चालनमा नआउने हानले जनाएको छ ।

पाँचचारे होटलमा सांग्रिलाले बिहीबारदेखि सेवा सुरु गर्दैछ भने सोल्टी, मेरियट लगायत होटलले भने लकडाउनमा पनि सेवा प्रदान गर्दै आईरहेका छन् । भदौ १ गतेबाट उडान खुलेपछि भने धेरैजसो तारे होटल सञ्चालन आउने तयारी होटलहरुले गरेका छन् ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र यातायात र पर्यटन व्यवसाय नै हो । छोटो दूरीका यातायात खुला भएको छ भने साउन ५ को मन्त्रिपरिषद निर्णयले यही साउन १५ देखि पर्यटन, ट्रेकिङ्, ट्राभल तथा पर्वतारोहण भने खुला हुनेछ ।

होटलका शेयर मूल्यमा कस्तो पर्ला प्रभाव ?

चार महिनादेखि बन्द रहेका होटल सञ्चालनमा आउने खबरले लगानीकर्तामा पक्कै पनि एक किसिमको उत्साह जगाउनु स्वभाविक हो। तर होटल खुल्दै गर्दा त्यहाँ सेवाग्राहीको चाप कस्तो हुन्छ भन्ने अहिले नै यकिन गर्न सकिने अवस्था छैन। पछिल्लो समय उपत्यकामा नै कोरोना संक्रमण दर दिनहुँ बढिरहेको अवस्थामा होटलमा चहलपहल बढ्ला भन्ने अपेक्षा गर्न सकिन्न ।

केही दिन अघि लकडाउन खुल्दै गर्दा होटल पनि सञ्चालनमा आउने खबरले शेयर बजारका लगानीकर्तामा पनि उत्साह छाएको थियो। सरकारले साउन १५ गतेदेखि होटल सञ्चालन खुला गर्ने घोषणा गरेसँगै साउन ६,७, र ८ गते नेप्सेमा सूचीकृत तीन होटलहरुको मूल्य बढ्यो। ती दिनहरुमा होटलको इन्डेक्स क्रमश ८२.४५, १३४.३६ र ४२.५५ अंकले बढ्न पुग्यो। साउन ५ गते १४१३ मा रहेको होटलको इन्डेक्स २५९.३६ अंकले साउन ८ गते १६७३.३५ सम्म पुग्यो।

तर यस साताको आइतबारदेखि देखि नै होटल सूचक ऋणात्मक देखिएको छ। आइतबारदेखि बुधबारसम्म चारैदिन होटल सूचक घट्यो। यी दिनहरुमा आइतबार २.२९, सोमबार ३२.९१, मंगलबार १.२८ र बुधबार ५९.५० अंकले घटेको छ। बिहीबार भने केही होटलको सूचक सकारात्मक देखिएको छ। साउन १४ गते आइपुग्दा १५७५ मा झरेको छ।

सरकारले बिहीबारदेखि होटल खुला गरे पनि भदौ १ गतेसम्म लामो दूरी र राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान खुला नगरेको अवस्था तथा सरकारले सभा सम्मेलन र भोजभतेर गर्न अझै अनुमति नदिएकाले खुला भएपनि ठूला होटलको आम्दानी बढ्ने अवस्था भने देखिँदैन। सञ्चालनमा आएका होटल पनि सीमित कर्मचारीबाट न्यून क्षमतामा मात्र खुला हुने भएकाले हाल खर्च धान्न नै होटलहरुलाई मुस्किल पर्ने अवस्था देखिन्छ। 

सरकारले भदौ १ गतेपछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रोटोकल बनाएर आन्तरिक तथा बाहृय उडान सुचारु गर्ने निर्णय गरेको छ । यसपछि सभा, सम्मेलन, पार्टी तथा भोजभतेर गर्न खुला गरियो भनेमात्र होटलहरुको आम्दानी बढ्न थाल्नेछ। अहिले स्वास्थ्य प्रोटोकल अपनाएर होटल खुला भएपनि आन्तरिक र विदेशी पर्यटक नेपाल आएर खर्च गर्ने वातावरण नभएसम्म तत्काल ठूला होटलहरुको आम्दानी वृद्धि हुने अवस्था भने देखिँदैन।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै चैत पहिलो सातादेखि नै सभा सम्मेलनमा रोक लगाएको गिथयो भने चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो। यससँगै होटलहरुको आम्दानी हुन सकेको छैन। लकडाउनका कारण बन्द भएका होटलले श्रमिकलाई १२ प्रतिशत मात्र तलब दिएका थिए । लकडाउनले पर्यटनसँगै होटल व्यवसाय पनि असर गरेपछि नेपाल राष्ट्र बैंकले होटल रेष्टुरेन्टलाई अतिप्रभावित सूचीमा सामेल गरेर सोही अनुसार मौद्रिक नीति मार्फत सम्बोधनको प्रयास समेत गरेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।