आईपीओभन्दा सस्तो मूल्यका शेयरमा लगानीकर्ताको आकर्षण, बढ्नेमा अधिकांश हाइड्रो

0
Shares

नेपाल राष्ट्र बैंकले चालूआर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनमा ल्याउँदै लघुवित्त कम्पनीहरुलाई हकप्रद निष्काशनमा रोक लगाएपछि कारोबारीहरुको नजर आईपीओभन्दा सस्तो शेयरमूल्यमा पर्न थालेको छ। जसले आज उच्च शेयरमूल्य बढ्ने दश कम्पनीभित्र ९ वटा हाइड्रोपावर कम्पनी समेटिएका छन्।

कारोबारीको प्रवशेकै कारण यसअघि घटिरहेको जोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य विगत तीन कारोबार दिनयता सकारात्मक सर्किट लागेको छ भने अन्य कम्पनीहरुको शेयरमूल्य पनि सर्किट लाग्ने गरी बढेको छ।

अर्कोतर्फ मौद्रिक नीतिमा हाइड्रोपावरलाई पनि प्रभावित सूचीमा राखेर कर्जा लगायतका शीर्षहरुमा सुविधा प्रदान गरिएको छ। जसको कार्यान्वयनको लागि राष्ट्र बैंकले गरेको ब्यबस्थाले पनि हाइड्रो कम्पनीको शेयरमूल्य बढ्ने अवस्था सिर्जना गरेको छ ।

साताको अन्तिम दिन बिहीबारको बजारमा जोशी हाइड्रोपावर सहित खानीखोला हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर, नेशनल हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, रैराङ हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, युनियन हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशत धेरैले बढेको छ। यसदिनको शेयर बजारबाट आरम्भ चौतारी लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशतले कमाएका छन्।

उता घोडीघोडा लघुवित्तको शेयरमूल्य भने सबैभन्दा धेरै ९.८५ प्रतिशतले घटेको छ। गुराँस लघुवित्तको शेयरमूल्य ५.३४ प्रतिशतले घट्दा प्रोगेशिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, सर्पोट माइक्रोफाइनान्स, गुडविल फाइनान्स, लुम्बिनी जनरल इन्स्योरेन्स संस्थापक, प्रुडेन्सियल इन्स्योरेन्स, र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरमूल्य १ प्रतिशत धेरैले घटेको छ।

सुरुवाती एक घण्टापछि घट्न थालेको शेयर बजारले पौने १ बजेपश्चात सुधारको गति लिएको थियो। त्यपछि क्रमश सुधार हुँदै गएको नेप्से ७.५३ अंकले बढेर १४३९.०६ बिन्दुमा बन्द भएको छ।

आज १८९ कम्पनीको ३४ लाख ३० हजार ५३२ कित्ता शेयर २१ हजार ८१८ पटक खरिद बिक्री हुँदा १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६७८ रुपैयाँमा खरिद बिक्री भएको छ। बुधबार नेप्से २३.३६ अंकले घटेर बन्द भएको बजारमा १ अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ रुपैयाँको शेयर कारोबार भएको थियो । बुधबारको तुलनामा कारोबार रकम भने ३६ करोड ६८ लाख रुपैयाँले घटेको हो।

आज कारोबारमा आएका १२ वटै उपसमूहको परिसूचक सकारात्मक भएका छन्। कुनै पनि उपसमूहको सूचक १ प्रतिशतले बढ्न सकेको छैन । सबै सामान्य मात्र बढेका छन्।

आज नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धैरै कारोबार भएको छ। कम्पनीको ३ लाख ८२ हजार ७२० कित्ता शेयर २२ करोड ९१ लाख ५५ हजार रुपैयाँमा खरिद बिक्री भएको छ।

यसैगरी नेपाल लाईफको ८ करोड ९५ लाख ५६ हजार र एनआईसी एशिया बैंकको ५ करोड ९ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ। शिखर इन्स्योरेन्स, एनएमबि बैंक, एनआईसी एशिया लघुवित्त, नबिल बैंक, छिमेक लघुवित्त, नेको इन्स्योरेन्स र एनसीसी बैंक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन्। दशौं ठूलो कारोबार भएको एनसीसी बैंकको २ करोड ६६ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ साउन २०७७, बिहीबार  १६ : ०९ बजे