श्रीराम सुगर मिल्स पुनः सञ्चालनमा ल्याउन सरकार र उद्योगीबीच छलफल


श्रीराम सुगर मिल्स पुनः सञ्चालनमा आउने भएको छ । सरकारले श्रीराम सुगर मिल्स कुनै पनि हालतमा बन्द हुन नदिन सम्बन्धित कम्पनीका सञ्चालकसँग छलफल सुरु गरेको हो ।

सर्वसाधारणलाई समेत शेयर बिक्री गरेको कम्पनी बन्द भएपछि सरकारले त्यसलाई जस्तोसुकै अवस्था भए पनि खुलाउने पहल सुरु गरेको हो । कोरोना भाइरसका कारण अर्थतन्त्र नै ठप्प भएको समयमा कुनै पनि उद्योगधन्दा बन्द हुन नदिने उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले नोटबजारलाई बताए ।  

“कम्पनीले बाध्यात्मक परिस्थितिले गर्दा बन्द गरेको जनाएको भए पनि कानुनअनुसार कम्पनीलाई दिन मिल्ने सबै छुट तथा सहुलियत दिएर सञ्चालनमा ल्याउने छांै,” उनले भने, “अहिलेको अवस्थामा बन्द भएका उद्योग त पुनः सञ्चालन गर्ने नीति लिएको सरकारले सञ्चालन भइरहेको उद्योग बन्द हुन दिँदैन ।”

कम्पनीलाई परेको समस्या के–कस्ता हुन त्यसमा छलफल समेत सुरु गरिसकेको उनले बताए । कम्पनीलाई कर छुटदेखि बैंकको ऋणको सन्दर्भमा समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ । त्यसैगरी कर्मचारी तथा किसान रकम भुक्तानीको सन्दर्भमा समेत सरकारले सहजीकरण गरी कम्पनी सञ्चालन हुने वातावरण बनाउन पूर्ण रुपमा सहयोग गर्ने उनले बताए ।

यसभन्दा अघि कम्पनी सञ्चालनका लागि आर्थिक जटिलता समाधान गर्ने तथा किसानको बक्यौता चुक्ता गर्न १० बिगाह जग्गा बिक्री गरी आर्थिक संकटको समाधान गर्ने विकल्प पनि दिएको उनले बताए । कम्पनीको नाममा अचल सम्पत्ति प्रसस्त भए पनि बिक्री गर्नका लागि सरकारको स्वीकृत लिनुपर्ने हुन्छ । त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भूमि सुधार मन्त्रालयलाई पत्राचार समेत गरेको थियो । सो पत्रअनुसार कम्पनीलाई १० बिगाह जग्गा बिक्री गर्न दिएमा कम्पनी सञ्चालन हुनुपर्ने र बिक्री गर्ने जग्गा उद्योग परिसरको हुन नहुने भन्दै पत्राचार गरेको छ ।

बुधबार मात्र कम्पनी सञ्चालकहरुसँग छलफल गरेको बताउँदै राज्यमन्त्री दुगडले भने, “यसभन्दा अघि छलफलका लागि तयार नभएपछि पछिल्ला दिनहरुमा छलफल सुरु भएको हुनाले समाधान आउँछ ।”

दुई दशक पुरानो श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द, शेयर मूल्य भने बढ्यो

वि.सं. २०४९ सालमा स्थापना भएको सो मिल कम्पनी सञ्चालक समितिको बैठकले गत साउन ११ गतेदेखि बन्द गर्ने निर्णय गरेको थियो । कम्पनी सञ्चालकहरुले सूचना जारी गर्दै रौतहट महमदपुर (गरुडा) मा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमा बन्द भएको बताएका छन् ।

गोल्छा समूह र अग्रवाल समूहको लगानी रहेको कम्पनी निरन्तर घाटामा गएको तथा नगदेबालीको रुपमा रहेको उखु उधारोमा किन्ने गरेको मिलले किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ भने अवकाश प्राप्त कर्मचारीहरुको ७० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । कम्पनीको कुल घाटा २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ रहेको जनाएको छ । कम्पनीको आर्थिक जटिलतामा फसेका कारण सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै स्थायी रुपमा बन्द भएको सूचना कम्पनीमा टाँसेको थियो ।

श्रीराम सुगर मिल्समा १२ सय शेयरधनी, वीरगञ्ज चिनीसहित दुई बैंकको लगानी

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।