एनआरएन इन्फ्रास्टक्चरको सबै आईपीओ बिक्यो, कति गर्ने आवेदन ?


आईपीओ निष्काशन सुरु भएको पहिलो दिनमा नै ७५ प्रतिशत आईपीओ बिक्री भएको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सबै आईपीओ बिक्री भएको छ । सार्वजनिक विदाको दिन शनिबार कम्पनीको आइपीओमा शुक्रबारको तुलनामा अधिक आवेदन आएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शनिबार साँझ ५ बजेसम्ममा १ लाख ४ हजार ४५८ आवेदकबाट ४३ लाख ३७ हजार २९० कित्ता शेयर माग भएको छ ।

शुक्रबार साँझ साढे ४ बजेसम्म ५० हजार १७३ आवेदनमार्फत २३ लाख ८१ हजार ३८० कित्ता शेयरका लागि माग आएको थियो । यस आधारमा हेर्दा शेयर निष्काशनको ४ दिनको अवधि बाहेक विदाको दिनमा मात्र कम्पनीको आईपीअ‍ेमा झण्डै ५४ हजार वटा आवेदन परेको छ ।

सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि छुट्याएर सर्वसाधारणका लागि मात्र ३१ लाख ६० हजार १८३ कित्ता शेयर निष्कासन गरिरहेको छ ।

उक्त आईपीओमा लगानीकर्ताले साउन १६ गतेबाट साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । शनिबारसम्मको तथ्यांकका आधारमा हेर्दा कम्पनीको आईपीओमा २० कित्ता शेयर आवेदन गर्नेले पनि गोलाप्रथाबाट मात्र शेयर पाउने छन् । आइतबारदेखि ३ दिनमा पर्ने आवेदनले पाउने शेयर संख्या अझै घट्नेछ । अर्थात अब आवेदन गर्नेहरुले १० कित्ता मात्र आवेदन गर्दा हुने देखिन्छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।