नेपाल पुनर्बीमा कम्पनीको नाफा ९१ करोड ६१ लाख, प्रिमियम संकलन ३९% ले बढ्यो

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले गत चैतमा डेढ अर्ब बढीको आईपीओ निष्काशन तथा बाँडफाँड गरेको थियो । 

कम्पनीले गत आवको चैत मसान्तसम्म अर्थात तेस्रो त्रैमाससम्ममा ९१ करोड ६१ लाख खुद नाफा कमाएको छ । कम्पनीले जीवन व्यवसायबाट ९ करोड १० लाख रुपैयाँ तथा निर्जीवन व्यवसायबाट ८२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा २.७८ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा जीवन व्यवसायबाट ९ करोड ९ लाख रुपैयाँ र निर्जीवन व्यवसायबाट ८० करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो। दुवैतर्फ गरेर कम्पनीको नाफा ८९ करोड १३ लाख थियो ।

कम्पनीले सो अवधिसम्म ४ अर्ब ९४ करोड खुद बीमाशुल्क संकलन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब ६२ करोड रुपैयाँ र जीवन व्यवसायबाट ३१ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। कम्पनीको दुवैतर्फको गरी खुद बीमाशुल्क आर्जन ३९ प्रतिशत बढी हो ।

८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड रुपैयाँ, बीमाकोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।
कम्पनीले गत चैतमा १ अर्ब ६० करोडको आईपीओ निष्कासन गरेको थियो । कम्पनीको यो प्रगति विववरण आईपीओ निष्काशन गर्नु अगावैको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।