नेपाल बैंकको घरकर्जामा अग्रिम भुक्तानी शुल्क नलाग्ने, अन्य सुविधा यस्ता छन्

0
Shares

नेपाल बैंकले घरकर्जा सिफ्ट गर्ने वा स्वाप गर्ने ग्राहकबाट कुनै पनि अग्रिम शुल्क नलिने भएको छ । बैंकबाट कर्जा लिएका ऋणीले कर्जा सारेर अन्य संस्थामा लगानी गर्न खोजेको खण्डमा कर्जाको अग्रिम भुक्तानी नलिने भएको हो ।

पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले बैंकहरुले ग्राहकवाट लिने सेवा शुल्कमा कडाइ गरेको छ । केन्द्रीय बैंकले कडाइ  गरेको भए पनि बैंकहरुले नयाँ व्यवस्थाअनुसार शुल्क नघटाएको गुनासो आइरहेको समयमा नेपाल बैंकले अग्रिम भुक्तानी शुल्कसमेत नलिने जनाएको हो ।

नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ७.९९ प्रतिशत ब्याजदरमा ५ वर्षे अवधिको घरकर्जा प्रदान गर्न लागेको बैंकले घरकर्जाको अग्रिम भुक्तानीमा कुनै शुल्क नलिने घोषणा गरेको हो । बैंकहरुले ब्याजदर घटाउने प्रतिस्पर्धा सुरु गरेपछि सस्तो ब्याजदर भएको संस्थामा कर्जा सिफ्ट गराउन ऋणीहरु सक्रिय भएका छन् । कर्जा शिफ्ट गराउने ऋणीबाट बैंकहरुले अग्रिम भुक्तानी गर्दा ३ प्रतिशतसम्मको शुल्क लिएको गुनासो समेत सर्वसाधारणको छ ।

राष्ट्र बैंकका अनुसार “क”, “ख” र “ग”, वर्गका बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्क वापत क्रमशः अधिकतम ०.७५ प्रतिशत, १.०० प्रतिशत, १.२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउँछन् । तर, नवीकरण हुने प्रकृतिका चालु पूँजी कर्जामा नवीकरण शुल्क र प्रतिवद्धता शुल्क, अग्रिम भुक्तानी शुल्क तथा कर्जा स्वाप हुँदा लिने स्वाप शुल्कको हकमा माथि उल्लेखित सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म शुल्क लिन सक्छन् ।

नेपाल बैंकले घर निर्माण, घर खरिद तथा तला थप गर्नका प्रदान गरेको कर्जा ऋणीले समय अवधि अघि नै चुक्ता गर्न चाहेको खण्डमा अग्रिम शुल्क नलिने जनाएको छ । बैंकले आधारदरमा एक प्रतिशत थप गरेर ७.९९ प्रतिशतमा सुलभ आवास कर्जा योजना ल्याएको छ । बैकले सञ्चालन गरेको योजनाअन्तर्गत घरकर्जा लिएका ग्राहकहरुले अग्रिम भुक्तानी गर्न चाहेको खण्डमा शुल्क नलिने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नोटबजारलाई बताए ।

“बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुने गरी घरकर्जा प्रदान गर्न लागेका हौ,”अधिकारीले भने,“पछिल्लो समयमा बैंक वित्तीय संस्थामा तरलता बढेको हुनाले बैंकहरुले त्यसलाई परिचालन गर्न तथा नयाँ उद्यमलाई प्रवद्र्धन गर्न सस्तो दरमा कर्जा योनजाहरु बजारमा आएको देखिन्छ ।”

घरकर्जा स्वाप गर्ने सुविधा

बैंकले अन्य बैंकमा रहेको घरकर्जालाई स्वाप गरिदिने योजना पनि सञ्चालनमा ल्याएको छ । बैंकले ५ देखि २० वर्षे अवधिसम्मको कर्जा स्वाप सुविधा दिएको अधिकारीको भनाइ छ । बैंकले आधारदरमा १–२ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रदान गर्छ । हाल बैंकको आधारदर ६.९९ प्रतिशत छ ।
उनका अनुसार ५ वर्षे कर्जाको लागि ७.९९ प्रतिशत ब्याजदर, १० वर्षे कर्जाका लागि ८.२४ प्रतिशत, १५ वर्षे कर्जाका लागि ८.४९ प्रतिशत र २० वर्षे अवधिसम्मको कर्जाकालागि ८.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

कर्जा स्वाप गर्दा अन्यत्र बैंकमा जति अवधि बाँकी छ । त्यो अवधिका लागि कर्जा स्वाप गर्न पाइने व्यवस्था नेपाल बैंकले गरेको छ । बैंक/वित्तीय संस्थाले कर्जा स्वाप गर्दा कर्जासंग सम्बन्धित सबै दायित्व पनि हस्तान्तरण हुन्छ । त्यसैगरी सिफ्ट गर्दा कर्जा भुक्तानी नभए वा कुने समसया आएको खण्डमा त्यसको जिम्मेबार कर्जा जारी गरेको संस्थाको हुन्छ ।

घडेरी कर्जा पनि संचालनमा

बैंकले घडेरी कर्जा पनि संचालनमा ल्याएको छ । घडेरी खरिद गरी घर निर्माण गर्ने चाहने ग्राहकलाई लक्षित गरी बैंकले यो योजना सञ्चालनमा ल्याएको हो । जसको वार्षिक ब्याजदर ९.९९ प्रतिशत छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवासीय आवश्यकता पूरा गर्न यो कर्जाको सुरु गरेको बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत खरिद गरिने घडेरीको क्षेत्रफल कम्तीमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्षदेखि २० वर्षसम्म कायम गरिएको छ ।

नयाँ लघुउद्यम कर्जा

बैंकले नयाँ लघुउद्यम कर्जा योजना पनि सुरु गरेको छ । लघुउद्यम कर्जा तथा सम्बद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ । यो ब्याजदर बैंकिङ्ग क्षेत्रकै न्युन भएको बैंकको दावी छ ।

यस प्रकारका कर्जाहरु प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने वा विस्तारको क्रममा रहेका उद्योग, व्यापार र व्यवसायको निमित्त २५ देखि ९९ लाख र १–३ करोडसम्मको चालु तथा स्थिर पूँजी ब्यबस्थापनका लागि सम्बृद्घ ब्यबसाय कर्जा उपलब्ध गराउन सकिने बैंकले जनाएको छ ।

दुबै प्रकारका कर्जाहरु अन्र्तगत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजिकर्जा प्रदान गर्न सकिनेछ । लघुउद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र प्रदान गर्ने व्यवस्था रहेको छ ।

नयाँ व्यवसाय प्रवद्धनमा जोड

बैंकले नयाँ उद्यमी तथा व्यवसायलाई प्रवद्र्धन गर्न नयाँ लघुउद्यम कर्जा योजना संचालनमा ल्याएको अधिकारीको भनाइ छ । कोभिड पछिको अर्थतन्त्र उकास्नका लागि यस्ता किसिमका कर्जाहरुले सहयोग पुर्याउने उनले बताए । नयाँ उद्यम गर्न चाहानेहरु निरुत्साहित भइरहेको अवस्थामा ब्याजदरमा दिइएको सहुलियतले व्यवसायिक गतिविधि बढाउन टेवा पुग्ने उनको भनाइ छ ।

लकडाउन खुकुलो भएपनि आगामी दिनमा पनि लकडाउन होला नहोला भन्ने दुविधा रहिरहेको अवस्थाले सहुलियतदरमा कर्जा उपलब्ध गराए पनि कर्जाको माग बढ्न नसकेको उनको स्वीकारोक्ती छ । कोरोनाको त्रास अझै कायमै रहेकाले पनि व्यवसायिक गतिविधि बढ्न नसकेको उनी बताउँछन् ।

बैंकले १८६ वटा शाखाहरु, १२५ बटा एटीएम तथा २९ बटा एक्स्टेन्सन काउण्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । चालु आ.व. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पु¥याई कुल शाखा संख्या २१४ पु¥याउने लक्ष्य बैंकको छ । बैंकिङ पाउँछन्