पाकिस्तानले जम्मू-कश्मीर र लद्दाखलाई समेटेर जारी गर्‍यो नयाँ नक्सा


पाकिस्तानले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै जम्मू-कश्मिर र लद्दाख आफ्नो मुलुकमा रहेको बताएको छ । बुधबार पाकिस्तान सरकारले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै जम्मू-कश्मिरको सियाचन क्षेत्र समेत पाकिस्तानी भूभाग रहेको जनाएको हो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार मन्त्रिपरिषदको बैठक सकिए लगत्तै नयाँ नक्सा सार्वजनिक गरेका थिए । सो लगत्तै भारतमा एक किसिमको तरंग उत्पन्न भएको छ ।

नयाँ नक्सा जारी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरानले भनेका छन, ‘ पाकिस्तानको नयाँ नक्साले पाकिस्तानी नागरिकका बिचमा नयाँ उमंगको प्रतिनिधित्व गरेको छ । मन्त्रिपरिषदले गरेको निर्णयलाई विपक्षी दलका साथै पाकिस्तान प्रशासित क्षेत्र कश्मीरको नेतृत्वले पनि स्वागत गरेका छन् ।’

पाकिस्तानी विदेशमन्त्री शाह मोकम्मद कुरैशीले सियाचिन क्षेत्र पाकिस्तानको भएको बताउँदै भारतले उक्त क्षेत्रमा अवैध किसिमले निर्माण कार्य गरिरहेको दाबी गरेका छन् । पाकिस्तानले यस अघिदेखि नै जम्मु-कश्मिर र लद्दाखलाई पाकिस्तानको भूभाग रहेको दाबी गर्दै आएको थियो । मंगलबार भने नयाँ नक्सा नै सार्वजनिक गरेर पाकिस्तानले उक्त क्षेत्र पाकिस्तानको रहेको दाबी गरेको हो ।

नयाँ नक्सामा गुजरात क्षेत्रमा पर्ने जूनागढ क्षेत्रलाई पनि पाकिस्तानले आफ्नो नक्सामा राखेको छ । यसका साथै चीन र भारतका बीचमा विवाद कायम रहेको क्षेत्रलाई पनि पाकिस्तानले आफ्नो भूभाग भनेको छ ।
पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई संयुक्त राष्ट्रसंघमा बुझाउने तयारी पाकिस्तानले गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।