लगानी बोर्डले जलविद्युतमा स्वीकृत गर्यो साढे १३ अर्बको लगानी


बुधबार लगानी बोर्डले जलविद्युत आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । बोर्डले केबीएनआर इस्वा पावर कम्पनीलाई संखुवासभामा जलविद्युत आयोजना निर्माण गर्नका लागि लगानी स्वीकृत गरेको हो । ९७ दशमलव २ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि आएको स्वदेशी लगानीको प्रतिबद्धता स्वीकृत गरिएको लगानी बोर्डले जनाएको छ ।

पछिल्लो समय स्वदेशी लगानीमा जलविद्युत आयोजना निर्माण गर्नका लागि उद्योग विभाग र लगानी बोर्डमा लगानी प्रतिबद्धता आउने क्रम तीव्र बनेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछिका २० दिनमा मात्र ४ वटा ठूला जलविद्युत आयोजनामा लगानी प्रतिबद्धता आइसकेको छ ।

लगानी बोर्डका अनुसार म्याग्दीमा ५७.३ मेगावाटको आयोजना निर्माणका लागि हाइड्रो भिलेज  प्रालिले साउन ७ गते १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

सुश्मित इनर्जीले पनि म्याग्दीमा नै २० मेगावाट क्षमताको आयोजना निर्माणका लागि झण्डै ४ अर्ब रुपैयाँ प्रतिबद्धता जनाएको छ ।

हब पावरले पनि लमजुङमा १२.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्नका लागि साढे २ अर्ब लगानी प्रतिबद्धता जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।