लकडाउनमा ब्याज छुट पाउनेमा साना र मझौला उद्योग अघि, सहुलियत नपाउने ७१.६ प्रतिशत

0
Shares

लकडाउनको अवधिमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाबाट ब्याज छुट पाउनेमा साना तथा मझौला उद्योग/व्यवसाय छन । नेपाल राष्ट्र बैंकका अनुसार करिब १७.३ प्रतिशतले ब्याज छुट पाए पनि धेरै साना तथा मझौला उद्योग छन् ।

राष्ट्र बैंकको सर्वेक्षणअनुसार १७.३ प्रतिशतले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको ब्याज छुट प्राप्त गरेका हुन् । सर्वेक्षणमा सहभागी ७१.६ प्रतिशतले सो सुविधा प्राप्त नगरेको तथा ११.१ प्रतिशतले आफूलाई सो सुविधा लागू नहुने जनाएका छन् ।

ब्याज छुट प्राप्त गर्नेमा सबैभन्दा धेरै ३५.१ प्रतिशत कृषि, वन तथा मत्स्यपालन क्षेत्रका र सबैभन्दा कम १०.१ प्रतिशत अन्य क्षेत्रका उद्योग/व्यवसायहरु रहेको देखिएको छ ।

सञ्चार क्षेत्रका कुनै पनि उद्योग/व्यवसायहरुले यो सुविधा प्राप्त नगरेको देखिएको छ । यद्यपि ब्याज छुटको त्रैमासिक समायोजन असार मसान्तमा मात्रै हुने भएकोले सर्वेक्षण समयताका ब्याज छुटको यथार्थ अवस्था नआएको हुनसक्ने समेत केन्द्रीय बैंकले जनाएको छ ।

बन्दाबन्दी रहिरहे उद्योग/व्यवसायहरुले आफ्नो उद्योग\व्यवसायलाई लामो समय निरन्तरता दिन नसक्ने देखिएको छ । अर्कोतर्फ, सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुलाई बन्दाबन्दीपछि सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने समेत देखिएको छ ।

सर्वेक्षणमा सहभागी अधिकांश उद्योग/व्यवसायहरुले बन्दाबन्दीपछि अहिलेकै व्यवसायलाई निरन्तरता दिने बताएका छन् । कारोबार घटाएर अहिलेकै व्यवसायलाई निरन्तरता दिने योजना रहेका उद्योग/व्यवसायहरुको संख्या ४.५ प्रतिशत छ भने नयाँ व्यवसाय शुरु गर्न चाहने ५ प्रतिशत छन् । त्यसैगरी, ५.४ प्रतिशतले व्यवसाय विक्री गर्न र २.८ प्रतिशतले बन्द गर्न चाहेको बताएका छन् ।

बन्दाबन्दीपछि वित्तीय साधन परिचालनका लागि सर्वेक्षणमा सहभागी करिब ८० प्रतिशत उद्योग÷व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने बताएका छन् । वित्तीय स्रोत व्यवस्थापनका लागि दोस्रो, तेस्रो र चौथो विकल्पको रुपमा
क्रमशः खर्च घटाउने (कर्मचारी-तलब कटौती गर्ने), सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने रहेको पाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।