महासंघको निर्वाचन मोडालिटी बनाउन ६ सदस्यीय समिति गठन, १५ दिनमा सुझाव पेश गर्ने


नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको मोडालिटी तय गर्न समिति गठन गरिएको छ । बुधबार भएको महासंघ कार्यकारिणी समितिको भर्चुअल बैठकले साधारणसभा र निर्वाचनको मिति तय गर्न ६ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिले १५ दिनभित्र साधारणसभासँगै नयाँ कार्यसमितिको निर्वाचन कहिले र कसरी गर्ने भन्ने प्रतिवेदन सहितको सुझाव पेश गर्ने बैठकमा सहभागी एक पदाधिकारीले नोटबजारलाई बताए ।

उनका अनुसार समितिमा जिल्ला तथा नगरबाट डीबी बस्नेत र अरुण सुमार्गी, वस्तुगतबाट विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ त्यसै गरी एशोसिएटतर्फबाट रञ्जित आचार्य र भरत आचार्य छन् । ६ जनाको समितिले तयार पारेको मोडालिटीलाई कार्य समितिले पारित गर्दै सोहीअनुसार स्वीकृतिका लागि सरकारसँग आग्रह गरिने उनले निर्णय भएको उनले नोटबजारलाई बताए ।

उनका अनुसार महासंघको यस अघिको बैठकले साउन २६ र २७ गतेका लागि बोलाइएको साधारण सभा स्थगित गर्ने निर्णयलाई पनि बुधबारको बैठकले अनुमोदन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।