सुनसरीका इटहरी, इनरुवा लगायत क्षेत्रमा ५ दिन निषेधाज्ञा, उद्योगलाई स्वास्थ्य प्रोटोकल अनिवार्य


कोरोना संक्रमितहरुको संख्या दिन दिनै बढ्न थाले पछि प्रदेश नम्बर १ का जिल्ला तथा स्थानीय तहले संक्रमण नियन्त्रणका लागि बन्दाबन्दीसँगै निषेधाज्ञा जारी गर्ने क्रमलाई तीव्र बनाएका छन् ।

यसै क्रममा कोरोना संक्रमणको दर बढ्दै गए पछि सुनसरीको इटहरी, इनरुवा, दुहवी, बराहक्षेत्र लगायत स्थानमा जिल्ला प्रशासनले ५ दिनका लागि निशेधाज्ञा जारी गरेको छ ।

कोभिड-१९ जोखिम व्यवस्थापन केन्द्र, सुनसरीको निर्णयअनुसार साउन २१ गते रातिदेखि साउन २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । संक्रामक रोग ऐन २०२० मा गरिएको व्यवस्थाअनुसार संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

यसअघि इटहरी, इनरुवालगायत क्षेत्रमा बन्दाबन्दी मात्र गर्ने निर्णय भएकोमा प्रशासन कार्यालयले उक्त निर्णयलाई पुनरावलोकन गर्दै निषेधाज्ञा जारी गरेको हो ।

५ दिनको अवधिमा ती क्षेत्रहरुमा सर्वसाधारणलाई बाहिर हिँडडुल गर्न पुर्ण रुपमा निषेध गरिएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय प्रशासनले गरेको छ । सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीलाई कार्यालय सअय बाहेकको समयमा हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । सरकारी सवारी साधन र अत्वायश्यकीय सेवाका सवारी, निर्माण सेवा, ढुवाली सेवाका सवारी साधन सञ्चालन हुन पाउने छन् भने अन्य सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यो क्षेत्रमा उद्योगको संख्या धेरै भएकाले उद्योगहरुले स्वास्थ्य प्रोटोकल पालना गरेर मात्र उद्योग सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्ता उद्योगमा प्रयोग हुने कच्चा पदार्थ र तयारी सामग्रीको ढुवानी तथा बजार पहुँचमा कुनै प्रतिबन्ध नलाग्ने बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।