लक्ष्मी भ्यालु फण्डले इकाईधनीको बाँकी प्रतिफल वितरण गर्दै


लक्ष्मी म्युचुअल फण्ड अन्तरगतको लक्ष्मी भ्यालु फण्ड १ का इकाधनीले पाउन बाँकी प्रतिफल रकम बैंक खातामा पठाउने भएको छ।

योजनाले यस अघि इकाइधनीहरुलाई ५० करोड आंशिक रकम वितरण गरिसकेको छ।

लक्ष्मी बैंकले प्रवद्र्धन गरेको कोष गत चैत ११ गते परिपक्व भएको थियो । कोष खारेजी भएसँगै कोषका लगानीकर्ताहरुको बाँकी रहेको ५.२२ प्रतिशत प्रतिफल रकम प्रचलित कानून अनुसार कर कट्टी गरी लगानीकर्ताको बैंक खातामा सिधै रकमान्तर गर्न लागिएको कोषको व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।

क्यापिटलले कोषका कागजी इकाई लिएर बसेका लगानीकर्ताहरुलाई यथाशीघ्र क्यापिटलको कार्यालय नयाँ बानेश्वर, काठमाण्डौंमा सम्पर्क गर्न आग्रह गरेको छ । ५ वर्ष अवधिको बन्दमुखी योजनाले योजना अवधिमा लगानीकर्तालाई कुल ७०.२२ प्रतिशत प्रतिफल बितरण गरेको छ ।

योजना परिपक्व भएको ३ महिनाभित्र सम्पत्तिलाई नगदमा परिणत गरी इकाइधनीहरुलाई स्वामित्वको अनुपातमा रकम फिर्ता गर्नुपर्ने व्यवस्था छ । योजनाले नेपाल धितोपत्र बोर्डबाट २०७१ माघ ९ गते योजना संचालन गर्ने अनुमति पाएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।