धितोपत्र बोर्ड, नेप्से र सीडीएमसीको पुनर्संरचना कसरी होला ?


धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)र केन्द्रीय निक्षेप प्रणाली (सीडीएमसी) को विद्यामान संरचनामा परिमार्जन गर्ने योजनामा सरकार छ । सोही अनुसार पछिल्ला दिनमा यो विषय सरगर्मी पनि बनिरहेको छ ।

बिहीबार मात्र बोर्ड, नेप्से र सीडीएमसीको पुनर्संरचना गर्नका लागि सरकारले प्रकृया अघि बढाउन निर्देशन दिएको छ । बिहीबार बसेको उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा मौद्रिक नीतिमा गरिएको व्यवस्थालाई कार्यान्वायन गर्न छलफल गर्दै यस्तो निर्देशन दिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो निर्देशन दिँदै सबै निकायहरुले आ–आफ्नो जिम्मेवारीको कार्य सम्पन्न गरी अर्को बैठकमा प्रगतिसहित उपस्थित हुन समेत निर्देशन दिए ।

नेशनल पेमेन्ट गेटवे सञ्चालनको काम यथाशीघ्र कार्यान्वयनका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका मन्त्री खतिवडाले सरकारी ऋणपत्रको अभौतिकीकरण एवम् दोस्रो बजारमा कारोबार, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि एवम् हेजिङ्गसम्बन्धी नियमावली संशोधनका कामहरु समेत अगाडि बढाउन निर्देशन दिएका छन्।

यसैगरी घरेलु, साना तथा मझौला उद्यम एवम् कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक– कर्मचारीको पारिश्रमिक भुक्तानी व्यवसाय सञ्चालनका लागि खडा गरिने कोष, नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बीमा तथा कोरोना रोगको बीमासम्बन्धी विषयमा छलफल भएको हो ।

बैठकमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य एवम् मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारी लगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, सचिव (राजस्व), धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष, नेपाल बैङ्कर्स संघका अध्यक्ष, सहकारी विभागका रजिष्ट्रार तथा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।