अदालतले छलफलमा बोलाएकै दिन बिहान भत्काइयो उद्योग वाणिज्य संघ बुटवलका अध्यक्षको घर, चौतर्फी विरोध


सडक बिस्तारका क्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको घर बुटवल उपमहानगरपालिकाले भत्काएको छ । सर्वोच्च अदालतले साउन २१ गते बुधबार घर भत्काउने विषयमा परेको मुद्दामा छलफलका लागि उपमहानगरपालिका र हमाललाई बोलाएको थियो । तर, बुधबार बिहानै उपमहानगरपालिकाले कुनै जानकारी नै नदिई घरमा मानिस सुतिरहेका बेला हमालको घर भत्काए पछि उद्योगी व्यवसायीले चर्को बिरोध थालेका छन् ।

कालिका पथ सडक बिस्तारका क्रममा उपमहानगरपालिकाले साउन २१ गते बिहान हमालको घर भत्काएको थियो । कित्ता नम्बर १८७६ को उक्त जग्गामा २०४६ सालमा हमालका बुवा भोलबहादुर हमालको नाममा तत्कालीन नगर पञ्चायतले घरको नक्सा पास गरेको थियो । भोलबहादुरको निधनपछि २०५७ सालमा उक्त घर खिमको नाममा आएको थियो ।

नोटबजारसँग कुरा गर्दै संघ अध्यक्ष हमालले भने, ‘मैले नियमित रुपमा कर तिर्दै आएको छु । २०५७ सालमा सडक बिस्तार गर्ने क्रममा सडकको चौडाइ ८२ फिट कायम गरिए पछि आफ्नो २० फिटको जग्गामा ४ फिट मात्र बाँकी रहने भएपछि मैले १६ फिटको मुआब्जा माग गर्दै आएको थिएँ । तर कतैबाट सुनुवाइ  भएको थिएन ।’

हमालले उपमहानगरपालिकाले नियोजित रुपमा अदालतमा मुद्दा चलिरहेका बेला जबरजस्ती आफ्नो घर भत्काएको आरोप समेत लगाएका छन् । आफू सडक बिस्तारको पक्षमा नै रहेको बताएका हमालले भने ‘मैले आफ्नो मागका सम्बन्धमा विभिन्न निकायमा कुरा राखे पनि कतैबाट न्यायोचित सम्बोधन भएको थिएन । अन्ततः गत असार ३० गते सर्वोच्च अदालतमा मैले उपमहानगरपालिकाको जबरजस्ती घर भत्काउने शैलीको विषयलाई लिएर मुद्दा हालेको हो । तर बुधबार छलफलमा बोलाएकै दिन बिहान जबरजस्ती खबर नै नगरी घर भत्काइयो ।’

बुटवल उपमहानगरपालिकाले हमालको घर भत्काए पछि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पदाधिकारीदेखि निजी क्षेत्रका उद्योगी व्यवसायीले पनि उपमहानगरपालिकाको चर्को बिरोध गरेका छन् ।
अदालतमा मुद्दा बिचाराधीन अवस्थामा रहेको बेला उपमहानगरले हमालको घर भत्काएको भन्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आपत्ति जनाएका छन् ।  

गोल्छाले भनेका छन्, ‘अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा स्थानीय प्रशासनले बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष खिमबहादुर हमालको घरमा बालबच्चा सुतिरहेकै बेला बिहानै जबरजस्ती भत्काउनु अदालतको मानहानी मात्र नभई संविधान प्रदत्त सम्पत्तिको हकविरूद्ध पनि छ । यसमा निष्पक्ष छानबिन भइ पीडितले उचित क्षतिपूर्ति पाउनुपर्छ ।’

उपमहानगरपालिका ११ को योगिकुटीदेखि वडा नम्बर ६ को कृषि थोक उपजकेन्द्रसम्मको कालिकापथ बिस्तारको क्रममा हमालको घर सडक सीमाभित्र परेको भन्दै उपमहागरले भत्काएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले पनि हमालको घर भत्काइएको भन्दै बिरोध जनाएका छन् । उनले भने, ‘स्थानीय सरकार र प्रदेश सरकारको ज्यादती धेरै भयो । सुतेका बेला कुनै जानकारी नै नदिई घर भत्काउनु मानवता को पराकाष्ठा हो । अझ अदालतको मानहानी भएको विषयलाई गम्भीर रुपमा लिइनुपर्छ ।’

बुटवल उपमहानगरपालिका नम्बर ११ स्थित कालिकापथमा रहेको हमालको घर बुधबार बिहान उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको थियो । बिहानै ठूलो संख्यामा प्रहरी सहित पुगेको बुटवल उपमहानगरपालिकाको डोजरले हमालको घर भत्काएको थियो ।

यस सम्बन्धमा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक एवं नेपाल उद्योग वाणिज्य संघका उद्योग सभापति अन्जन श्रेष्ठले पनि बिरोध जनाएका छन् । उनले भने, ‘कानुनको उपहास गरी हाम्रो साथीको घर भत्काइएको छ, अमानवीय व्यवहारले परिवारको बिचल्ली भएको छ । हाम्रो साथ केवल निर्वाचनको लागि हो वा न्यायको लागि पनि हो ? न्यायको लागि एक जुट हुनुपर्छ ।’

बुटवलमा नै अदालतबाट सडक बिस्तारका लागि घर भत्काउन आदेश दिएका अन्य व्यक्तिको घरमा भने उपमहानगरपालिकाले घर भत्काउन पहल नै नगरेको तर आफ्नो हकमा अदालतमा मुद्दा चल्दै गर्दा घर भत्काइएको भन्दै हमालले नियोजित रुपमा काम भएको दाबी गरेका छन् । गत मंगलबार साँझ सडक तथा नाली निर्माण समितिका संयोजक यमलाल लोहनी र नेकपाका नगर सभापति बाबुराम पन्थीले घरमा नै आएर अदालतबाट मुद्दा फिर्ता लिन दवाब दिएको उनको आरोप छ ।

यता कोरोना संक्रमण जोखिमका कारण सर्वोच्चले महाल र उपमहानगरपालिकालाई भदौ ७ गते फेरि छलफलका लागि बोलाएको छ । तर उपमहानगरपालिकाले सर्वोच्च अदालतलाई नै चुनौती दिँदै घर भत्काएको भन्दै चौतर्फी रुपमा उद्योगी व्यवसायीहरुले आवाज चर्को बनाएका हुन् ।

आफ्नो घर भत्काइए पछि के भन्छन् हमाल ? सुन्नुहोस् 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।