आरम्भ चौतारी लघुवित्त ( ACLBSL) ले अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर वृद्धि गरे पनि लघुवित्त कम्पनीको खुद नाफा भने अपैक्षित रुपमा वृद्धि हुन नसकेको देखिएको छ।
लघुवित्तले सोमबार प्रकाशन गरेको वित्तीय विवरण अनुसार लघुवित्तले खुद ब्याज आम्दानी ९ करोड ५३ लाख ७ हजारबाट ९७.२१ प्रतिशत बढाएर १८ करोड ७९ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ।
खुद नाफा भने २ करोड ८५ लाख ६६ हजारबाट १२.९५ प्रतिशत बढेर ३ करोड २२ लाख ६४ हजार रुपैयाँ मात्र आर्जन गरेको छ। अघिल्लो आवको नाफा चौतारीले कमाएको नाफा मात्र हो।
समीक्षा अवधिमा लघुवित्तको आम्दानी शीर्षकहरुमा वृद्धि भए पनि कर्मचारी, अन्य सञ्चालन खर्च, खराब कर्जा अनुपातमा भएको वृद्धिले सम्भावित जोखिम वापतको नोक्सानी व्यवस्थापनमा खर्च बढ्दा लघुवित्तको नाफामा अपेक्षित वृद्धि हुन नसकेको हो।
चुक्ता पूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १२.२५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११५.९८ रुपैयाँ, र मूल्य आम्दानी अनुपात ३८.११ गुणा छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.९३ प्रतिशतले बढेर १.४४ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा जगेडा कोष आकर्षक बनेको छ। अघिल्लो आवमा १ करोड २ लाख रुपैयाँ सञ्चित रहेकोमा ५८४.९५ प्रतिशतले वृद्धि भई ७ करोड २ लाख ६३ हजार रुपैयाँ सञ्चित हुन पुगेको छ। मर्जरका कारण लघुवित्तको जगेडा कोषको आकारमा व्यापक सुधार देखिएको हो।
असार मसान्तसम्ममा लघुवित्तले ८८ करोड ५७ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ४२ करोड ४४ लाख ७३ हजार रुपैयाँ सापटीबाट २ अर्ब ५१ करोड ५९ लाख ४२ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ४ करोड ५५ लाख ५४ हजार रुपैयाँबाट ११.२९ प्रतिशत बढेर ५ करोड ७ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ।
गत असार २२ गतेदेखि आरस्भ र चौतारी लघुवित्तले एकीकृत कारोबार शुरु गरेको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया