कोरोना परीक्षणको विश्वसनीयतामा प्रश्न, एभरेष्ट बैंकका कर्मचारीको दोस्रो रिपोर्ट नेगेटिभ


झण्डै डेढ महिना पहिले कुनै सञ्चार माध्यममा कार्यरत एक युवतीमा कोरोना संक्रमण देखिएको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा कोलाहल मच्चियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूले ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको बताए पछि सबैभन्दा पहिले उक्त सञ्चार गृहमा कार्यरत सबै कर्मचारी, लकडाउनका बेला सँगै बसेका साथी तथा कर्मचारीको होस हवास उड्यो ।

एक थरी पत्रकारका बीचमा उक्त संस्थासँगको कन्ट्राक्ट ट्रेसिङ विवरण संकलन हुँदै गर्दा तरङ्ग नै पैदा भयो । यहाँसम्म कि सिंहदरबारसम्म कोरोना संक्रमणको लर्को जोडिने अवस्था त्यसबेला देखिएको थियो । कन्ट्राक्ट ट्रेसिङको क्रममा सबैलाई सतर्क हुन आग्रह गरियो, सबैले सोही अनुसार गरे पनि ।

अन्त्यमा भयो यस्तो कि, युवतीमा संक्रमण पुष्टि भएको भनिएको ३ दिनपछि जनस्वास्थ्य प्रयोगशालाले फेरि संक्रमण परीक्षण गर्दै युवती संक्रमणमुक्त रहेको भन्दै ट्रेसिङमा परेका व्यक्ति, पत्रकार र सिंहदरबारसम्म पुर्यायो । युवतीलाई तीन दिनसम्म अस्पतालमा राखेर मानसिक बिचलनको अवस्था मात्र उत्पन्न गराइएन कि, सम्पर्कका अरु पनि केही दिनसम्म मानसिक रुपमा शिथिल भएका थिए ।

जब युवतीको दोस्रो रिपोर्ट नेगेटिभ आएको भन्दै तत्काल घर फिर्ता गरियो, सम्पर्कका सबैले लामो सास फेर्न सके । तर, मनमा संक्रमण परीक्षणको विश्वसनीयता कति भन्ने प्रश्न उनीहरुको मानसपटमा घुमिरह्यो ।

गत आइतबार पनि बैंक वित्तीय संस्थाहरुमा कोरोना संक्रमण तीव्र भएको भन्दै सामाजिक सञ्जाल र सञ्चार माध्यममा धेरै टिकाटिप्णी भयो । लाजिम्पाटस्थित एभरेष्ट बैंकका २ जना कर्मचारीमा संक्रमण पुष्टि भएको तथ्यले २ दिनसम्म चर्चा पायो । योसँगै बैंकले २ दिनका लागि सबै सेवा स्थगित गर्दै २ दिनपछि मात्र सेवा सुचारु गर्ने घोषणा गर्यो ।

गत शुक्रबार बैंक परिसरबाट कर्मचारीहरुको स्वाब संकलन गरी संक्रमण भए नभएको परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू पुर्याइयो । उक्त स्वाबमध्येबाट २ जनालाई कोरोना संक्रमण पुष्टि भएको तथ्य प्रयोगशालाले बैंकलाई जानकारी गरायो ।

संक्रमण पुष्टि भएपछि जोखिम मोल्ने अवस्था नभएको बैंकले सेवा अवरुद्ध गर्दै संक्रमण देखिएका कर्मचारी र कार्यालयमा विशेष किसिमले ध्यान केन्द्रित गर्यो । सोही क्रममा तत्काल नै राजधानीको अर्को एउटा अस्पतालमा संक्रमित भनिएका २ कर्मचारीको स्वाब संकलन गरी दोस्रो पटक परीक्षण गरियो ।

सञ्चार गृहको पहिलो घटना जस्तै एभरेष्ट बैंकको सन्दर्भमा पनि ४ दिनको अन्तरालमा गरिएको परीक्षणमा एक जना कर्मचारी संक्रमणमुक्त रहेको नतिजा आएको छ । योसँगै बैंकका थप कर्मचारीहरु संक्रमणको परीक्षण नतिजामा विश्वस्त हुन नसक्ने अवस्थामा पुगेका छन् । पहिलो पटक संकलन गरिएको स्वाबमा २ जनाको मात्र संक्रमण देखिएको विषयमा समेत विश्वास गर्न नसक्ने अवस्था देखिएको छ । पछिल्लो पटकको नतिजालाई पनि विश्वस्त मान्न सकिने अवस्था छैन ।

माथिका २ घटना प्रतिनिधि घटना मात्र हुन् । दैनिक रुपमा भइरहेका परीक्षणले संक्रमितलाई संक्रमणमुक्त भएको हुन सक्ने अथवा संक्रमणमुक्त भनेकाहरु संक्रमित हुन सक्ने सम्भावना उच्च रहेको तथ्य माथिका घटनाले पुष्टि गर्छ । यस्तो अवस्थामा संक्रमणको नतिजालाई समेत कति विश्वसनीय मान्ने भन्ने प्रश्न उब्जिनु स्वाभाविक हो ।

पछिल्ला दिनहरुमा कोरोनो संक्रमणको लक्षण समेत अलग–अलग किसिममा देखिन थालेको खबरहरु आइरहेका छन् । यो अवस्थामा गरिने परीक्षणले सर्वसाधारणलाई ढुक्क हुने नभई झन धेरै मानसिक तनाव दिने अवस्था देखिएको छ । यो अवस्थामा परीक्षण गर्नुपर्ने अवस्थामा पुग्नुभन्दा अनावश्यक काममा बाहिर ननिस्किनु नै बुद्धिमानी हुने देखिन्छ ।

अर्कातिर परीक्षण प्रणालीमा वास्तवमै त्रुटि छ वा अन्य कुनै कारणले केही दिनको अन्तरमा नै फरक–फरक किसिमको नतिजा आइरहेको हो भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।