दश कित्ते नीति खारेज भएको होइन : धितोपत्र बोर्ड

0
Shares

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ निर्देशिका २०७७ लागू गर्दै न्यूनतम आवेदन दिन पाउने शेयरको संख्या ५० कित्ता कायम गरेको छ।

यो व्यवस्थाले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसारको आवेदकलाई न्यूनतम १० कित्ता शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्थालाई खारेज नगरेको धितोपत्र बोर्डले जनाएको हो ।

बुक विल्डिङ विधि मार्फत साधारण शेयर निष्कासन गरेको कम्पनीमा आवेदन दिँदा मात्र न्यूनतम ५० कित्ताको माग गर्नुपर्ने व्यवस्था रहेको धितोपत्र बोर्डका सहायक प्रवक्ता रुपेश केसीले बताए । “बुक विल्डिङ विधि मार्फत नभई सामान्य तवरबाट साधारण शेयर निष्कासन गर्ने कम्पनीको हकमा १० कित्ते नीति कायम नै रहेको छ”, उनले भने, “सबै साधारण शेयर निष्कासनमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने व्यवस्था लागू भएको भन्ने बुझाई गलत हो ।”

बुक विल्डिङ्ग निर्देशिका, २०७७ अनुसार सर्वसाधारणले धितोपत्र खरीदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्नेछ । शेयर निष्कासन गर्ने कम्पनीले धितोपत्र बाँडफाँड गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ता पाउने गरी बाँडफाँड गर्नुपर्ने व्यवस्था गरेको छ ।

तर, निर्देशिका अनुसार सर्वसाधारणमा धितोपत्र निष्काशन, खरिद तथा बाँडफाँडसम्बन्धी अन्य व्यवस्था धितोपत्र खरीद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३, धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ र धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा संचालन निर्देशिका, २०७४ बमोजिम हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ अनुसार धितोपत्र बाँडफाँड गर्दा सर्वप्रथम सबै आवेदकलाई १० कित्ताको दरले धितोपत्र बाँडफाँड गर्नु पर्नेछ । बाँडफाँड गरे पश्चात बाँकी रहेको निष्काशित धितोपत्र २० वा सोभन्दा बढी कित्ता आवेदन गर्ने आवेदकहरूलाई पुनः १० कित्ताका दरले धितोपत्रको बाँडफाँड गर्नुपर्नेछ । निर्देशिकामा धितोपत्र बाँडफाँडको प्रक्रिया सम्पन्न भएपछि धितोपत्र बाँकी भएमा सोही प्रक्रिया अपनाई बाँडफाँड गर्नुपर्ने उल्लेख छ ।

धितोपत्र बाँडफाँड गर्दा १० कित्ताका दरले सबै आवेदकहरूलाई बाँडफाँड गर्न अपुग हुने अवस्थामा न्यूनतम १० कित्ता पाउने गरी गोलाप्रथाबाट आवेदक छनौट गरी धितोपत्र बाँडफाँड गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।