जनतासँग जोडिएको ग्लोबल आइएमई बैंकको साढे ३ अर्ब नाघ्दा यस्तो देखियो वित्तीय अवस्था

0
Shares

जनता बैंकलाई आफुमा गाभेको ग्लोबल आइएमई बैंक (GBIME) ले गत आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

मर्जरमा जानु अगाडिको जनता बैंकको समेत नाफा जोड्दा बैंकको कुल खुद नाफा ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । मर्जर अगाडिको जनता बैंकको नाफा ४५ करोड १३ लाख थियो । गत आवको यसै अवधिमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा एक अर्ब ७३ करोड २८ लाख रुपैयाँ छ।

यस आधारमा बैंकको गत आवको नाफाबाट ९.१३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम भएको छ। यद्यपी बैंकले अघिल्लो वर्षहरुको सञ्चित नाफाबाट थप लाभांश वितरण गर्नसक्ने अवस्था भने रहन्छ। कति लाभांश वितरण गर्ने भन्ने विषय बैंक सञ्चालक समितिले गर्ने निर्णय अनुसार निर्धारण हुने गर्दछ।

बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिशन, संचालन आम्दानी तथा संचालन नाफा बढेको छ । साथै बैंकको ब्याज खर्च, संचालन खर्च लगायतका खर्च बढेको छ भने खराब कर्जा समेत बढेको छ ।

चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १६.२७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५२.९२ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात १४.६९ गुणा छ । बैंकको जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २ अर्ब ९५ करोड रुपैयाँले धेरै हो। बैंकको सञ्चालन नाफा ४ अर्ब ४० करोड छ।

अघिल्लो आवाको यसै अवधिको तुलनामा बैंकको खराब कर्जा भने ०.५५ प्रतिशत बाट बढेर १.८० प्रतिशत पुगेको छ। असार मसान्तसम्ममा बैंकको आधारदर ८.४२ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ७३.१८ प्रतिशत तथा स्प्रेडदर ४.४३ प्रतिशत छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।