नेपाल टेलिकमको व्यापार खस्कँदा एक अर्ब २० करोडले घट्यो नाफा

0
Shares

आर्थिक वर्ष ०७६/०७७ मा नेपाल टेलिकमले ८ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा एक अर्ब २० करोड रुपैयाँ अर्थात १२.३० प्रतिशतले घटेको हो । टेलिकमले अघिल्लो आवमा ९ अर्ब ७५ करोड ३७ लाख नाफा गरेको थियो । 

कम्पनीले कोभिड-१९ को राहात स्वरुप विभिन्न योजनामा छुट अफरहरु संचालन गरेकाले पनि नाफा प्रभावित भएको जनाएको छ।

कम्पनीले महामारीको अवधिमा ५३ करोड ४० लाख बराबरको निःशुल्क बोनस प्रदान गरेको, २२ करोड ८३ लाख बराबरको मोबाइल डाटा छुट प्रदान गरेको, ५ करोडको निशुल्क कल प्रदान गरेकोले नाफा घटेको उल्लेख गरेको छ । महामारीको ४ महिनाको अवधिमा आफ्नो आम्दानी अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १५ प्रतिशतले घटेको टेलिकमले जनाएको हो ।

कम्पनीको सेवा बिक्री बापतको मुख्य आम्दानी घटेको छ । यस अवधिमा कम्पनीले ३४ अर्ब ५७ करोड ४७ लाख सेवा बिक्री वापत आम्दानी गरेको छ । अघिल्लो आवको अन्त्यसम्मा यस्तो आम्दानी ३६ अर्ब ८६ करोड ७५ लाख थियो । सेवा बिक्रीको वापतको आम्दानीमा २ अर्ब २९ करोड बढीले गिरावट आएको हो । कम्पनीले अन्य स्रोतबाट ६ अर्ब ९२ करोड आम्दानी गरेको छ ।

कम्पनीको लगानी बढेको छ । कम्पनीको अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ११ अर्ब ५१ करोड लगानी गरेकोमा त्यो बढेर १३ अर्ब ८० करोड पुगेको छ ।

चुक्तापूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७८ अर्ब १३ करोड जम्मा भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ११.४८ गुणा छ भने नेट वर्थ ६२०.९२ रुपैयाँ छ । कम्पनीको ईपीएस ५७.०६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी झण्डै ८ रुपैयाँले घटेको हो ।

टेलिकममा नेपाल सरकारको ९१.५२ प्रतिशत तथा सर्वसाधारणको ८.४८ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

मग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।