क्याले रेटिङमा विदेशी साझेदारका बैंकलाई टक्कर दिँदै एनआईसी एशिया

0
Shares

सञ्चालनमा रहेका वाणिज्य बैंकहरूका आधारभूत सूचकहरूलाई आधारमाथि गरिएको क्याले रेटिङमा शीर्ष स्ट्याण्डर्ड चार्टड बैंक आउँदा पूर्ण रुपमा स्वदेशी लगानी रहेको एनआईसी एशिया बैंक तेस्रो स्थानमा आईपुगेको छ ।

गत आर्थिक वर्ष ०७६/०७७ को वित्तीय विवरणका आधारमा २५ वाणिज्य बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड पहिलो हुँदा एभरेष्ट बैंक दोस्रो स्थानमा रहेको छ भने अन्य विदेशी साझेदारीका बैंकहरुलाई पछि पार्दै एनआईसी एशिया तेस्रो स्थानमा उक्लिएको छ ।

एनआईसी एशिया पछि चौथो स्थानमा हिमालयन बैंक रहेको छ भने पाँचौ स्थानमा नेपाल एसबिआई बैंक रहेको छ ।

क्याले रेटिङ नबिल, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक क्रमश: छैटौं, सातौ, आठौं, नवौं र दशौं स्थानमा परेका छन् । यो अध्ययनमा कृषि विकास बैंक र प्रभु बैंक समावेश गरिएको छैन् ।

क्याले रेटिङमा स्वदेशी लगानीका भन्दा विदेशी साझेदारीका बैंकहरु अगाडि देखिएका छन् । विदेशी साझेदारी भएका बैंकहरु तुलनात्मक रुपमा नियामक निकायको नीति निर्देशन तथा मापदण्ड पूरा गर्नेमा अघि देखिएका हुन् ।

बैंकहरूको रेटिङ गर्ने प्रणाली क्यामेल्समा व्यवस्थापना र बजार संवेदनशीलता बाहेक बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा रेटिङ गरिएको हो ।

शीर्ष पाँचमा रहेको बैंकहरूमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकमा लण्डनको स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानी छ। त्यसैगरी दोस्रो स्थानमा रहेको एभरेष्ट बैंकमा भारतीय नेशनल बैंक अफ पञ्जावको लगानी छ । तेस्रो स्थानमा रहेको एनआईसी एशियामा पूर्ण रुपमा स्वदेशी लगानी रहेको छ । यसैगरी चौथो स्थानको हिमालयनमा हबिब बैंक अफ पाकिस्तानको साझेदारी छ । एसबीआई बैंकमा स्टेट बैंक अफ इन्डियाको लगानी छ भने नबिल बैंकमा आयरल्यान्डको एनबी इन्टरनेसनल कम्पनीको लगानी छ ।

आव ०७६/७७ को अन्त्यसम्ममा बैंकहरूको पूँजी कोष अनुपात, खराब कर्जाको आकार, शेयर पूँजीमा प्रतिफल र कर्जा निक्षेप अनुपातको अवस्थाका आधारमा गरिएको आधारभूत विश्लेषण हो ।

यो रेटिङ बैंकहरूको पूँजीकोष अनुपात, सम्पत्तिको गुणस्तर अर्थात खराब कर्जाको आकार, शेयरधनीले लगानी गरेको पूँजी परिचालनको अवस्था र बैंकले सर्वसाधारणबाट लिएको निक्षेप र प्रवाह गरेको कर्जाबीचको अनुपातको औषत निकालिएको हो । बैंकहरूको ४ सूचकलाई १०० प्रतिशत मानि औषत अंक निकाली सबैभन्दा धेरै अंक प्राप्त गर्ने बैंकलाई शीर्ष स्थानमा राखिएको हो ।

बैंकको सम्पत्तिको गुणस्तर खराब कर्जाले प्रष्ट बनाउँछ । नेपाल सन्दर्भमा केन्द्रीय बैंकका अनुसार खराब कर्जा ५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । त्यसैगरी पूँजीकोष ११ प्रतिशत हुनै पर्छ । तर, पूँजी कोष अनुपातलाई २० वा २० भन्दा माथि हुनु स्तरीय मानिन्छ ।

खराब कर्जा ५ प्रतिशत वा सोभन्दा माथि भएको बैंकलाई शुन्य अंक प्रदान गरिएको छ । त्यसैगरी खराब कर्जा नभएका बैंकलाई १०० अंक प्रदान गरिएको छ । सोहीअनुसार अंक भार निकालिएको छ । त्यसैगरी पूँजीकोष २० वा सोभन्दा धेरै भएको बैंकलाई शतप्रतिशत अंक दिइएको छ । सोभन्दा थोरै हुनेलाई ५ ले गुणन गरी निकालिएको छ । सहजीकरणका गर्दा पूँजीकोष एक प्रतिशत भएको बैंकले ५ अंक पाएको छ । सो अनुसार सबै बैंकको पूँजीकोषलाई अंक प्रदान गरिएको छ ।

बैंकहरूको तरलता अर्थात कर्जा निक्षेप अनुपात पनि ५० प्रतिशत भएको बैंकलाई शतप्रतिशत अंक दिइएको छ । सोभन्दा बढी हुने बैंकलाई एक सयमा हालको तरलता घटाइ २ ले गुणन गरी निकालिएको हो । शेयरधनीको पूँजीमा बैंकहरूले गरेको आम्दानी ३० प्रतिशतसम्म गरेका बैंकलाई पूर्ण अंक दिएको छ । सोभन्दा थोरै इक्युटीमा प्रतिफल (आरओइ)  गर्ने बैंकको सन्दर्भमा सम्बन्धित बैंकको आरओइलाई ३.३३३ ले गुणन गरी निकालिएको छ । यी चार सूचकको औसत अंकका आधारमा २८ बैंकलाई रेटिङ गरिएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा सबैभन्दा कमजोर अर्थात श्रेणी क्रमको अन्तिममा सिभिल बैंक छ । त्यसपछि अन्तिमबाट क्रमश एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैैंक, लक्ष्मी बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।